नेपाल र भुटानमा पाँच सय र हजारको भारु नोट चालु, प्रत्तिव्यक्ति २५ हजार भारु सिमा

९ माघ । भारतले नेपाल र भुटानमा पाँच सय र एक हजार भारु नोट चलन चल्तिमा ल्याउन खुला गरेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक) ले विहीवार प्रेस विज्ञप्ति जारी गरेर यो नयाँ व्यवस्था गरेको हो । तर एक भारतीयले भुटान तथा नेपालमा आउँदा भने २५ हजार भारुसम्म ल्याउन पाउँने व्यवस्था गरेको हो । करिब ६ महिना अघि नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदलाई सम्बोधन गर्दै पाँच सय र एक हजार भारु नोटको प्रचलनमा लागेको प्रतिबन्ध फुक्वा गर्ने घोषणा गरेको थिए । मोदीले गत नोभेम्बर २५ मा बीर हस्पिटल अन्र्तगतको नेशनल ट्रमा सेन्टर उदघाटनको क्रममा पाँच सय र एक हजार भारु नोटमा लागेको प्रतिबन्ध त्यही दिनबाट हटेको समेत घोषणा गरेका थिए ।  तर विहीवारबाट भने व्यवहारिक रुपमा लागु गर्न यस्तो व्यवस्था गरिएको बुझिएको छ । विहीवारदेखि  भारतीय रिर्जभ बैंकले यसको कार्यान्वयन  गरेको छ । यसअघि भने भारतिय नागरिकले आफुसाथ एक सय भारु सम्मका मुद्रा ल्याउन सक्थे । उनीहरुको लागि रकमको कुनै सिमा तोकिएको थिएन । नेपालमा करिब सन् २००० देखि पाँच सय र एक हजार भारु नोटको प्रचलनमा प्रतिबन्ध लगाइएका थियो ।

सिभिल बैंकको नाफा पाँच गुणा बढ्यो

९ माघ । गत त्रैमाशमा नोक्सानमा देखिएको सिभिल बैंकले नाफामा गुणात्मक वृद्धि गरेको छ । बैंकको गत आवको दोस्रो त्रैमाशको तुलनामा चालु आवको यो अवधिमा नाफा ५.२ गुणा अर्थात् ४२० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी वृद्धिभएपछि नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा तीन करोड ३९ लाख नाफा कमाएको बैंकले चालु आवको यो अवधिमा भने १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख, फि कमिसनबाट दुई करोड ९४ लाख र अन्य आम्दानी तीन करोड २१ लाख गरेको छ । बैंकले राइट व्याक गरेको छैन । यसपाली बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही बढेर १.९३ मा भएको छ । तर बैंकले गत बर्षको भन्दा यो पटक ७२ प्रतिशतले घटाएर सम्भावित जोखिम बापतको व्यवस्थामा तीन करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकले कुल खराब कर्जाको लागि यो पटक रकम केही घटाएरु एक सय आठ प्रतिशत रकम व्यवस्था गरेको हो । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । यी दुवै खर्च गरेर प्रशासनिक खर्च ४१ प्रतिशतले बढेर २१ करोड पुगेको छ । तरपनि बैंकको कोषको लागत घटेर ५.८५ मा सिमित भएको छ । बैंकसंग ५४ करोड ६३ लाख रुपैयाँ सञ्चिती छ । बैंकले प्रोभिजन अघि ५१ करोड सञ्चालन नाफा गरेको छ । बैंकको कुल सञ्चालन नाफा भने ४२० प्रतिशतले बढेर २७ करोड ८१ लाख भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप भने करिब २७ प्रतिशतले बढेर २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.७ प्रतिशत छ । बैंकको बेस रेट (व्याजको आधार दर) घटेर ८.६७ भएको छ । बैंकले कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड दर) ४.२७ कायम गरेको छ । बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर एक अर्ब ५२ करोड रुपैयामा सिमति पारेको छ । तर कुल कर्जामा यो कर्जाको अनुपात बढि नै छ । यो अनुपात करिब ७.२१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२२, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ रहेको छ । बैंकको पुँजीकोष पर्याप्तता अनुपात ५.८५ रहेको छ ।

निर्जीबन बीमा ब्यवसायमा आधा हिस्सा मोटर बीमाको

८ माघ । निर्जीबन बीमा कम्पनीहरु मोटर बीमामा नै बढी केन्द्रित भएको पाइएको छ । मोटर बीमा वापद उठेको रकम कूल बीमा शुल्कको झण्डै आधा रहेको छ । सवै निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा उठाएको बीमा शुल्कको तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका अनुसार निर्जीबन बीमा ब्यवसायको करिब ५० प्रतिशत हिस्सा भने मोटर बीमा शुल्ककै रहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क उठेकोमा मोटर बीमा शुल्क मात्रै १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्का मोटर बीमा वापद उठेको शुल्कको हिस्सा ४२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । गत असोज महिनामा मात्रै निर्जीबन बीमा वापतको शुल्क ९५ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । गत भदौ महिनामा सवै निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब ९० करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठेकोमा असोज महिनामा बढेर २ अर्ब ८६ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । असोज मसान्तसम्ममा अग्नि बीमा वापत ७३ करोड ३१ लाख रुपैयाँ शुल्क उठेको छ । भदौ महिनामा यस्तो शुल्क ६१ करोड ३९ लाख रुपैयाँ संकलन भएको थियो । असोज महिनामा मात्रै अग्नि बीमा बापत ११ करोड ९१ लाख रुपैयाँ शुल्क उठेको छ । असोज महिनामा मोटर बीमा शुल्क ५१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । भदौमा ६८ करोड ६३ लाख रुपैयाँ मोटर बीमा शुल्क उठेकोमा असोज महिनामा १ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन भएको हो । असोज महिनामा सामुन्द्रिक बीमा बापत ६ करोठ ४० लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा १४ करोड ८५ लाख रुपैयाँ सामुन्द्रिक बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क २० करोड ८६ लाख रुपैयाँ उठेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै हवाइ बीमा वापत ७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ११ करोड ३१ लाख रुपैयाँको हवाइ बीमा शुल्क उठेकोमा असोजमा यस्तो शुल्क १९ करोड २३ लाख रुपैयाँ उठेको छ । असोज महिनामा इन्जिनियरिङ बीमा शुल्क वापत ३ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ८ करोड ५५ लाख रुपैयाँ यस्तोबीमा शुल्क उठेकोमा असोज महिनासम्ममा ११ करोड ९० लाख रुपैयाँ उठेको छ । असोज महिनामा विविध बीमा शुल्क भने १४ करोड ८४ लाख रुपैयाँ बीमा शु्ल्क उठेको छ । भदौ महिनासम्ममा २५ करोड ८१ लाख रुपैयाँ विविध बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क ४० करोड ६६ लाख रुपैयाँ उठेको समितिको तथ्यांकमा उल्लेख छ ।