कुमारी बैंकमा चार वटा वित्तीय संस्था गाभिने, कुमारीको ५० प्रतिशत हकप्रद सेयर जारी

काठमाडौं, १७ असोज । कुमारी बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभिने भएका छन् । यी चार बैंक तथा वित्तीय संस्थाबीच एक्विजिशन सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा कुमारी बैंकको तर्फबाट मर्जर कमिटिका संयोजक डा शोभाकान्त ढकाल, काष्ठमाडप डेभलपमेन्ट बैंकको तर्फबाट कृष्ण ज्ञवाली, महाकालि विकास बैंकको तर्फबाट सुरेन्द्र जोशी, काँक्रेबिहार विकास बैंकको तर्फबाट राजकुमार गुरुङ र पश्चिमाञ्चल फाइनान्सको तर्फबाट ज्ञानेन्द्र कसजुले हस्ताक्षर गरेको छन् । यसअघि कुमारी बैंक एनसीसीसहित ४ विकास बैंकहरुसँग मर्जप्रक्रियाबाट वाहिरीएको थियो । त्यस्तै महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै थिए । आईतबार नै नेपाल राष्ट्र बैंकले महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै गरेको प्रक्रिया रोकेर कुमारी बैंकमा गाभिन स्वीकृति दिएको काष्ठमाडण्प डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए । ‘राष्ट्र बैंकसँग सहमति लिएर कुमारी बैंकसँग एक्जिशनमा जाने सहमति पत्रमा हस्ताक्षर भएको हो’ उनले विकासन्युजसँग भने । मर्जप्रक्रिया सँगै कुमारी बैंकले निश्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । हाल कुमारी बैंकको सेयर पुँजी २ अर्ब ६९ करोड रुपैयाँ छ । हकप्रद सेयर जारीपछि कुमारी बैंकको मात्र सेयर पुँजी ४ अर्ब ४ करोड रुपैयाँ हुनेछ । काष्टमाण्ड डेभलपमेन्ट बैंकको करिब १ अर्ब, पश्चिमाञ्चल फाइनान्सको ४० करोड, महाकालि विकास बैंकको २२ करोड, काक्रेविहार विकास बैंकको ८ करोड सेयर पुँजी छ । भण्डारीका अनुसार चार वित्तीय संस्था कुमारी बैंकमा गाभिएपछि बैंकको चुक्ता पुँजी करिब ६ अर्ब रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजनासहित यो मर्ज अगाडि बढेको उनले बताए । चार संस्था एक्वायरपछि कुमारी बैंकको निक्षेप ५० अर्ब र कर्जा ४२ अर्ब रुपैयाँ पुग्नेछ । आठ अर्बको पँुजी हुँदा निक्षेप ७५ अर्ब र कर्जा ६५ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यसैगरी, देशभरमा ८० वटा शाखा पुग्नेछन् । करिब ७०० जना कर्मचारी हुनेछन् ।

शिखर इन्स्योरेन्सले ६० प्रतिशत बोनस सेयर दिने, एक वर्षमा लगानीकर्ताले पाए चार गुणा फाइदा

काठमाडौं, १७ असोज । शिखर ईन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्षको नाफामा सेयर प्रिमियम कोषका रकम समेत थप गरि ६० प्रतिशत बोनस सेयर दिने निर्णय भएको कम्पनीका अध्यक्ष विकास राणाले जानकारी दिए । साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले नगद लाभांश समेत प्रस्ताव गरेको छ । निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सले दिने लाभांश सबैभन्दा बढी हुने प्रष्ट देखिएको छ । सञ्चालक समितिको प्रस्ताव र वार्षिक प्रतिवेदन स्वीकृतका लागि बीमा समितिमा पठाउने र समितिबाट स्वीकृत भएपछि साधारणसभामा जाने अध्यक्ष राणाले बताए । ५० करोड ९८ लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको ६० प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ८१ करोड ५८ लाख रुपैंया पुग्नेछ । सेयर पुँजी, नाफा, प्रिमियम रकम, कम्पनीको सेयर मूल्य लगायत धेरै परिसूचकमा शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमा सबैभन्दा अगाडि छ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३१ करोड २ लाख ६८ हजार रुपैंया खुद नाफा कमाएको थियो । कम्पनीको सेयर सोमबार प्रतिकित्ता ३८८६ रुपैयाँमा कारोबार भएको छ । एक वर्षअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५१ रुपैयाँ थियो । एक वर्ष अघि यस कम्पनीको सेयरमा लगानी गर्नेले करिब चार गुणा फाइदा गरेका छन् ।

ज्योति विकास बैंकमा ५ सय भाडाका प्रमोटर, अपारदर्शी रुपमा सेयर कारोवार गर्ने तयारी

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला नै तय भएका प्रमोटर वाहेकका ब्यक्तिलाई सो सेयर विक्री गर्ने प्रयोजनको लागि सुचना प्रकाशित गरेको स्रोतले जानकारी दिएको छ । बैंकले सार्वजनिक सुचना प्रकाशित गरेर केही प्रमोटरले प्रमोटर सेयर विक्री गर्न लागेको जानकारी दिएको छ । यस्तो सेयर प्रमोटरलाई नै विक्री गर्ने र प्रमोटरले खरिद नगरेको अवस्थामा सर्वसाधारणलाई विक्री गर्ने गरी सुचना प्रकाशित गरिएको छ । यस्तो सुचना प्रकाशित गरिए पनि बैंक भित्र अर्कै तयारी भएको स्रोतले जानकारी दिएको छ । बैंक स्थापना गर्दा नेपाल विद्युत प्राधिकरणका ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ को प्रमाणपत्र बुझाउन नसकेपछि भाडाका प्रमोटर राखिएको र अहिले तिनै वास्तविक प्रमोटरलाई सेयर नामसारी गर्ने प्रयोजनले यस्तो सुचना प्रकाशित गरिएको स्रोतले जानकारी दियो । बैंकले प्रकाशित गरेको सार्वजनिक सुचना । ‘बैंक स्थापना हुदा प्राधिकरणका करिब ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ प्रमाणपत्र दिन नसकेका कारण प्रमोटर बन्न सक्नु भएको थिएन, अहिले उहाँहरुले यस्तो प्रमाण ल्याउनु भएको छ, अब वास्तविक लगानीकर्ताको नाममा सेयर नामसारी गर्ने प्रयोजनको लागि यो सुचना प्रकाशित गरिएको हो,’ बैंकस्रोतले विकासन्युजसँग भन्यो । यो सुचना प्रक्रिया पुर्याउनको लागि मात्र भएको पनि स्रोतको दाबी छ । ज्योति विकास बैंकमा प्राधिकरणका १ हजार ७ सय कर्मचारी प्रमोटर सेयरधनी रहेका छन् । तर ५ सय कर्मचारीले ट्याक्स क्लियरेन्सको प्रमाणपत्र पेश गर्न नसकेपछि यस्तो प्रमाण भएका ब्यक्तिको नाममा सेयर हालेको र सो सेयर पछि प्रक्रिया पूरा गरेर जसले पैसा हालेको हो उसैको नाममा नामसारी गरिदिने आन्तरिक कागज पनि गरिएको स्रोतको भनाइ छ । पहिलाको यही सहमति कार्यान्वयन गर्ने गराउने गरी बैंक संचालक समितिले सुचना प्रकाशित गर्ने निर्णय गरेको हो । अहिलेसम्म करिब १२ जना प्रमोटरले सेयर विक्री गर्ने सुचना बैंकलाई दिइसकेका छन् । बैंक स्रोतका अनुसार करिब १ लाख कित्ता प्रमोटर सेयरको भाडाका प्रमोटर रहेका छन् । यी सवै सेयर पालैपाले नामसारी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ ।