पाँच कम्पनीलाई साढे तीन अर्बको हकप्रद सेयर निष्काशन गर्ने अनुमति

काठमाडौं, १२ असोज । बिभिन्न पाँच वटा बैंक तथा वित्तिय संस्थाले साढे तीन अर्ब मुल्य बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंक, सिद्धार्थ बैंक, सेती फाइनान्स, सेवा विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकलाई तीन अर्ब ४८ करोड ७१ लाख २४ हजार एक सय मुल्य बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । कृषि विकास बैंकले २ बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । असोज २ गते हकप्रद सेयर निष्काशनको अनुमति पाएको यस बैंकले एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । त्यस्तै, असोज २ गते नै सिद्धार्थ बैंकले ४ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयरको निष्काशन अनुमति पाएको हो । बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सिद्धार्थले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सोही मितीमा सेती फाइनान्सले पनि एक बराबर एक दशमलब ५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । फाइनान्सले ९ लाख ५१ हजार ७सय ८६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सेती फाइनान्सले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बोर्डले असोज ६ गते सेवा विकास बैंक र ७ गते वेष्टर्न डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । सेवाले एक दशमबल एक दशमलब २ कित्ताको अनुपातमा एनएमबी क्यापिटल मार्फत ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । वेष्टर्न डेभलपमेन्ट बैंकले पनि एक बराबर एक कित्ताको अनुपातमा प्रभु क्यापिटल मार्फत १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछन् । बुक क्लोज पुर्व सेयर खरिद गर्ने लगानी कर्ताहरुले हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

४ अर्ब ८८ करोड खर्चेर ३२ जिल्लामा अप्टिकल फाइबर, दुई बर्षभित्रै ब्रोडब्याण्ड सर्भिस

काठमाडौं, १२ असोज । नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी नव नियुक्त प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर योजनामा हस्ताक्षर गरेका हुन् । आगामी दुई बर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा उल्लेख गरिएको छ । पाँचथरको चियो भज्याङदेखि धादिङको सल्यानटारसम्मको २३७६ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइनेछ । अप्टिकल फाइबरले सो क्षेत्रमा ब्रोडब्याण्ड सर्भिस उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले डिजिटल नेपाल बनाउने अभियानको प्रारम्भका रुपमा मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम सुरु गरिएको बताए । दुई बर्षभित्र सो खण्डमा काम सम्पन्न गरेर डिजिटल पुर्व खण्डको सुभारम्भ गरिने पनि उनले बताए । त्यस्तै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी बिछ्याइएको अप्टिकल फाइबरको पुर्वाधार अन्य दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई समेत सहप्रयोगका लागि उपलब्ध गराइने व्यवस्था छ । सम्झौता अनुसार आगामी दुई बर्षभित्र प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरिनेछ । टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । टेलिकमलाई भने सिधै काम गर्नेगरि सम्झौता गरिएको हो ।

सिट क्षमताभन्दा कम्तिमा पनि २० जना बढी यात्रु बोक्न पाउनु पर्ने ब्यवसायीको माग, अग्रिम टिकट बुकिङ रोकियो

काठमाडौं, १२ असोज । यातायात ब्यवसायीले दशैको लागि अग्रिम टिकट काट्न रोकेका छन् । राजधानीवाट दशैको लागि वाहिरिने यात्रु धेरै हुने भए पनि पुन राजधानी फर्कदा यात्रु नपाइने भएकोले सिट क्षमताभन्दा कम्तिमा पनि २० जना यात्रु बढी बोक्न पाउनु पर्ने माग राख्दै ब्यवसायीले यस्तो गरेका हुन् । ब्यवसायीले देखाउनको लागि भने नारायणघाट मुग्लिन सडक विस्तारलाई कारण देखाएका छन् । दशैको लागि २० दिन सो सडक खण्ड विस्तारको कार्य रोक्न सरकार सहमत नभएको र सडकका खाल्डाखुल्डी नपुरेको कारण गाडी चलाउन सक्ने अवस्था नभएकोले अग्रिम टिकट बुकिङ बन्द गरिएको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘दशैको घटस्थापनादेखि फूलपातीको दिनसम्मको ७ दिनमा कम्तिमा पनि १२ लाख मानिस काठमाडौंबाट बाहिरिन्छन्, यसको लागि ठूलो संख्यामा गाडी चल्नुपर्ने हुन्छ, अहिले नै राम्ररी गाडी चल्न नसकेको नारायणघाट मुग्लिन सडक खण्ड २० दिनको लागि विस्तार कार्य रोक्न सरकार सहमत नभएकोले अग्रिम टिकट बुकिङ रोकिएको हो,’ महासचिव सिटौलाले भने । यस्तै सडकमा भएका खाल्डाखुल्डी पूर्न सरकार तयार नभएको कारण पनि गाडी गुडाउन सक्ने अवस्था नभएको सिटौलाको भनाइ छ । सिटौलाले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न पाउनु पर्ने माग ब्यवसायीवाट आएको जानकारी दिए । ‘काठमाडौंवाट भैरहवा पुगेर आउदा एउटा गाडीको ४५ हजार रुपैयाँ खर्च हुन्छ, तर एकतर्फी रुपमा सिटभरी यात्रु लिएर भैरहवा पुग्दा ३८ हजार रुपैयाँ मात्रै आम्दानी हुन्छ, एकपटक गाडी चलाउदा ७ हजार रुपैयाँ नोक्सान हुन्छ भने किन गाडी गुडाउने भन्ने ब्यवसायीको तर्क आएको छ, हामी यो विषय पनि सरकारसँग राख्छौं,’ सिटौलाले भने । यसको लागि सरकारले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न दिनुपर्ने उनको भनाइ छ । सरकारले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने अडान लिएको छ । तर ब्यवसायीले नयाँ गाडी पनि नथप्ने र अहिले संचालनमा रहेका गाडी पनि विग्रिएको भन्दै कम गाडी देखाएर सिट क्षमताभन्दा बढी यात्रु कोच्ने रणनीति लिएका छन् ।