नेपाली बैंकलाई चीनमा युआनमा खाता खोल्ने सुविधा

१५ पुस । नेपाली बैंक तथा वित्तीय संस्थाहरूले चीनको कुनै पनि वाणिज्य बैंकमा चिनियाँ मुद्रा युआनमा खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक र चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाबीच सहमति भएपछि नेपाली बैंक तथा वित्तीय संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै चिनियाँ मुद्रा युआन खरिद गर्ने र खरिद गरिएको युआन चीनका वाणिज्य बैंकहरूमा खोलिएको खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । यस्तो निर्देशनपछि नेपालको अन्तर्राष्ट्रिय व्यापारको भुक्तानीका लागि चिनियाँ व्यापारिक फर्महरूलाई एलसी, ड्राफ्ट, टीटीलगायतका माध्यमबाट हुने भुक्तानी र हिसाब मिलान युआनमा गर्न सकिने भएको छ । यस्तो व्यवस्थापछि नेपाली नियार्तकर्ताले चिनियाँ बजारमा गर्ने वस्तु निर्यात, सेवा बिक्री, नेपाली फर्म कम्पनी तथा उद्योगले चीनबाट प्राप्त गर्ने ऋण वा प्रत्यक्ष वैदेशिक लगानीबापत प्राप्त रकम सम्बन्धित बैंक वित्रीय संस्थाहरूले युआनमै खाता खोली जम्मा गर्न पाउने भएका छन् । यस्तै, चिनियाँलगायत विदेशी नागरिकहरूले नेपालका बैंक वित्तीय संस्थाहरूलाई प्रचलित विनिमय दरमा युआन खरिद गर्न बाटो खुलेको छ । पर्यटकहरूले होटल, ट्राभल एजेन्सी, मनी चेन्जर जस्ता इजाजत प्राप्त संस्थामार्फत खरिद बिक्री गर्न पाउने भएका छन् । चिनियाँ मुद्रामा जारी भएका क्रेडिट डेभिट कार्ड प्रयोगबाट नेपाली रुपैयाँमा भुक्तानी दिन सकिने भएको छ । यस्तो रकमको हिसाब मिलान चीनस्थित आफ्नै युआन खाताबाट नेपाली वाणिज्य बैंकले गर्नसक्नेछ । नेपालबाट वर्षेनी चीनमा एमबीबीएस अध्ययनका लागि हजारौं नेपाली विद्यार्थीहरू चीनमा जाने गरेका छन् । राष्ट्र बैंक र चीनको केन्द्रीय बैंकको सहमतिपछि सबैभन्दा बढी फाइदा नेपाली विद्यार्थीहरूलाई पुगेको छ ।

पुनर्बीमा प्रिमियम वार्षिक २ अर्ब ७७ करोड

१४ पुस । नेपालबाट वार्षिक पुनर्बीमाबापत २ अर्ब ७७ करोड रुपैयाँ विदेशिएको छ । नियामक निकाय बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७०/७१ मा २ अर्ब ७७ करोड ८३ लाख ४९ हजार रुपैयाँ विदेशिएको हो । आव ०६९/७० मा २ अर्ब १० करोड ४६ लाख ८३ हजार ४ सय ७ र आर्थिक वर्ष ०६८/६९ मा नेपालबाट १ अर्ब ८२ करोड ३७ लाख ८२ हजार ४ सय ९० रुपैयाँ विदेशिएको थियो । हरेक वर्ष पुनर्बीमाबापत विदेशिने प्रिमियमको रकम उच्च दरले बढ्दै गएको छ । आव ०६९/७० भन्दा आव २०७०/७१ मा ३२ प्रतिशतले बढी पुनर्बीमाबापतको प्रिमियम रकम विदेशिएको छ । यस्तै, आव ०६८/६९ को तुलनामा आव ०६९/७० मा १५ प्रतिशतले बढी पुनर्बीमाबापत रकम बाहिरिएको छ । नेपालमा जीवन र निर्जीवन बीमा गर्दै आएका आकस्मिक बीमा कोषसहित २७ कम्पनी रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थान (ननलाइफ) को आव २०७०/७१ मा २२ करोड ५६ लाख ३३ हजार पुनर्बीमाबापत रकम विदेशिएको छ । जुन ०६९/७० को भन्दा ३३ प्रतिशतले बढी हो । आव ०६९/७० मा राष्ट्रिय बीमा संस्थानको १६ करोड ८४ लाख ७१ हजार रुपैयाँ विदेशिएको थियो । यस्तै, आव ०६८/६९ मा संस्थानको पुनर्बीमाबापत १५ करोड १९ लाख २३ हजार रुपैयाँ विदेशिएको थियो । यसैगरी, हिमालयन जनरल लाइफ इन्स्योरेन्सको आव २०७०/७१ मा ५८ करोड २३ लाख ७५ हजार रुपैयाँ पुनर्बीमाबापत विदेशी कम्पनीमा गएको थियो । सो कम्पनीले आव ०६९/७० मा ५० करोड ३८ लाख ५ हजार र आव ०६८/६९ मा १९ करोड ७० लाख ६७ हजार रुपैयाँ बाहिरिएको थियो । हिमालयनको आव ०६९/७० भन्दा २०७०/७१ मा १५ प्रतिशतले बढी रकम बाहिरिएको तथ्यांकले देखाउँछ । पुनर्बीमाबापतको प्रिमियम रकम सबैभन्दा बढी बाहिरिने कम्पनीमा हिमालयन जनरल इन्स्यारेन्स कम्पनी रहेको छ । नेसनल इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो रकम खुलाएका छैनन् ।

उद्योग मन्त्रालयले थाल्यो ४० मेवा विद्युत उपयोगको पहल

१४ पुस । चिनी मिलवाट उत्पादित विद्युत उपयोग गर्न पहल सुरु भएको छ । मिलले उत्पादन गरेको विद्युत खेर गैरहेको र देशमा उर्जाको चरम संकट पैदा भएको भन्दै उद्योग मन्त्रालयले यस्तो विद्युत उपयोगको पहल सुरु गरपेको हो । चिनी उत्पादक संघले सुख्खा याममा बार्षिक ४० मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताएका छन् । आइतवार उद्योगमन्त्रीको अध्यक्षतामा उद्योगमन्त्रालयमा विद्युत प्राधिकरण, उर्जा मन्त्रालयका प्रतिनिधिसँगको बैठकमा चिनी उत्पादक संघका प्रतिनिधिहरुले यस्तो कुरा बताएका हुन् । उद्योगमन्त्री महेश बस्नेतले चिनी मिलबाट उत्पादन हुने विद्युत खरीदका लागि सबै पक्ष तयार हुँदा पनि प्रक्रिया अगाडी बढ्न नसक्नु आफैमा विडम्बना भएको बताए । उनले चिनी मिलबाट विद्युत तत्काल खरीदका लागि विद्युत ऐनमा रहेका केही बाधाहरुलाई अध्यादेश मार्फत भएपनि संशोधनको प्रयास गरिने आवश्वासन दिए । मन्त्री बस्नेतले यस कार्यका लागि उद्योगमन्त्रालयले उचित पहल चाल्ने र विद्युत खरीदको काम छिट्टै शुचारु हुने कुरामा चिनी उद्यमीलाई विश्वस्त हुन आग्रह गरे । उद्योगमन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उखु मिलबाट उत्पादन हुने इथाइनोल डिजेलमा दुई प्रतिशत सम्म मिसाउन सकिने हुँदा यसबाट चिनी उत्पादक र किसान प्रत्यक्ष लाभान्वित हुनसक्ने सम्भावना रहेको उल्लेख गरे । चिनी मिलबाट उत्पादन हुने विद्युत उपयोगका सम्बन्धमा उद्योग सचिव र उर्जा सचिवको छलफलबाट चाडैँ टुङ्गोमा पुगिने उनको भनाइ छ । चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले उर्जामन्त्रालयले विद्युत खरीद गर्ने प्रत्याभूति दिएमा आगामी बर्षको खुख्खा याममा ८ रुपियाँ ५० पैसा प्रतियुनिटको दरले बार्षिक ४० मेगावाट विद्युत उत्पादन गर्न सक्ने जानकारी दिए । उर्जा मन्त्रालयको अन्तर विभागको समन्वयन नहुँदा विगत चार बर्षदेखि विद्युत खरीद प्रक्रिया अगाडी बढ्न नसकेको अग्रवालको भनाइ छ ।