टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो

काठमाडौं । टेस्लाको बोर्ड अफ डाइरेक्टर्सले गत सेप्टेम्बरमा एलन मस्कलाई कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब प्याकेज प्रस्ताव गर्दा लगानीकर्ताहरूलाई आश्वस्त गर्यो कि उनले १० वर्षभित्र टेस्लाको सेयर मूल्यबाट ८७८ अर्ब डलर कमाउन मार्स–सट माइलस्टोन (अत्यन्त कठिन, महत्त्वाकांक्षी र असम्भवजस्तै देखिने लक्ष्यहरू) बराबरका उपलब्धिहरू हासिल गर्नुपर्नेछ । बोर्डको प्रस्तावमा भनिएको थियो — मस्कले टेस्ला र समाजलाई हामीले चिनेको भन्दा ‘पूर्ण रूपमा रूपान्तरण’  गर्नुपर्नेछ — रोबोटिक्स, स्वचालित सवारी, सेयर मूल्य र मुनाफामा । नत्र उनले ‘शून्य’ पाउनेछन्, जबसम्म ती ‘अविश्वसनीय महत्त्वाकांक्षी’ लक्ष्यहरू पूरा हुँदैनन् । तर रोयटर्सको विश्लेषणअनुसार मस्कले तीमध्ये धेरै लक्ष्य नपुग्दा पनि दशौं अर्ब डलर कमाउन सक्नेछन् । बोर्डका सजिला लक्ष्यहरू पूरा गरेर मात्रै उनले ५० अर्ब डलरभन्दा बढी पाउन सक्ने सम्भावना छ, जसले टेस्लाको उत्पादन वा व्यवसायमा ठूला क्रान्ति ल्याउन आवश्यक नपर्न सक्छ । केवल दुई सजिला लक्ष्य पूरा गर्दै थोरै मात्र सेयर मूल्य वृद्धि भए पनि मस्कले २६ अर्ब डलर कमाउन सक्छन् — जुन अन्य शीर्ष आठ सीईओहरूको जीवनभरको तलबको भन्दा बढी हो । तीमध्ये मेटा प्लेटफर्मका मार्क जुकरबर्ग, ओरेकलका सहसंस्थापक लेरी एलिसन, एप्पलका टिम कुक र एनभीडीयाका जेन्सेन हुआङ छन्  सवारी विशेषज्ञका अनुसार मस्कका सवारी बिक्रीका लक्ष्यहरू अत्यन्तै सजिला छन् । यदि उनले अर्को दशकसम्म हरेक वर्ष औसतमा १२ लाख कार बेच्न सके भने — जुन २०२४ को तुलनामा पाँच लाख कम हो — र टेस्लाको बजार मूल्य आजको १.४ ट्रिलियनबाट २०३५ सम्ममा २ ट्रिलियन पुगेमा उनले ८.२ अर्ब डलरको सेयर पाउँछन् । गत मंगलबार टेस्लाले घट्दो बिक्री उल्ट्याउन सस्तो मोडेल ‘वाई एसयूभी’ र ‘मोडेल ३’ का नयाँ भर्सन सार्वजनिक गर्‍यो । तर मस्कका तीन अन्य उत्पादन विकास लक्ष्यहरू अस्पष्ट भाषामा लेखिएका छन्, जसले नाफा धेरै नबढाई पनि ठूलो बोनस दिलाउन सक्ने विशेषज्ञहरू बताउँछन् । टेस्ला र मस्कले यसबारे टिप्पणी गर्न अस्वीकार गरे । बोर्डका प्रवक्ताले भने, ‘यो प्रस्तावित तलब प्याकेज हाम्रो सीईओका लागि तबसम्म शून्य मूल्यको हुनेछ जबसम्म सेयरधारकहरूले कम्पनीको मूल्य लगभग दोब्बर भएको र सञ्चालन उपलब्धि हासिल भएको देख्दैनन् ।’ बोर्डको प्रस्तावअनुसार मस्कले कम्तीमा सात वर्ष र छ महिनासम्म टेस्लाको कार्यकारी रहनु पर्नेछ । तर उनले एकपटक सेयर पुरस्कार पाउने बित्तिकै त्यससँग सम्बन्धित भोटिङ अधिकार प्राप्त गर्नेछन् । मस्कले गत महिनामा आफ्नो ‘एक्स’ प्लेटफर्ममा लेखेका थिए — ‘यो प्याकेज तलबको विषय होइन, बरु हामीले लाखौं रोबोट बनायौं भने टेस्लाको सुरक्षामा मेरो पर्याप्त प्रभाव रहोस् भन्ने सुनिश्चितता हो ।’ बोर्डले भन्यो, ‘मस्क परम्परागत तलब प्रणालीभन्दा बाहिरका प्रेरणाबाट’ सञ्चालित छन् । स्व–सञ्चालित कार, रोबोट्याक्सी र रोबोटिक्स प्रत्येक लक्ष्य पूरा गर्दा टेस्लाको मूल्यांकन २ ट्रिलियनदेखि ८.५ ट्रिलियनबीच पुगेमा मस्कलाई १ प्रतिशत सेयर प्राप्त हुन्छ । एक लक्ष्यअनुसार टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयरका १ करोड सब्स्क्रिप्सन हुनुपर्नेछ — यद्यपि अहिले यो सफ्टवेयर मानव हस्तक्षेपबिना चल्न सक्दैन । अमेरिकी ट्राफिक सुरक्षा निकाय (एनएचटीएसए) ले बिहीबार २.८८ मिलियन एफएसडीयुक्त टेस्ला गाडीमा ५० भन्दा बढी ट्राफिक दुर्घटनाका रिपोर्टपछि अनुसन्धान सुरु गरेको छ । मस्कको लक्ष्यमा टेस्लाले पूर्ण स्वचालित एफएसडी बनाउनैपर्ने भनिएको छैन — केवल ‘उन्नत ड्राइभिङ प्रणाली’ आवश्यक छ भनिएको छ । ‘यो त कल्पित शब्द हो, जसको कुनै उद्योगस्तरीय परिभाषा छैन,’ मियामी विश्वविद्यालयका प्राध्यापक विलियम वाइडेनले भने ।  विशेषज्ञहरूका अनुसार टेस्लाले सब्स्क्रिप्सन शुल्क (हाल ८ हजार डलर अग्रिम वा ९९ डलर मासिक) घटाएर यो लक्ष्य सजिलै पूरा गर्न सक्छ । चीनको बीवाईडीले त यस्तै प्रणाली निःशुल्क नै प्रदान गर्छ । ‘यदि म मस्कको वकिल हुन्थेँ भने यी परिभाषा मलाई मन पर्थे,’ न्यूयोर्कका कार्डोजो स्कुल अफ लका प्राध्यापक म्याथ्यु वान्सलीले भने । अर्को लक्ष्यअनुसार एक मिलियन रोबोट्याक्सी सञ्चालनमा हुनुपर्नेछ — जसमा ‘मानव चालक बिना’ कार सञ्चालन हुने भनिएको छ । तर चार सवारी विशेषज्ञका अनुसार यो व्याख्या ‘दूरवर्ती’ चालक वा यात्रु सिटबाट नियन्त्रण गर्ने अवस्थामा पनि लागू हुन सक्छ — जुन टेस्लाले अहिले टेक्सासको अस्टिनमा सानो स्तरमा परीक्षण गरिरहेको छ। मस्कको सम्झौताले १० लाख रोबोट उत्पादन गर्ने लक्ष्य पनि राखेको छ, जुन उनले प्रतिज्ञा गरेको ‘ह्युमनाइड रोबोट’ सँग सम्बन्धित मानिन्छ । तर लक्ष्यमा ‘ह्युमनाइड’ भन्ने शब्द नै छैन — जसले यसको व्याख्या धेरै फराकिलो बनाउँछ । ‘यो एकदमै अस्पष्ट व्याख्या हो,’ रोबोटिक्स विश्लेषक क्रिश्चियन रोकसेथले भने, ‘तर लगानीकर्ताहरू त मानव–आकारका रोबोटकै आशा गरिरहेका छन् ।’ साना लक्ष्य, अर्बौं इनाम यदि मस्कले कुनै दुई उत्पादन लक्ष्य १० वर्षमा पूरा गरे र कम्पनीको मूल्य २.५ ट्रिलियनमा पुगे उनले २६.४ अर्ब डलर पाउनेछन् । तीन लक्ष्य र ३ ट्रिलियन मूल्य पुग्दा यो रकम ५४.६ अर्ब हुनेछ । यसरी उनले ड्राइभरबिहीन टेस्ला उत्पादन नगरी पनि अर्बौं पाउन सक्छन् — जुन उत्पादनको उनले दशकदेखि वाचा गर्दै आएका छन् । टेस्लाका लगानीकर्ता जीन मुनस्टरका अनुसार, ‘शब्दहरू ढिला देखिए पनि अन्ततः लगानीकर्ताले परिणाम माग्छन् । यदि जनताले शंका गर्न थाले भने मस्क समस्यामा पर्छन् ।’ बोर्डले मस्कलाई टेस्लालाई एआई–शक्ति सम्पन्न कम्पनीमा रूपान्तरण गर्न सक्षम एक मात्र व्यक्ति घोषित गरेको छ । तर विशेषज्ञहरू भन्छन्, ‘बोर्डले आफ्नो भविष्य एक व्यक्तिमाथि अत्यधिक निर्भर गराउनु ठूलो जोखिम हो ।’ कठिन भाग : मुनाफा मस्कका सबैभन्दा कठिन लक्ष्य भने नाफासँग सम्बन्धित छन् जसमा व्याख्याको ठाउँ छैन । बोर्डले ५० अर्बदेखि ४०० अर्ब डलरसम्मको नाफा लक्ष्य राखेको छ जबकि २०२४ मा टेस्लाको नाफा १६.६ अर्ब मात्र थियो । टेस्लाको विद्युतीय सवारी व्यवसाय अहिले पुराना मोडेल र बढ्दो प्रतिस्पर्धाका कारण कमजोर बन्दैछ । नयाँ मोडेल ‘साइबरट्रक’ असफल भएको छ । तर मस्कको तलब संरचनाले नाफा नबढ्दा पनि ठूलो बोनस दिलाउन सक्छ किनभने बजार मूल्य वृद्धि सँगै प्रत्येक लक्ष्यमा समान १ प्रतिशत सेयर पाउने व्यवस्था छ । यदि टेस्लाको मूल्य दशकभरमा ६.४ प्रतिशत वार्षिक दरले मात्र बढ्यो भने पनि यो २ ट्रिलियन पुग्न सक्छ — जुन विगत ३० वर्षको एसएन्डपी ५०० को औसत ८.५ प्रतिशतभन्दा कम हो । मर्निङस्टारका विश्लेषक सेथ गोल्डस्टिनका अनुसार टेस्लाको मूल्य दशकभरमा ३ ट्रिलियन पार गर्न सक्छ, यद्यपि यो मूल्यांकन अहिले नै ‘अवस्थित नभएका भविष्यका उत्पादन’ मा आधारित छ । उनका शब्दमा ‘मस्कले बोर्डले दिएको सबैभन्दा ठूलो इनाम पाउन अब वास्तविक उत्पादनहरू देखाउनुपर्नेछ ।’ दक्षिण क्यालिफोर्नियाका प्राध्यापक केभिन मर्फीले भने, ‘सजिला लक्ष्य पूरा गर्दा शेयरधारकहरू सन्तुष्ट हुँदैनन्, तर उनी मस्कमा विश्वास गर्छन् — र उनीहरूका लागि त्यो नै महत्त्वपूर्ण छ ।’ ‘के यो मूल्यवान छ ?,’ मर्फी भन्छन्, ‘सेयरधारकहरूलाई त त्यस्तै लाग्छ ।’ टाटा ट्रस्ट्समा आन्तरिक युद्ध : विजय सिंहको राजीनामासँगै मिस्त्री विवाद सतहमा संकटमा अमेरिकी अर्थतन्त्र : चीनको कदमले बढायो विश्व अर्थतन्त्रमा त्रास टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै

गभर्नरलाई कसैले पनि घर भाडामा दिन मानेनन्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका लागि घर भाडामा दिन कोही पनि घरबेटीहरू इच्छुक नभएकाे बुझिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनकर्ताहरूले गभर्नर पौडलको निजी घरमा आगजनी गरेपछि राष्ट्र बैंकले उनका लागि घर भाडामा खोजिरहेको थियो । तर, ललितपुरका घरबेटीहरू उनलाई भाडामा घर दिन अनिच्छुक देखिएका हुन् । गत असोज १२ गते राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा दिन इच्छुकलाई आवेदन आह्वान गरेको थियो । घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीलाई राष्ट्र बैंकले आज असोज २७ गतेसम्म प्रस्ताव पेस गर्न भनिएको थियो ।  तर, यस अवधिमा कुनै पनि घरबेटीले घर भाडामा दिन इच्छा जाहेर नगरेपछि आवेदन दिने समय थपिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएकाे छ । ‘आज आवेदन दिने अन्तिम दिन थियो । तर, आवेदन नपरेपछि समय लम्ब्यायौं । एक/दुई जना बुझ्न आउनु भएको थियो । तर, आवेदन दिनु भएन । त्यसैले कात्तिक १६ गतेसम्म समय थप गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘आजसम्म बुझ्न मात्रै आउनु भयाे । तर, आवेदन भने दिनु भएन ।’ राष्ट्र बैंकले भने दशैं-तिहार तथा छठ पर्वको बिदालाई मध्यनजर गरी घर भाडाका लागि आवेदन दिने म्याद थप गरिएको जानकारी दिएकाे छ । ‘चाडवाडको समयमा मान्छेहरू कोही विदेश, कोही कतै घुम्न जानु हुँदो रहेछ । कति मान्छेहरू विदेशमा भएका कारण पनि समय लागेको हुन सक्छ,’ स्रोतले भन्यो, ‘कतिपयले विदेशबाट पनि सम्पर्क गर्नु भएको छ । विविध कारणले आवेदन परेन ।’  साथै गभर्नर सार्वजनिक तथा प्रतिष्ठित व्यक्ति भएकाले पनि घर दिन अनिच्छा गरेको हुन सक्ने राष्ट्र बैंकका ती उच्च अधिकारी बताउँछन् । ‘एक/दुई जनाले चासो भने लिनु भयो । फाँटमा आएर फर्म लिनु भयो । तर, आवेदन भने बुझाउनु भएन,’ ती अधिकारीले भने ।  राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।  राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडेलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो । राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो ।  घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ ।  साथै २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । 

‘बीमितहरू आत्तिनु पर्दैन, हामी पैसा दिन्छौं’

‘नेपालका बीमा कम्पनीहरू बलिया छन् र बीमितको दावी भुक्तानी गर्न सक्षम छन् । शिखर इन्स्योरेन्स झनै बलियो छ । जेनजी आन्दोलनबाट नोक्सानी बेहोरेका बीमितलाई बीमा दावी भुक्तानी सुरु गरिसकेका छौं, ’ शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले विकासन्युजसँग भने, ‘जेनजी आन्दोलनले हाम्रा ४३३ बीमितलाई नोक्सान पुगेको छ । त्यसमा २ अर्ब ४१ करोड रुपैयाँ बराबर बीमा दावी परेको छ । १७३ बीमितलाई सर्भेयरको सिफारिस अनुसार २५ देखि ५० प्रतिशत अग्रिम भुक्तानी दिइसकेका छौं ।’ उनले बीमितहरूलाई नआत्तिन आग्रह गरे । उनले भने, ‘जसले विधिसम्मत बीमा गराउनु भएको छ, तपाईंहरूले दावी भुक्तानी पाउनु हुनेछ । हामी ग्राहकसँग नियमित छलफलमा छौं । संकटको यस घडीमा तपाईंहरूको आर्थिक सुरक्षाको प्रत्याभूति हामी दिन्छौं ।’ जेनजी आन्दोलनबाट शिखरका २३० बीमितको गाडी जलेको छ । ११५ जनाको घर सम्पत्ति नोक्सान भएको छ । ७८ वटा इन्जिनियरिङ बीमा र १० वटा अन्य बीमा दावी परेको छ । शिखर इन्स्योरेन्सको सेयर पुँजी २ अर्ब ९२ करोड रुपैयाँ छ । गत असार मसान्तसम्म कम्पनीको नेटवर्थ ५ अर्ब ८१ करोड रुपैयाँ छ । ‘जेनजी आन्दोलनको असर कम्पनीलाई अधिकतम ३६ करोड रुपैयाँ भार पर्न सक्छ । यसको असर चालु आर्थिक वर्षको नाफा गत वर्षको तुलनामा कम हुनेछ  । तर कम्पनीको समग्र वित्तीय सूचकांकलाई नकारात्मक बनाउँदैन, ’ उनले भने ।  नगद प्रवाह नियमित एकै पटक ठूलो रकम बीमा दावी हुँदा बीमा कम्पनीहरूको नगद प्रवाहमा समस्या हुने हो कि भन्ने आशंका बजारमा छ । तर शिखर इन्स्योरेन्सका लागि त्यस्तो कुनै समस्या नभएको सीईओ पाण्डेले बताए ।  ‘हामीले आइतबार साँझसम्म ४१ करोड भुक्तानी दिइसकेका छौं । सोमबारसम्म ५० करोड भुक्तानी गर्दैछौं, ’ उनले भने, ‘नेपाल पुनर्बीमा कम्पनीले ३७ करोड रुपैयाँ अग्रिम भुक्तानी दिने जानकारी दिएको छ । बीमा प्राधिकरणले एयर मार्क (मुद्दती रकम नियन्त्रण) खुला गरेको छ । कम्पनीको सञ्चालक समितिले ५० करोड रुपैयाँ बैंकबाट कर्जा लिने निर्णय गरेको छ । अब नगद प्रवाहमा पनि कुनै समस्या हुँदैन । कात्तिक महिनाभित्र अधिकांश बीमितको दावी भुक्तानी गर्नेछौं ।’  गत सातासम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी देला कि नदेला भन्न दुविधा भएको तर यस साताबाट पुनर्बीमाले दावी भुक्तानी गर्न थालेपछि बीमा क्षेत्रमा मनोबल बढेको सीईओ पाण्डेले बताए ।  भदौ २३ र २४ गते हुलदंगा बीमातर्फ नेपालले इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ । बीमा कम्पनीहरूको लागि यो बिलकुल नयाँ भोगाइ पनि हो । ‘हामीले २०७२ को भूकम्प पनि पार लगायौं । गत वर्षको ठूलो बाढी पहिलो पनि पार लगायौं । यस वर्ष पनि बाढी पहिरोको असर ठूलै छ । तर बाढी पहिलोबाट हुने जोखिम नेपालका बीमा कम्पनीको लागि सामान्य लाग्न थालेका छन्‌, ’ पाण्डेले भने, ‘यस पटक पनि हामी जिम्मेवारीपूर्वक काम गरिरहेका छौं । समस्यामा परेका ग्राहकसँग नियमित छलफलमा छौं । सर्भेयरहरूले काम गरिरहेका छन् । डकुमेन्टेशनको काम भइरहेको छ । स्टकहरूको भ्यालुएशनका काम भइरहेका छन् । पूरै नष्ट भएका गाडीहरूको दर्ता खारेजीको काम पनि सुरु भइसकेको छ ।’ बीमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड बनाएर नियामकले सही समयमा सही निर्णय गरेको सीईओ पाण्डेले स्मरण गराए । ‘पुँजी बृद्धिसँग कम्पनी बलिया भएका छन् । अब ग्राहकहरू पनि सुरक्षित भएका छन् । यति ठूलो विपत्‌मा पनि बीमा दावी भुक्तानीमा बीमा सक्षम भएका छन् । हामीले कम्पनीका प्रवर्द्धक सेयरधनीसँग पनि छलफल गर्यौं । कम्पनी बलियो छ, चालु आर्थिक वर्षमा पनि कम्पनी नोक्सानीमा जाँदैन भनेर जानकारी दिएका छौं । कम्पनीको रेटिङ डबल ए माइनस छ । त्यो कायम नै हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।  गत आर्थिक वर्षका कम्पनीले ४५ करोड खुद नाफा गरेको थियो । असार मसान्तमा कम्पनीको बीमा कोष १ अर्ब ९२ करोड रुपैयाँ छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १९९ रुपैयाँ छ ।