भूकम्प पीडितलाई तीन लाख अनुदान दिने औपचारिक निर्णय, दसैंअघि पहिलो किस्ता रकम बाँडिसक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १० असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प पीडित जनताले घर पुनर्निर्माणका लागि पाउने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न सातौं बैठकले पहिलो किस्तामा ५० हजार र बाँकी दुई किस्तामा दुई लाख पचास हजार रुपैयाँ गरी तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो । तेस्रो किस्ताको रकम मध्येबाट २५ हजार रुपैयाँ शौचालय, बायोग्याँस र सोलरका लागि प्रयोग गर्ने गरी उपलब्ध गराउने निर्णय भएको छ । बैठकले प्राधिकरणको आर्थिक वर्ष २०७३/७४ को बजेट तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । त्यस्तै प्राधिकरणको संगठनात्मक संरचना र कार्य प्रणालीको पुनरावलोकन र जनशक्ति व्यवस्थापनका सम्बन्धमा थप छलफल गर्ने निर्णय गरेको छ । बैठकमा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय स्तरमा रहेका उपक्षेत्रीय कार्यालयहरुलाई जिल्ला समन्वय समितिको सचिवालयमा परिणत गरी पुनर्निर्माणको अनुगमन लगायतका समग्र काममा जिल्ला समन्वय समितिलाई थप प्रभावकारी बनाउन, उपत्यकामा तत्काल अनुदान सम्झौता अघि बढाउन र बाँकी जिल्लामा लाभग्राही सर्भेक्षण गर्न कार्ययोजना अनुसार काम गर्न निर्देशन दिएका छन् । उनले बैठकमा उठाएइका विषयका सम्बन्धमा थप गृहकार्य गरी आगामी दश दिनभित्र प्राधिकरणको परामर्श परिषद्को बैठक र एक महिनाभित्र निर्देशक समितिको बैठक राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले पुनर्निर्माणका कामहरुलाई सबै मिलेर अघि बढाउनका लागि नै परामर्श परिषद् र निर्देशक समितिमा विपक्षी दलका नेता राख्ने व्यवस्था गरिएको जानकारी गराए । यस्तै असोज २१ गतेसम्ममा (दसैं अघि) प्राविधिक समस्या नभएका र अनुदान सम्झौता सम्पन्न भइसकेका घरधनीहरुलाई प्राथमिकतामा साथ अनुदान रकम उपलब्ध गराउन पनि उनले सम्बन्धित सबैलाई निर्देशन दिएको प्राधिकरणमा प्रबक्ता रामप्रसाद थपलिया जानकारी दिए ।

पाँचतारे होटल एभरेष्ट डेढ वर्षदेखि बन्द, १० अर्बको लगानी अलपत्र, ३ सय जना मजदुर बेरोजगार

काठमाडौं १०, असोज । राजधानीको पाँचतारे होटल दि एभरेष्ट करीब डेढ वर्षदेखि पूर्ण रुपमा बन्द भएको छ । २८ वर्षसम्म सफल रूपमा संचालनमा आएको यो होटल बन्द हुदा होटलमा कम गर्ने करीब ३ सय जना मजदुर बेरोजगार बनेका छन् । सन् १९८७ मा सुरु भएको यो होटल अन्तर्राष्ट्रिय ब्राण्ड शेराटनले करीब आठ वर्ष संचालन गरेको थियो । विसं २०७२ सालको भूकम्पपछि बन्द भएको यो होटल खुलाउँन व्यवस्थापनको चासो छैन । मजदुरको पहल र संसदको अन्तर्राष्ट्रिय सम्वन्ध र श्रम समितिले तुरुन्त होटल खुलाउन दिएको निर्देशनलाई व्यवस्थापनले वास्ता नगरेका कारण होटलको १० अर्बको सम्पती अलपत्र परेको छ । १६० कोठा रहेको यो होटल ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो होटलमा एउटा क्यासिनो पनि रहेको छ ।  होटल लामो समयदेखि बन्द भएको कारण क्यासिनोमा भएको गेमिङ मेसिन, होटलले प्रयोग गर्ने विभिन्न दैनिक उपभोगका इलेट्रोनिक्स सामान विग्रिएका छन् । होटल नियमित सफाइ नहुँदा र कर्मचारीको निगरानीमा रहन छोडेकोले कोठासम्मनै पानी पस्ने, ढुँसी गनाउँने, सुनासानको वातावरण भएको र होटलबाट तत्कालिन समयमा गेष्ट सार्दा भएको सामान पनि अझै छरपष्ट रूपमै रहेको छ । होटल २०७२ वैशाख २९ गतेको भूकम्पले बस्न नमिल्ने गरी क्षति भएको थियो । यो क्षतिपछि पर्यटन मन्त्रालयको एक प्राविधिक टोलिले सोही वर्षको जेठ १३ गते गरेको स्थलगत अनुगमनपछि होटलमा पर्यटक राख्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो । अघिल्लो वर्षको जेठ १४ गतेबाट सम्पूर्ण पर्यटक हटाएर बन्द भएको यो होटल पुननिर्माण नहुँदा र व्यवस्थापनले पनि होटल संचालनको चासो नदेखाउँदा पूर्ण रूपमा बन्द भएको हो । भारतीय लगानीकर्ता लारी परिवारको यो होटल बन्द हुँदा ३ सय जना नेपाली कामदार नै बेरोजगार भएका छन् । यो होटल भारतीय नागरिक मस्कुर अहमद लारीको अध्यक्षतामा उनकै परिवारका सदस्य संचालक समितिमा रहेका थिए । मजदुर समस्याको बाहानमा होटल बन्द होटल व्यवस्थापनले पटक पटक कर्मचारी युनियले सहयोग नगरेको आरोप लगाउँदै आएको थियो । होटल व्यवस्थापन स्रोतका अनुसार कर्र्मचारी युनियनको सहयोग नभएको कारण होटल बन्द नै गरिएको हो । मजदुरले पटक पटक असहयोग गरेकोले पनि मजदुर समस्याकै कारण होटल नखुलेको उल्लेख छ । होटल व्यवस्थापनले भूकम्पले बनाएको क्षतिपछि बढाएको थियो । होटलले २०७२ जेठ ३२ गते नै श्रम ऐन २०४८ को दफा १२ बमोजिम सम्पूर्ण कामदार कर्मचारी कटौति गर्न नेपाल सरकारसमक्ष अनुमति मागेको थियो । होटल राम्रोसँग चलेको भएपनि होटल मालिकले विस्तारै मजदुर विवाद निकालेर होटल बन्द गराएको उल्लेख छ । होटलका कर्मचारीले भने नियतबस होटल बन्द गरेको आरोप लगाएका छन् । कर्मचारीले होटलको पुनर्निर्माण गरी भएकै कर्मचारीबाट होटल संचालन गर्न माग गरेर संसदको श्रम समितिसमक्ष पुगेको भएपनि होटल भने पुन संचालन हुन सकेन । दि एभरेष्ट होटल संयुक्त संघर्ष समिति संयोजक होम सुवेदीका अनुसार होटलको आवश्यक मर्मत गरी छिटो संचालन गर्न कर्मचारीले साथ रहेकोले कर्मचारी कटौति नगर्न गरेको पटकपटको मागलाई व्यवस्थापनल वास्तै गरेन् । नेपाल लगानी बढ्दै गइरहेको अरु होटल आने क्रम भइरहेको समयमा भएकै होटल बन्द हुनुले कर्मचारीको रोजीरोटि खोजिनुका साथै लगानीको वातावरण नै विग्रदै गएको सन्देश प्रभाव भएको छ । नेपालमा उत्कृष्ट सेवा दिइरहेको यो होटल हरेक वर्ष लाभमा हुँदा पनि व्यवस्थापनले अझै संचालनको चासो देखाएका छैनन् । होटल निकट स्रोतका अनुसार व्यवस्थापनले पूरै होटल रिनोभेसन गर्न चाहेका भएपनि प्रक्रिया भने अगाडि बढेको छैन । होटल नहुँदा क्यासिनो लगानीकर्ता विच्किए होटल नभएको कारण क्यासिनोमा लगानी गर्न चाहेका लगानीकर्ता पनि फिर्ता गएका छन् । होटल भएपछि मात्रै क्यासिनो संचालन हुने भएकोले पनि भारतीय लगानीकताले क्यासिनो संचालन गर्न चाहेको भएपनि प्रक्रिया अगाडि नै बढ्न पाएन् । एभरेष्ट होटलमा क्यासिनो नभएको कारण यसका लगानीकर्ता इम्पेरियल समूह अहिले होटल अन्नपूर्णको क्यासिनोमा लगानी गर्न थालेको पनि उल्लेख छ । होटलबाट नै पानी, वत्ति क्यासिनोमा जाने हुुुन्छ । होटलमै आएका पाहुना क्यासिनो जाने भएकोले कुनै पनि क्यासिनो संचालन हुन होटल अनिवार्य छ । क्यासिनोमा करीब पाँच सय कर्मचारीले काम पाउने भएपनि यो होटल बन्द हुँदा यसको क्यासिनोमा काम गर्ने कर्मचारी पनि बेरोजगार भएका छन् । एभरेष्ट क्यासिनोमा पनि झण्डै पाँच सय जना कर्मचारी थिए ।

नेपालमा ‘मेड इन चाइना’ क्रेज, मोबाइल मार्केटको ७६ प्रतिशत हिस्सामा कब्जा

काठमाडौं, १० असोज । ‘मेड इन चाइना आज छ भोली छैन्’ भन्ने उखान नेपाली समाजमा चर्चित छ । तर बजारमा भने मेड इन चाइना क्रेज निरन्तर बढेको देखिन्छ । त्यसको प्रमाण हो नेपाली उपभोक्ताका हातहातमा छ्यापछ्याप्ती भेटिने चाइनीज मोबाइल । नेपाली मोबाइल बजारको साढे ७६ प्रतिशत बजार हिस्सा चाइनिज मोबाइलले मात्रै ओगटेको छ । अर्थात मोबाइल बोक्ने प्रत्येक एक सय नेपाली मध्ये साढे ७६ जनाले चाइनिज मोबाइल नै बोक्छन् । गत आर्थिक वर्ष २०७२/७३ मा १३ अर्ब ९२ करोड मुल्य बराबरका ४४ लाख ६२ हजार थान चाइनिज मोबाइल नेपाल भित्रिएका छन् । जबकी सो अवधीमा जम्मा १८ अर्ब १९ करोड मुल्यका ४९ लाख ९० हजार थान मोबाइल मात्रै आयात भएको छ । मोबाइल पारखी नेपालीहरुको रोजाईमा चाइनिज मोबाइल पर्नेेक्रम निरन्तर वृद्धि भैरहेको तथ्यांकले नै देखाउँछ  आर्थिक वर्ष २०६९/७० मा ४ अर्ब ४५ करोड मुल्यका २० लाख सेट चाइनिज मोबाइल नेपाल भित्रिएका थिए । तर आर्थिक वर्ष २०७०/७१ मा त्यो बढेर ७ अर्ब ५६ करोड पुग्यो । त्यस बर्ष २९ लाख सेट चाइनिज मोबाइल नेपाल भित्रिए । यो संख्या अघिल्लो बर्षको तुलनामा ६९ दशमलब ८८ प्रतिशतले बढि हुन आउँछ । त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा त्यो संख्या बढेर ९ अर्ब ८० करोड पुग्यो र ३४ लाख चाइनिज मोबाइल नेपाल भित्रिए । सो बर्ष चाइनिज मोबाइलको बजार २९ दशमलब ६२ प्रतिशतले बढ्यो । आर्थिक बर्ष २०७१/७२ को तुलनामा आव २०७२÷७३ मा चाइनिज मोबाइलको बजार ३४ दशमलब ५४ प्रतिशतले वृद्धि भएको देखिन्छ । केहि हप्ता मात्रै पहिले ब्राजिलमा सम्पन्न ठुला अर्थतन्त्र भएका मुलुकहरुको समुह जी२०को बैठकमा अमेरिका र युरोपियन मुलुकहरुले चीनको अधिक औद्योगीक उत्पादन क्षमता विश्व अर्थतन्त्रका लागि घातक सिद्ध भैरहेको आरोप लगाएका थिए । तर चीनले भने आफ्नो औद्योगीक क्षमता निरन्तर वृद्धि गरिरहेको छ र नेपालको बजारमा पनि चाइनिज समानको खपत वृद्धि भैरहेको छ ।