बिर्सने बानी बढ्दै छ ? स्मरणशक्ति बढाउन रोजमेरी उपयोगी हुनसक्ने

काठमाडौं । पछिल्लो समय तनाव, अपर्याप्त निद्रा, असन्तुलित खानपान र अत्यधिक स्क्रिन प्रयोगका कारण कम उमेरमै स्मरणशक्ति कमजोर हुने समस्या बढ्दै गएको छ ।  यस्तो अवस्थामा रोजमेरी नामक सुगन्धित औषधीय जडीबुटी स्मरणशक्ति र मस्तिष्क स्वास्थ्यका लागि उपयोगी हुनसक्ने आयुर्वेद विशेषज्ञले बताएका छन् । विज्ञहरूका अनुसार रोजमेरीमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट तथा बायोएक्टिभ तत्वहरूले शरीर र मस्तिष्कलाई अक्सिडेटिभ तनावबाट जोगाउन सहयोग गर्न सक्छन् ।  रोजमेरी स्वस्थ जीवनशैलीको एक हिस्सा मान्नुपर्ने उल्लेख गर्दै विज्ञहरू यसलाई कुनै गम्भीर रोगको उपचारको विकल्पका रूपमा प्रयोग गर्न नहुने चेतावनीसमेत दिएका छन् । विभिन्न वैज्ञानिक अध्ययनले पनि रोजमेरीको सुगन्ध र यसमा रहेका सक्रिय तत्वले स्मरणशक्ति तथा एकाग्रतामा सकारात्मक प्रभाव पार्न सक्ने संकेत गरेका छन् । नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनमा प्रकाशित अध्ययनअनुसार रोजमेरीका केही यौगिकले मस्तिष्कका कोषिकाको संरक्षण गर्न र संज्ञानात्मक क्षमता सुधार्न सहयोग गर्न सक्छन् । यस्तै, नर्थम्ब्रिया विश्वविद्यालयको एक अध्ययनले रोजमेरीको आवश्यक तेलको सुगन्ध भएको कोठामा रहेका सहभागीहरूले स्मरणशक्ति परीक्षणमा राम्रो प्रदर्शन गरेको देखाएको छ ।  यद्यपि यस विषयमा अझ ठूलो स्तरका क्लिनिकल अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धानका अनुसार रोजमेरीमा पाइने कार्नोसिक एसिड, कार्नोसोल र रोजमारिनिक एसिड शक्तिशाली एन्टिअक्सिडेन्ट हुन् ।  यी तत्वले मस्तिष्कको सूजन कम गर्न, न्युरोनलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन तथा सिकाइ र स्मरण प्रक्रियामा महत्त्वपूर्ण मानिने एसिटाइलकोलिनको स्तर कायम राख्न सहयोग गर्न सक्ने अध्ययनहरूले देखाएका छन् । रोजमेरी स्मरणशक्तिमा मात्र सीमित छैन । अध्ययनहरूका अनुसार यसले पाचन प्रणालीलाई सक्रिय बनाउन, ग्यास तथा अपचको समस्या कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन तथा जोर्नीको सुन्नाइ र गठियाबाट हुने असहजता कम गर्न पनि सहयोग गर्न सक्छ । रोजमेरीको विशिष्ट सुगन्धका कारण यो विश्वभर लोकप्रिय छ । यसको तेल कपालको वृद्धि, चिन्ता कम गर्न तथा मनोदशा सुधार्न उपयोगी हुन सक्ने दाबी गरिँदै आएको छ ।  यही कारण औषधी तथा सौन्दर्य प्रशोधन उत्पादन गर्ने कम्पनीहरूले पनि यसलाई विभिन्न उत्पादनमा प्रयोग गर्दै आएका छन् । विज्ञहरूका अनुसार हालसम्मका अध्ययनले रोजमेरीका सम्भावित फाइदाबारे सकारात्मक संकेत दिएका भए पनि यसलाई स्मरणशक्ति बढाउने ‘चमत्कारी औषधी’ मान्न मिल्दैन ।  सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र मानसिक सक्रियतासँगै यसको प्रयोग गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ ।  साथै कुनै औषधि सेवन गरिरहेका वा सप्लिमेन्टका रूपमा रोजमेरी प्रयोग गर्न चाहने व्यक्तिले चिकित्सक वा आयुर्वेद विशेषज्ञको सल्लाह लिनुपर्ने विज्ञहरूको भनाइ छ ।

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।  सरकारले काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार (आज) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।

इन्टर्न चिकित्सकको भत्ता बढाउन नसकिने निजी मेडिकल कलेज सञ्चालकहरूको अडान

काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ता वृद्धि गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला निजी मेडिकल कलेज सञ्चालकहरूले हालको अवस्थामा भत्ता बढाउन नसकिने बताएका छन् । निजी मेडिकल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले विज्ञप्ति जारी गर्दै इन्टर्न चिकित्सकलाई भत्ता वृद्धि गर्न कानुनी वा नीतिगत आधार नरहेको दाबी गरेको हो ।  संस्थाले विद्यार्थीलाई उक्त माग राखेर आन्दोलन नगर्नसमेत आग्रह गरेको छ । विज्ञप्तिमा इन्टर्नसिप चिकित्सा शिक्षाको अनिवार्य शैक्षिक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई रोजगारीसँग तुलना गर्न नमिल्ने तर्क गरिएको छ । शैक्षिक अवधिमै विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले इन्टर्नसिप गर्नुपर्ने भएकाले यसका आधारमा थप भत्ता माग गर्नु उपयुक्त नभएको संस्थाको भनाइ छ । ‘एमबीबीएस तथा बीडीएस कार्यक्रममा विद्यार्थी भर्ना गर्दा लिइने शुल्कमा ट्युसन तथा अध्ययनसँग सम्बन्धित निर्धारित शुल्क मात्र समावेश गरिएको हुन्छ । इन्टर्नसिप शीर्षकमा छुट्टै कुनै शुल्क लिइएको छैन । त्यसैले हाल उपलब्ध गराइरहेको भत्ताभन्दा थप वृद्धि गर्न सकिने अवस्था छैन,’ विज्ञप्तिमा उल्लेख छ । संस्थाका अनुसार निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरूले इन्टर्न चिकित्सकलाई प्रोत्साहनस्वरूप मासिक १ हजार ५ सयदेखि १३ हजार रुपैयाँसम्म निर्वाह भत्ता उपलब्ध गराउँदै आएका छन् ।  तर, कुनै पनि प्रचलित कानुन, नियम वा मापदण्डले इन्टर्न चिकित्सकलाई अनिवार्य रूपमा निश्चित रकम भुक्तानी गर्नुपर्ने व्यवस्था नगरेको संस्थाको दाबी छ । इन्टर्न चिकित्सकमाथि श्रम शोषण भइरहेको भन्ने आरोपप्रति पनि संस्थाले असहमति जनाएको छ । इन्टर्न चिकित्सक कर्मचारी नभई अध्ययनरत विद्यार्थी भएकाले श्रम शोषण भएको भन्न नमिल्ने तर्क विज्ञप्तिमा गरिएको छ ।  साथै नेपाल मेडिकल काउन्सिलमा पूर्ण दर्ता प्राप्त चिकित्सक नभएसम्म इन्टर्न चिकित्सकलाई सेवामा कार्यरत चिकित्सकका रूपमा व्याख्या गर्न नमिल्ने संस्थाको भनाइ छ । पछिल्लो केही दिनयता इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ता वृद्धि, कार्यपरिस्थिति सुधार तथा श्रमको उचित मूल्यांकनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।  निजी मेडिकल कलेज सञ्चालकहरूको पछिल्लो धारणा सार्वजनिक भएसँगै इन्टर्न चिकित्सक र कलेज व्यवस्थापनबीचको विवाद थप चर्किने संकेत देखिएको छ ।