सकसपूर्ण दशैं यात्रा, १० दिनमा १ लाख ३४ हजार हवाई यात्रा
काठमाडौं । सामान्य अवस्थामै पनि हरेक वर्ष दशैंको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाइजहाजको यात्रा होस् या सडक यात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दशैं सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दशैंको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ । बसको टिकट पाउन पनि मुस्किल पर्छ । सधैँ जसो दशैंको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो । दशैंको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए । हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो । असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो । उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो । वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दशैंको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दशैंमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताए । ‘दशैंमा सामान्य अवस्थामा पनि हवाई उडान अत्यधिक चाप हुन्थ्यो । यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो । गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो । सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो,’ उनले भने । दशैंमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाईसेवालाई लिइन्छ । बर्सेनि दशैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैंआउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । उसै पनि दशैंमा चाप हुने गरेको हवाई उडान वर्षात्पछिका बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो । यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन् । समस्यामा परेका यात्रु २/४ दिनसम्म टिकटका लागि भौतारिनु पर्यो । हवाइसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो । यात्रुलाई माग बमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे । यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए । राति २ बजेदेखि ३ बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो । १० दिनमा १ लाख ३४ हजारले गरे हवाई यात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार १० दिनमा करिब डेढ लाखले हवाई यात्रा गरेका छन् । असोज १२ देखि २१ गतेसम्म कुल १ लाख ३४ हजार ५१५ यात्रुले हवाई यात्रा गरेका हुन् । यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौं भित्रिएका छन् । उक्त अवधिमा १ हजार २८५ उडान र १ हजार २६३ अवतरण गरी कुल २ हजार ५४८ उडान भएका छन् । एकै दिन १९ हजार २५५ हवाई यात्रु विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिक तर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन् । जसमध्ये ९ हजार ९३६ हवाई यात्रु काठमाडौं भित्रिए भने ९ हजार १३८ बाहिरिएका छन् । १८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेका छन् । उक्त दिन आन्तरिक तर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए । आकडा अनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाई यात्रा गरेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाई यात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताए । यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ । दशैंको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । ‘दशैंको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको ३/४ दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो,’ उनले भने, ‘बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ । शनिबारदेखि सामान्य अवस्थामा आउला ।’ बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ । कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ । उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दशैंको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताए । ‘दशैंमै एक्कासी परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो । गत वर्ष दशैं अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दशैंमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन । यो पटक हवाई यात्रा सकसपूर्ण रह्यो,’ उनले भने । क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए । यतीले अहिले दैनिक दुईतर्फी ६० देखि ७० उडान गरिरहेको छ । यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउँछन् । केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको बताए । टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उनले उल्लेख गरे । श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर अनुसार काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा १७ हजार ५७९ रुपैया र सबैभन्दा नजिक काठमाडौं-सिमरामा ३ हजार ९७८ रुपैयाँ रहेको छ । अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाई यात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो । हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो । बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले । उदाहरणका रूपमा धरानबाट काठमाडौं आउने बोलेरो जिपले साबिकमा २ हजार रुपैयाँ भाडा लिने गरेकामा दशैंमा ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म भाडा लिएको पाइयो । त्यसैगरी, कटारी–काठमाडौं साविकमा १ हजार २ सय रुपैयाँ भाडा थियो । अहिले यात्रुले ३ हजार रुपैयाँसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन् । हरेक वर्ष दशैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ । तर, दशैंमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ । हवाई यात्रुको चाप बढ्छ । सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाई यात्रुले सास्ती व्यहोर्दै आएका छन् । हवाई यात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।
संकटमा पर्दैछ डाक्टर, नर्स र फार्मेसी शिक्षा
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए । एमबीबीएस र बीडीएस कोर्ष उत्तीर्ण गरी लाइसेन्सको लागि परीक्षा दिएका १ हजार ७७ जना मध्ये ४ सय २१ जना अर्थात ३९.०९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । यस्तै, डेन्टल (बीडीएस) तर्फको नतिजा अझ ध्वस्त छ । बीडीएस तर्फ १ सय ८३ जना सहभागी भएकोमा जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै पास भए । काउन्सिलले अघिल्लो बुधबार र बिहीबार लिएको ७३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले चिकित्सातर्फको शिक्षामा ठूलो प्रश्न खडा गरेको छ । काउन्सिल भने यो भन्दा अगाडिको परीक्षामा अनुत्तीर्ण भएकाहरू संख्या बढी भएकाले नतिजा कमजोर आएको प्रतिक्रिया दिन्छ । यो पटकको नतिजामा मात्र होइन काउन्सिलले लिने हरेक पटकको लाइसेन्स परीक्षाको नतिजा कमजोर आउने गर्छ । चिकित्सकमा नेपालमा पढ्ने भन्दा विदेशबाट पढेर आएको संख्या अनुत्तीर्ण हुनेमा उच्च रहेको काउन्सिलको भनाइ छ । चिकित्सक दर्ता प्रमाणपत्रमात्र जस्तै नेपाल फार्मेसी परिषदले लिने लाइसेन्स परीक्षाको नतिजा पनि उस्तै निराशाजनक छ । गत असारमा लिएको फर्मासिष्ट (ब्याच्लर इन फार्मेसी) तर्फको नाम दर्ता (लाईसेन्स) परीक्षामा २६.४७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भए । परीक्षामा सहभागी ९ सय ३३ जना मध्ये २ सय ४७ जना अर्थात प्रतिशतको हिसाबमा भन्दा २६.४७ परिक्षार्थी मात्र नाम दर्ता गराउन सफल भए । बाँकी सबै अनुत्तीर्ण भए। केही समयअघि लिइएको फर्मासिष्ट असिस्टेन्टमा पनि ४८ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए । त्यो भन्दा अगाडि लिइएका फर्मासिष्ट नाम दर्ताको नतिजा हेर्ने हेर्दा पनि पासदर प्रतिशत निकै कम देखिन्छ । कहिले ११.७५ प्रतिशत, कहिले १०.२० विद्यार्थी मात्र फर्मासिष्ट नामदर्ता परीक्षामा सफल भएको पाइन्छ । २०८० सालपछिको नतिजा हेर्ने हो भने फार्मेसी पढेका विद्यार्थीको नाम दर्ता परीक्षा ६० प्रतिशत विद्यार्थी पनि पास भएको पाँइदैन । आखिर किन अहिले चिकित्सा क्षेत्रमा प्रश्न खडा भएको छ । गत असारमै लिएको नर्सिङ लाइसेन्स परीक्षामाको नतिजा हेर्ने हो भने अवस्था अझ नाजुक छ । सार्वजनिक नतिजा अनुसार नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत विद्यार्थीमात्र पास भए । प्रवीणता प्रमाणपत्र तह (पिसिएल) तहको नाम दर्ता लाइसेन्स परीक्षामा ९ सय ११ जना सहभागी भएकोमा १ सय ७७ जना अर्थात् १९.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको पाइएको छ । प्रवीणता तहको नाम दर्ता परीक्षामा ८१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा बिएस्सी नर्सिङमा भने ६२ प्रतिशत पास भएका थिए । ् परीक्षामा सहभागी ३ सय २७ जना मध्ये २ सय तीन जना नाम निकाल्न सफल भएका थिए । विगतमा नर्सिङ परीषदले लिँदै आएको नाम दर्ता परीक्षामा पनि नतिजा सोचे जस्तो राम्रो आएको पाइँदैन । नर्सिङ नाम दर्ताको नतिजाले पनि नर्सिङ शिक्षाको गुणस्तर नै खस्किएको हो भन्ने आशंका सिर्जना भएको छ । किन भइरहेको छ यस्तो ? आजभोलि चिकित्सा क्षेत्रका हरेक विषय नेपालमा पढाइ हुन थालेका छन् भने चिकित्सा शिक्षामा विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । विद्यार्थीको आकर्षणको मौका छोप्दै शैक्षिक व्यवसायीहरू जुरमुराउन थाले । धमाधम सीटीईभीटी वा चिकित्सा शिक्षा आयोगबाट दर्ता गर्दै शैक्षिक व्यवसाय सुरु गरिरहेका छन् । दक्ष जनशक्ति र आवश्यक मापदण्डबिना सञ्चालनमा आएका शैक्षिक संस्थाले चिकित्सा क्षेत्रको शिक्षा प्रणाली ध्वस्त भएको जानकारहरू बताउँछन् । पहिले शैक्षिक संस्था पनि कम थिए, शैक्षिक संस्थाले मापदण्ड पनि पुरा गरेका थिए, अहिले धमाधम संस्था खुलेका छन्, न दक्ष शिक्षक न आवश्यक पूर्वाधार, यसो हुँदा विद्यार्थी धेरै भए तर परिणाम राम्रो आउन नसकेको विज्ञहरुको भनाइ छ । ‘पढाइको गुणस्तरमा अध्यापन गराउने शिक्षकको ज्ञान गुणस्तर, पठाउने शैली तथा मौजुद स्रोत साधनहरूको भूमिका महत्त्वपूर्ण हुन्छ,’ फर्मासिसष्ट डा.मोहम्मदसफि उल्लाह भन्छन्, ‘इन्स्टिच्युट छन् व्यवहारिक गर्ने डिभाइस छैन, भने कसरी हुन्छ ? । शिक्षक छन्, उनीहरू पढाउनमा पनि राम्रा छन् तर विद्यार्थीलाई व्यवहारिक गराउन सक्ने अवस्था छैन । यस्ता कुराले पनि शिक्षाको गुणस्तरमा असर गर्छ ।’ उनका अनुसार गुणस्तरलाई प्रभाव पार्ने अर्को मुख्य विषय भनेको शिक्षा प्रणाली र त्यसको मापदण्ड को व्यवस्था पनि हो । तर नेपालमा मापदण्डको अनुगमन नै हुँदैन । नेपाल फार्मेसी परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डे फार्मेसी पढाइ हुने कलेजमा दक्ष जनशक्ति नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको बताउँछन् । उनी भन्छन्, ‘कानुन अनुसार एउटा बीफार्मेसीमा ३० देखि ४० वटा सिट भएको कलेजमा ६ जना पूर्ण समय र एक जना कोर्डिनेटर हुनुपर्छ, अहिले हेर्ने हो भने कागजमा होला नहोला थाहा छैन, तर कुनै कलेजमा तीन जना त कुनैमा दुईजना अनि कुनैमा चारजना छन् । यस्तो अवस्थामा गुणस्तरीय शिक्षा दिने मान्छे नै छैन भने फार्मेसीमा गुणस्तरीय शिक्षामा ती विद्यार्थीले पाउँछन् भन्ने कुरा स्वीकार्न सकिँदैन ।’ नेपाल नर्सिङ परिषदका अध्यक्ष प्राध्यापक सरला केसी अहिले पनि अस्पताल नभएका कलेजहरूले शिक्षा दिइरहेको बताउँदै शैक्षिक संस्थाले नै पढाइ कमजोर बनाउँदै लगेको बताउँछिन् । ‘थाहा छैन, कुन दलका नेताले च्यापेका छन् । यस्ता कलेजले व्यवहारिक भन्दा सैद्धान्तिकमा जोड दिन्छन्,’ उनी भन्छिन्, ‘हामीले लिने लाइसेन्सको परीक्षा भनेको सैद्धान्तिक भए पनि प्राक्टिकल बेस कुरा धेरै आउँछ । किनभने लाइसेन्स लिएको भोलिपल्ट नर्सले प्राक्टिकल गर्नुपर्छ । त्यो बेला सिद्धान्त भनेर त हुँदैन । जो मापदण्ड नपुगेका कलेजहरू छन् उनीहरूले उत्पादन गरिरहेका नर्सहरूमा बढी समस्या देखिएको छ ।’ नसिर्ङ कलेज सञ्चालन गर्न सय बेडको अस्पताल अनिवार्य गरिए पनि नियम अनुसार कलेज सञ्चालन नहुँदा यो समस्या आएको उनको भनाइ छ । उनी बीएस्सी पढाउने काठमाडौं उपत्यका भित्रकै कलेजहरूमा पनि अस्पतालमा नटेकाइकन बच्चाहरुलाई नर्सिङ पढाइरहेको बताउँछिन् । अवस्था नर्सिङ कलेजहरूमा पनि उस्तै छ । नर्सिङ पढाइ हुने शैक्षिक संस्थाको संख्या पनि बढ्दै गएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त ६७ वटा शैक्षिक संस्थाले प्रविणता तहको पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्तै बिएनएस पढाइ ५१ वटा कलेजमा भइरहेको छ भने बिएससी नर्सिङ कार्यक्रम ६१ वटा शैक्षिक संस्थामा पढाइ भइरहेको छ । यस्तै पाँच वटा कलेजमा मास्टरका कार्यक्रम पढाइ भइरहेका छन् । नर्सिङ शिक्षामा पाठ्यक्रमको पढाइ भन्दा पनि व्यवहारिक कार्यक्रम बढी नहुँदा अवस्था कमजोर भइरहेको नर्सिङ क्षेत्रका जानकारहरू बताउँछन् । एक सय शैया बेडको अस्पताल भएकाहरूले मात्र नर्सिङ कलेज सञ्चालन गर्नुपर्ने भनिए पनि अस्पताल नभएकाहरूले समेत कलेज सञ्चालन गर्दा नर्सिङ पढ्ने विद्यार्थीले प्रयाक्टीकल गर्न नपाउँदा अवस्था यस्तो भएको हो । कति छन् कलेज ? कुनै समय चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी भारत, बंगलादेश लगायतका विभिन्न देशमा जानुपर्ने अवस्था थियो । नेपालमा शिक्षालयको संख्या निकै कम थियो । शैक्षिक संस्थाको अवस्था फेरिए पनि विद्यार्थी विदेश पढ्न जानुपर्ने अवस्था भने अहिले पनि उस्तै छ । नेपालमा अहिले २७ वटा कलेजमा एमबीबीएस र १५ कलेजमा बिडीएस पढाइ हुने गरेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार ४२ वटा शैक्षिक संस्थाले अनुमतीपत्र लिएका छन् । नर्सिङ कलेजको संख्या पनि बढ्दो छ । हाल नेपालमा आंगिक, साझेदारी र निजी गरी ६२ १ सय ७२ बढी छन् । फार्मेसी शिक्षाको कुरा गर्ने हो भने नेपालमा अहिले १ सय १६ शैक्षिक संस्थाले सिटिइभिटीबाट मान्यता लिएर डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमा कोशी प्रदेशमा २०, मधेसप्रदेशमा २३, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ८ वटा शैक्षिक संस्थाले डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १० वटा शैक्षिक डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन भइरहेको छ । यस्तै २७ वटा कलेजमा ब्याचलर्स अफ फार्मेसी कार्यक्रम सञ्चालन भइरहेको छ भने चार वटा कलेजमा मास्टर अफ फार्मेसी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । बढ्दो शैक्षिक संस्था र त्यसमा प्रयोग हुने जनशक्ति कमजोर हुँदा फार्मेसी शिक्षाको गुणस्तरमा कमी आएको फर्मासिष्टहरू बताउँछन् ।
पहेँलो धातुले रातो बनायो नेप्से
काठमाडौं । दसैँको विदा हुनुभन्दा अगाडि अर्थात् गत असोज १२ गते ४४ खर्ब ५२ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ थियो, बजार पुँजीकरण अर्थात् लगानीकर्ताहरुको सेयर सम्पत्ति । तर, मंगलबार (असोज २२ गते) को बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ९५ करोड ६७ लाख रुपैयाँमा झरेको छ । मंगलबार र बुधबार मात्रै लगानीकर्ताहरुले १ खर्ब ७३ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ गुमाइसकेका छन् । दुई दिनको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०३.९२ अंक घटिसकेको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंक र बुधबार ४५.३६ अंक घटेर नेप्से परिसूचक २ हजार ५५९.५९ अंकमा झरेको छ । दसैँ अगाडि अर्थात् गत असोजमा नेप्से सूचक २ हजार ६६३.५१ अंकमा थियो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भयो । गत असोज १२ गते सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३६० रुपैयाँ थियो । १० दिनको अवधिमा सुनको मूल्य प्रतितोला ४६ हजार ६४० रुपैयाँ बढिसकेको छ । यसरी सुनका लगानीकर्ताहरुले तोलामै हजारौं रुपैयाँ फाइदा लिइरहँदा सेयर लगानीकर्ताहरु पनि सुनतिरै आकर्षित भइरहेका छन् । जसले गर्दा सेयर बजार घट्न पुगेको स्वयम् सेयर लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता देव गुरागाईँ पहेँलो धातुले नेप्से राताम्मे बनाएको बताउँछन् । ‘पहेँलो धातुको मूल्य एकाएक कहाँ पुगिसक्यो । तर, सेयर बजार जस्ताको त्यस्तै रह्यो । सेयर लगानीकर्ताहरू सुनमा डाइभर्ट भएका देखिन्छन् । त्यो त नतिजा पनि देखिसकेको छ । यतातिर (नेप्से) हुनुपर्नेमा उतातिर (सुन) गएर नतिजा देखिन थाल्यो । सेयर बजार सेलायो,’ उनले भने । उनका अनुसार जेनजी आन्दोलन र बाढी पहिरो बाहेक सबै माहोल राम्रो छ । पुँजी बजार सुधार सम्बन्धी प्रतिवेदनमा पनि विगतमा देखिएका अड्चनका विषय राखिएका छन् । सेयर बजारसा देखिएका अड्चन खुला हुने आँकलन गरिएको हुँदा लगानीकर्ताहरुले धैर्यता राख्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक अनिश्चितताले पनि सेयर लगानीकर्ताहरुमा निराशा छाएको छ । जे-जे हुने भनिएको छ, चुनाव लगायतमा अन्योलता छन् । साथै ठूलो अर्काे शक्ति संघर्ष हुने किसिमको माहोल पनि देखिन्छ । अब यसलाई कसरी स्पष्ट हुन्छ, आगामी दिनमा देखिएला । तर, तत्काललाई लगानी गरेर ढुक्क हुने अवस्था भने देखिँदैन,’ उनले भने, ‘बजारमा उथलपुथल हुँदा ट्रेडरहरुलाई ठिकठिकै होला । तर, ढुक्क भएर लगानी गर्ने वातावरण नभएकाले लगानीकर्ताहरु जुरमुराएका छैनन् ।’ ३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण आइसकेको हुँदा बरु सुनमा लगानी गर्नु उपयुक्त हुने उनको धारणा छ । सेयर बजार पनि २५ सयको बटम लाइन रहेकाले धेरै नघट्ने उनले बताए । ‘२५ सयको बटम लाइन हो । तर, बढ्छ भन्नका लागि ३ हजार अंकमाथि गएपछि मात्रै हो । ३ हजार र २५ सयमा धेरै ठूलो ग्याप छ । वियरिसमा नजओस भन्ने हो । यदि वियरिसमा गयो भने ठूलो प्यानिक हुन्छ ।’ लगानीकर्ता राजु पौडेल पनि सेयर लगानीकर्ताहरु सुन बजारमा डाइभर्ट भएको बताउँछन् । तर, सुन मात्रै फ्याक्टर नभएर अन्य विभिन्न घटनाहरूले गर्दा पनि बजार ओरालो लागेको उनको भनाइ छ । ‘सुन मात्रै बढ्न थाल्यो । सबै सुनतिर लागेको जस्तो देखिन्छ । ठ्याक्कै सुन बढेर बजार घटेको भन्ने पनि होइन । विगतमा पनि यसरी सुन बढ्दा बजार घटेको देखिँदैन । तर, वित्तीय चेत भएका मान्छेहरूले पोर्टफोलियो डाइभर्सिफिकेसन गर्ने जमर्को गर्छन्,’ उनले भने, ‘जस्तो सेयर बजार घट्दा सुनतिर सिफ्ट हुने, बैंकको ब्याजदर बढ्दा सेयर बेचेर एफडीमा राख्ने गरेका छन् । तर, अहिले पूरै त्यस्तो ट्रेण्ड भने होइन ।’ उनका अनुसार जेनजी आन्दोलन पछि देशमा ठूलो उथलपुथल भयो । निर्वाचन गर्नका लागि अन्तरिम सरकार बनेपनि विदेशी चलखेल लगायत विभिन्न टीकाटिप्पणीले लगानीकर्ताहरुमा नकारात्मक असर परेको उनको भनाइ छ । साथै, अझै ठूला आन्दोलन गर्ने भन्ने विषयले पनि लगानीकर्ताहरुमा अन्योलता कायम रहेको उनले बताए । ‘जेनजीहरुले हाम्रा मागहरु पुरा भएनन्, हाम्रा माग पूरा गर्नका लागि फेरि देशव्यापी रुपमा आन्दोलन गर्ने भनिरहेका छन् । साथै, दसैँ लगत्तै पूर्वी नेपालमा भीषण बाढी पहिरोले धेरै हाइड्रोपावरहरु तहसनहस भए । जसले निर्जीवन बीमालाई पनि प्रभाव परेको छ,’ उनले भने, ‘जेनजी आन्दोलन र रसुवामा आएको बाढीले निर्जीवन बीमा कम्पनी थाले परेका थिए । अहिलेको बाढीले पनि फेरि निर्जीवनतर्फ असर गर्दा निर्जीवन बीमा र हाइड्रो सेक्टरमा प्रेसर आउँदा समग्र बजार नै दबाबमा देखिएको हो ।’ चुनाव हुन्छ की हुँदैन भन्ने अहिले पनि अन्योलता रहेको बताउँदै उनले भने, ‘तिहार पछि ठूला आन्दोलन गर्ने भनेर पार्टीहरू सुनिएको छ । राजावादी, दुर्गा प्रसाई लगायत समूह पनि सडकमा आउने भनेपछि लगानीकर्ताहरुको मनोबल कमजोर भएको हो । यसकारण नै बजारमा गिरावट आएको देखिन्छ ।’