अलपत्र यात्रुलाई चितवनका होटलहरूले ७५ प्रतिशत छुट दिने, राजमार्ग पूर्ण रूपमा बन्द
काठमाडौं । चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ । सरोकार भएकाहरूसहित आज जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्ला भरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उहाँले बताए । निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । होटल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताए । उनले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताए । चितवनको मुग्लिङ, नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटलमा छुट सुविधा लिएर बस्न सक्ने छन् ।
प्रधानमन्त्रीको सन्देश: नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता, जहाँ हुनुहुन्छ सुरक्षित रहनुस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताएकी छिन् । अविरल वर्षापछि बाढी पहिरो जाने क्रम जारी रहेका बेला प्रधानमन्त्री कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताइन् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्न उनले आग्रह गरिन् । ‘तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस् । हामी तपाईंहरूको चिन्ता र कठिनाइलाई बुझ्छौँ । तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरुसँगै छन्,’ भिडियो सन्देशमा भनिएको छ, ‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ । निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ । वर्षाका कारण बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेकाले परिस्थिति अझै बढ्न सक्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले यो चुनौतीपूर्ण समयमा सबै नागरिकलाई आश्वस्त पार्न खोजेकी छिन् । साथै सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको उनले बताइन् । ‘नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवा दायी निकायहरू आपतकालीन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा छन्,’ उनले भनिन्, ‘महत्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानीमा छन् । तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस् ।’
सराय नाच ५ जिल्लाको वीरता, पर्यटन र अर्थतन्त्रको सम्भावना
काठमाडौं । दसैँसँगै पश्चिम नेपालको लुम्बिनी प्रदेशका गाउँघरमा केवल पूजा र बलि मात्र होइन, ढोलक-झ्याली, नरसिंगा र तुरीको गुन्जन पनि सुनिन्छ । ढाल-तरबार चम्काउदै युवाहरू पच्ने बाजाको तालमा रमाउने सरायको दृश्य यो क्षेत्रको दसैँको विशेषता हो । यहाँ उपत्यका र पूर्वमा जस्तो दसैँको पाँचै दिन टीका लगाइँदैन । दशमीको दिन अबेरसम्म टीका लगाएपछि एकादशीको दिनबाट सुरु हुन्छ, सराय मेला । लुम्बिनीका गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठान सहित गण्डकीको बागलुङमा सराय नाचको बेग्लै रौनक रहन्छ । सराय नाच कुनै साधारण नाच होइन । यो त शताब्दीअघिदेखि चल्दै आएको बिरता र आत्मीयता प्रदर्शन गर्ने नाच भएको संस्कृत विद्हरूको मान्यता रहेको छ । गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र बागलुङका गाउँमा यो नाच अझै पनि दसैँको आत्मा बनेर जगेर्ना गरिँदै आएको संस्कृत विज्ञ डा. हरी प्रसाद भण्डारी बताउँछन् । पछिल्लो समय सराय पहाडबाट तराई तिर पनि ओर्लिएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र बागलुङका पहाडबाट तराई ओर्लिएर रुपन्देही, कपिलवस्तु, नवलपरासी मात्रै होइन गण्डकीको नवलपुर र बागमतीको चितवनसम्म सराय फैलिएको छ । ऐतिहासिक जरा युद्ध कला र श्रद्धाको संगम लोककथाअनुसार, देवी दुर्गाले असुरमाथि विजय प्राप्त गर्दा आफ्ना भक्तहरूलाई युद्ध कला सिकाएको नाट्य सीप नै कालान्तरमा सराय भएको उल्लेख भएको पाइन्छ । त्यही युद्ध कला आज सराय नाचको रूपमा बाँकी छ ।संस्कृत विज्ञ डा. भण्डारी भन्छन्, ‘सराय युद्ध कलाको प्रदर्शन नै हो । त्यति बेलाका हतियारले सज्जित भएर गरिने परेड प्रदर्शनले विपक्षी सेनामाथि मानसिक दबाव दिएर आफ्नो राज्य संरक्षण र बिस्तार गर्ने चलन कालान्तरमा सराय भएको हो । ढाल, तरबार हातमा लिएर नाचिने यस नाचमा युद्ध कलाको राम्रै प्रयोग भएको हुन्छ ।’ गुल्मीका संस्कृति विद् डा. भण्डारीका अनुसार सराय नाच युद्ध कला र संस्कृतिको संगम हो । यो केवल नाच मात्रै नभई सामूहिक स्मृति पनि हो । सराय नाचको सामरिक महत्व गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र बागलुङ लगायतका जिल्लामा दसैँको समयमा परम्परागत रूपमा नाचिने सराय नाच केवल धार्मिक तथा सांस्कृतिक मनोरञ्जन मात्र नभई सामरिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । स्थानीय इतिहासका जानकारहरूको भनाइमा, सराय नाच प्राचीन समयमा गाउँका युवालाई युद्ध कला र आत्मरक्षाकाे अभ्यास गराउने माध्यमका रूपमा विकास भएको हो । ढाल, तरबार, भाला जस्ता युद्धका प्रतीकात्मक हतियारसहित प्रस्तुत गरिने यो नाचले गाउँमा साहस, शक्ति र सुरक्षा चेतना फैलाउँछ । दसैँलाई शक्ति र विजयको पर्वका रूपमा मनाइने भएकाले पनि सराय नाचमा देवी-देवताको आराधना, असुरमाथि विजय र धर्मको रक्षा गर्ने सन्देश झल्किन्छ । समाजशास्त्री नारायण ज्ञवाली भन्छन्, ‘सराय नाच केवल नृत्य होइन, सामुदायिक एकता र सुरक्षाको अभ्यास हो । यसमार्फत गाउँलेहरूबीच सहकार्य, अनुशासन र सामूहिक जिम्मेवारीको भावना बलियो हुन्छ । यस नाचमा सहभागी हुने युवाले आफ्नो शारीरिक क्षमता मात्र देखाउँदैनन् उनीहरूले गाउँ र समाजको सुरक्षामा पनि आफूलाई सदैव तयार राख्ने संकेत दिन्छन्। । यही कारण दसैँमा सराय नाच हेर्न गाउँभरिका बासिन्दा भेला हुन्छन् । र, यो नाचलाई गौरवको रूपमा सम्मान गरिन्छ ।’ गुल्मी दसैँ मेलाको मुख्य आकर्षण गुल्मीको धुर्कोटमा प्रत्येक दसैँमा सराय नाचको निशेष तयारी हुन्छ । स्थानीय ७५ वर्षीय नरपति भण्डारी भन्छन्, 'हामी त सानैदेखि दसैँमा ढोलक बजेको सुन्नासाथ नाच हेर्न दौडिन्थ्यौँ । देवीलाई बलि चढाएपछि मात्र यो नाच सुरु हुन्थ्यो ।' गत वर्ष कोटमा एक हजार भन्दा बढी युवाले तलबार-ढाल झल्काउँदै नाच प्रस्तुत गरेको बताउँछिन् धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी । गाउँका वृद्ध-वृद्धा छेउमै बसेर ताल दिइरहेका थिए । गुल्मीमा यो नाचलाई देवीलाई खुसी पार्ने माध्यमका साथै सामुदायिक एकताको प्रतीक मानिने गिरीले बताइन् । अर्घाखाँची वीरताको प्रदर्शन अर्घाखाँचीको सन्धीखर्क अर्घामा दसैँको मेलामा सराय नाच विशेष आकर्षक हुन्छ । यहाँ तलबार ठोक्किने आवाजकै बीचमा दर्शक ताली बजाउँदै उत्साहित हुन्छन् । सरायका जानकार ६८ वर्षीय रामबहादुर परियार आफूले दसौँ पुस्तादेखि ढोल बजाउँदै आएको बताउँछन् । उनको चिन्ता अर्को पुस्ता तयार गर्न नसकेकोमा छ । उनि भन्छन्, 'अहिले उत्तराधिकारी पाउन गाह्रो भएको छ ।' अर्घाखाँचीका युवाहरूका लागि सराय नाच केवल मनोरञ्जन होइन, वीरता प्रदर्शन गर्ने अवसर पनि भएको बताउँछन् स्थानीय विष्णु चुदाली । उनि भन्छन्, 'गाउँका बूढापाका यसलाई आफ्नो शान भनी गर्व गर्छन्। ।' पाल्पा लोकधूनमा झनझन जीवन्त पाल्पाको तानसेन वरिपरि दसैँ मेलामा सराय नाचसँगै स्थानीय ढोलक र झ्यालीको ताल मिल्छ । यहाँ सराय नाचलाई कहिलेकाहीँ मारुनी नाचसँग मिसाएर प्रस्तुत गरिन्छ, जसले सांस्कृतिक विविधता झल्काउँछ । स्थानीय पत्रकार भगवान भण्डारी भन्छन्, ‘हामी सराय नाच हुँदा गीत गाउँछौँ र ताल दिन्छौं । यो हाम्रो दसैँको खुसी हो । यहाँको सरायमा महिलाको सहभागिताले पाल्पाको सराय नाचलाई अझै जीवन्त बनाएको छ ।’ प्युठान लामो तयारी र सामूहिक प्रतिबद्धता प्युठानमा दसैँ सुरु हुनु केही साताअघि नै युवाहरू समूह बनाएर सराय नाचको अभ्यास सुरु गर्छन् । स्थानीय २२ वर्षीय विद्यार्थी भोजेन्द्र घर्ती भन्छन्, 'विदेश जानुपर्ने बाध्यता भए पनि दसैँमा गाउँ फर्केर सराय नाच नाच्दाको रमाइलो अवर्णनीय रहने अनुभव घर्तीको छ । प्युठानमा नवमी र दशमीका दिन मन्दिरमा पूजा गरेर मात्र नाच सुरु हुन्छ । यहाँको सराय नाचलाई देवीको शक्ति र गाउँको ऐक्यबद्धताको प्रतीक मानिन्छ । बागलुङ बजारमा हरेक वर्ष दसैँको मेलामा हजारौं दर्शक सराय नाच हेर्न भेला हुन्छन् । स्थानीय क्लबहरूले प्रतियोगिता आयोजना गर्ने चलन बढ्दो छ । दसैँपछिको विजय उत्सवको ऐतिहासिक संस्कृति दसैँ सकिएको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म पश्चिम नेपालका अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान र बागलुङका शक्ति पीठ तथा कोटघरहरूमा विशेष माहोल देखिन्छ । बाजा-गाजा बज्छन्, ढाल-तरबार, खुकुरी, भाला बोकेका युवाहरू उत्साहपूर्वक नाच्छन् । वाख्खै हो भन्ने आवाज गुन्जिन्छ । यो दृश्य हो-सदियौं पुरानो सराय नाच को, जसलाई विजय, धर्म र सत्यको प्रतीक मानिन्छ । इतिहासकार र स्थानीय बूढापाकाका अनुसार सराय नाचको उत्पत्ति अर्घाखाँचीस्थित अर्घा भगवती मन्दिरसँग सम्बन्धित छ । करिब तीन सय वर्षअघि देवीले राक्षसलाई पराजित गरेको मिथकलाई स्मरण गर्दै विजय उत्सवका रूपमा यो नाच सुरु भएको विश्वास गरिन्छ । त्यस बेलाका राजा-दरबार र कोटघरहरूसँग यसको गहिरो सम्बन्ध थियो । नाचमा प्रयोग हुने हतियारहरूले युद्धको झल्को दिन्छन् । जसले देवीको शक्तिलाई सम्मान गर्ने र समुदायलाई एकताबद्ध गर्ने सन्देश दिन्छ । युग बदलिँदै जाँदा सराय नाचले सामाजिक-धार्मिक महत्व मात्र होइन, स्थानीय पहिचान र सांस्कृतिक निरन्तरता पनि प्रतिनिधित्व गर्न थालेको छ । दसैँको रमाइलो सकिएपछि गाउँ-घरमा भेटघाट, गीत-संगीत र सराय नाच मिसिँदा समाजभित्र सौहार्दता र एकताको वातावरण बन्ने गर्छ । सहभागीहरू नाचलाई केवल परम्परा मात्र होइन, आफ्नो गौरवका रूपमा अनुभव गर्ने गरेको बताउँछन् । तर, यो मौलिक परम्परा अहिले चुनौतीमा छ । नयाँ पुस्ता शहरतिर आकर्षित हुँदै जाँदा सराय नाचमा सहभागी हुने युवाको संख्या घट्दो छ । आधुनिक मनोरञ्जनका विकल्प बढेका कारण दर्शक र सहभागितामा कमी आएको स्थानीयहरू बताउँछन् । अर्कोतर्फ, हतियार प्रदर्शनसँग सम्बन्धित सुरक्षाजन्य चिन्ताले पनि नाचलाई जोखिममा पार्न थालेको छ । यद्यपि स्थानीय सरकार, मन्दिर समिति र समुदायले यसलाई जगेर्ना गर्ने प्रयास थालेका छन् । युवालाई प्रशिक्षण दिने, सांस्कृतिक मेलामा सराय नाच प्रस्तुत गर्ने र प्रचारमार्फत यसको आकर्षण बढाउने काम भइरहेको छ । सराय नाच जोगाउनु भनेको केवल एक नाचको परम्परा बचाउनु मात्र होइन, पश्चिम नेपालका समुदायहरूको साझा स्मृति, गौरव र ऐतिहासिक धरोहरलाई भविष्यसम्म पुर्याउनु पनि हो । यसरी, दसैँ सकिएपछि सुरु हुने सराय नाच केवल सांस्कृतिक प्रस्तुति मात्र होइन, विजय, विश्वास र पहिचानको जगेर्ना गर्ने ऐतिहासिक सम्पदा बनेको मान्यता राख्छिन् उपाध्यक्ष गिरी । गिरी भन्छिन्, 'हामीले सराय नाचलाई पर्यटनसँग जोड्ने योजना बनाएका छौं । यसले संस्कृतिलाई जोगाउँछ र आम्दानी पनि बढाउँछ ।' सराय नाचमा प्रयोग हुने बाजा र भेषभूषा डाक्टर भण्डारी भन्छन् ढोलक, मादल, झ्याली, नरसिंगा र तुरी सराय नाचका आत्मा हुन्। । सेतो वा रातो धोती, ढाका टोपी, रंगीन पटुका र कम्मरपट्टि लगाएर सजिएका युवाहरूले तलबार र ढाल चम्काउदा दृश्य युद्ध भूमिजस्तै लाग्छ । सामाजिक भूमिका सामूहिकता र ऐक्यबद्धता सराय नाचले गाउँमा सामाजिक एकतालाई बलियो बनाउने डा. भण्डारीले बताए । उनी भन्छन्, 'सबै उमेरका मानिस सहभागी हुन्छन् । बूढापाका ताल दिन्छन् । युवाहरू बाजा बजाउँछन् । महिलाहरू र युवाहरू नाच्छन् ।' शिक्षक राम बहादुर विष्टका अनुसार सराय नाचले एकताको भाव श्रृजना गर्छ । यस नाचले गाउँमा झगडा, विभाजन बिर्साउँछ र सबै एउटै तालमा रमाउँछन् । पुस्तान्तरणको संकट युवाहरूको विदेशप्रतिको आकर्षणले सराय नाचमा सहभागी हुनेको संख्या घटेको छ । कतिपय ठाउँमा ढोलक बजाउने उत्तराधिकारी छैनन् । 'हामी पछि यो परम्परा कसले जोगाउने हो भन्ने चिन्ता छ,' गुल्मीका ६५ वर्षीय ढोल गुरु धनबहादुर परियार भन्छन् । संरक्षण र सम्भावनामा पनि केही सकारात्मक पहल पनि भएका छन् । वडा अध्यक्ष केशवराज भण्डारीका अनुसार जिल्लाका विद्यालयहरूले दसैँको अवसरमा विद्यार्थीलाई सराय नाच सिकाउन थालेका छन् । गाउँपालिका र केही सामाजिक संस्थाहरूले सराय प्रतियोगिता गराउन थालेका छन् । पाल्पा र बागलुङमा स्थानीय क्लबहरूले प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्युठानका युवाहरूले फेसबुकमार्फत सराय नाचको भिडियो प्रचार गरेर नयाँ पुस्तालाई आकर्षित गर्न थालेका छन् । यसलाई पर्यटनसँग जोडेर प्रोत्साहन गर्ने तयारीमा रहेको बताउँछिन् उपाध्यक्ष गिरी । उनी भन्छिन्, 'सराय नाचले स्थानीय अर्थतन्त्रलाई पनि फाइदा पुर्याउन सक्ने गरी प्रवर्द्धनको काम भइरहेको छ ।' पुस्तान्तरणको आधारमा सरायको भविष्य सराय नाच दसैँको आत्मा हो । यो देवीप्रति श्रद्धा मात्र होइन, वीरता, इतिहास र सामुदायिक ऐक्यबद्धताको जीवन्त दस्तावेज पनि हो । गुल्मीका संस्कृति विद् ओम प्रसाद पाण्डे भन्छन्, 'दसैँ प्रत्येक वर्ष आउँछ । तर सराय नाच जोगाउन सकेनौं भने भोलि यो केवल किताबमै सीमित हुनेछ । त्यसैले नयाँ पुस्ताले सराय नाचलाई निरन्तरता दिनुपर्छ । विद्यालय, स्थानीय सरकार, सांस्कृतिक संघसंस्था र आम समुदाय सबै मिलेर यो धरोहरलाई बचाउन सके मात्र दसैँको आत्मा जीवन्त रहिरहनेछ ।'