बिहिबार साढे दुई लाख लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल बाँढिदै

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले बिहिबार थानकोट डिपोबाट दुई लाख ६७ हजार चार सय लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले थानकोट ठिपोबाट ६० वटा पम्पलाई डिजेल र ८ वटा पम्पलाई पेट्रोल उपलब्ध गराएको हो । निगमले डिजेल क्रमशः तीन हजार लिटर, चार हजार लिटर, ६ हजार, नौ हजार देखि १२ हजार लिटर र २० हजार लिटरका दरले पम्पहरुलाई उपलब्ध गराएको छ । १४ पम्पले ती हजार लिटर, २९ वटाले चार हजार, १३ वटाले ६ हजार र एउटा पम्पले ९ हजार तथा अर्काेले १२ हजार र अर्काे एउटाले २० हजार लिटर डिजेल पाएका छन् । निगमले ८ वटा पम्पलाई तीन हजार, चार हजार र ६ हजारका दरले पेट्रोल उपलब्ध गराएको हो । निगमको थानकोट डिपोले बागमति अञ्चलभर इन्धन वितरण गर्दै आएको छ ।

दशै अगाडि ३ बुलेट ग्यास काठमाडौं भित्र्याउने निगमको प्रयास, पाइएला त ग्यास ?

काठमाडौं, २८ असोज । तपाइको भान्सामा ग्यास बाँकी छ ? छ भने दशैमा खाना पकाएर खान सक्नु होला, छैन भने विकल्प खोज्नुस् । दशै अगाडि ग्यास पाइने सम्भावना छैन । कुनै कम्पनीको केहि मात्रामा पाइयो भने पनि सामान्य उपभोक्ताले पाउने सम्भावन निकै कम छ । तराइ–मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीको कारण ग्यासको हाहाकार भएको हो । केहि मात्रामा अन्य डिजेल र पेट्रोल काठमाडौं भित्रने गरेको भएपनि ग्यास भने आउनै छोडेको नेपाल आयाल निगमको भनाइ छ । पछिल्लो समयमा नेपालगन्ज, धनगढी र विराटनगर नाकावाट केहि मात्रामा ग्यास नेपाल भित्रिएको छ । तर ती नाकाहरुवाट आएको ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि भएकोले काठमाडौका उपभोक्तालाई ग्यास दिन नसकिएको निगमका ग्यास हेर्ने निमित्त निर्देशक मुकुन्द घिमिरेले भने । ‘बीरगन्ज नाका खुल्ला नभएसम्म काठमाडौंका उपभोक्ताले ग्यास पाउने सम्भावना एकदमै कम छ, आज (विहिवार) म इन्डियन आयाल कर्पोरेसन (आइओसी) सँग यही विषयमा कुरा गर्न भारत जादैछु, कुनै चमत्कार भएर पाइयो भने छुट्टै कुरा हो, नत्र दशै अगाडि ग्यास दिन सक्ने अवस्थामा हामी छैनौं,’ विहिवार विहान घिमिरेले भने । निगमले बीरगन्ज वाहेकका क्षेत्रवाट भित्रिएको केहि बुलेट ग्यास काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएको छ । ग्यासको अभावमा सर्वसाधारण भोकभोकै पर्न थालेपछि नेपालगन्ज, धनगढी, विराटनगर जस्ता नाकाहरुवाट आएको २ देखि ३ बुलेट ग्यास काठमाडौं ल्याउने र काठमाडौंका उपभोक्तालाई वितरण गर्ने योजना निगमको छ । ‘बीरगन्ज वाहेकका नाकाहरुवाट आउने ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि हो, अन्य क्षेत्रवाट भित्रिएको ३ बुलेटसम्म ग्यास काठमाडौं ल्याउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेका छौं, तर पनि सम्भावना निकै कम छ,’ निगमका अर्का एक अधिकारीले भने । निगमले केहि दिन पहिला सुगम ग्यासको ३ हजार सिलिन्डर काठमाडौंमा वितरण गरेको थियो । सो ग्यास पनि विराटनगरको प्रिमा ग्यासलाई सुगमका सिलिन्डरमा भरेर वितरण गरिएको निगम स्रोतको भनाइ छ । निगमको अहिलेको प्रयत्न अनुसार ३ बुलेट ग्यास दशै अगाडि काठमाडौं भित्रिएमा सर्वसाधारणले केहि राहतको महसुस गर्न पाउने निगमको भनाइ छ । निगमले करिब एक महिनादेखि ग्यास विक्री वितरण बन्द गरेको छ ।

तेल भर्न भारतीय डिपो पुगेका ट्यांकर रित्तै, आईओसीद्धारा तेल कटौती

काठमाडौं, २७ असोज । तेल भर्न भारतीय डिपो पुगेका ट्यांकरहरुलाई यथेष्ठ मात्रामा तेल दिन आईओसीले पुन अस्विकार गरेको छ । पर्याप्त तेल दिने आश्वासन पाएपछि भारतीय डिपोमा पुगेका १५० भन्दा धेरै ट्यांकर बुधबार डिपो छेउछाउ रित्तै बसिरहेका छन् । नेपाल आयल निगमका निर्देशक सुशिल भट्राईका अनुसार आईओसीको आश्वासनपछि बुधबार १५० ट्यांकर तेल भर्न भारतीय डिपोहरुमा पुगेका थिए । तर आईओसीले तीमध्ये १५ प्रतिशतलाई मात्रै तेल दिएको छ । आईओसीले मंगलबार ६० प्रतिशत ट्यांकरमा इन्धन भरिदिएको थियो । सोमबार केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै इन्धनको मात्रा बढाउने संकेत गरेको आईओसीले मंगलबार केहि मात्रा वृद्धि पनि गरेको थियो । तर बुधबार पुनः पुरानै रवैया देखाउँदै १५ प्रतिशत ट्यांकरमा मात्रै इन्धन भरिदिएको निगम निर्देशक भट्टराईले बताए । बुधबार पनि १५० ट्यांकर इन्धन भर्न बरौनी, बेतालपुर, सिलिगुढी लगायतका आईओसी इन्धन डिपोमा पुगेका थिए । ग्लोबल टेण्डरका छिनोफानो एकदुई दिनमै यसैबिच निगमले पेट्रोलिमय पदार्थ आयातका लागि आव्हान गरेको ग्लोबल टेण्डरको छिनोफानो एकदुई दिन भित्रै गर्ने तयारी थालेको छ । निगमले यस अघि नै हवाई इन्धन ल्याउने जिम्मा नेपाल एयरलाईन्सलाई दिईसकेको छ । ‘हामी प्रस्तावहरुको अध्ययन गरिरहेका छौं, केहिको प्रस्ताव अझै स्पष्ट छैन, उनीहरुलाई सच्याउन भनिरहेका छौं, केहि दिनभित्रै सबै टुंगो लाग्छ’ भट्टराईले भने ।