नेपाल बैंकका ग्राहकलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच सोमबार सम्झौता भएको हो । सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालमा बिरामी दर्ता (रजिस्ट्रेसन) र स्वास्थ्य परीक्षण (चेकअप) शुल्कमा शतप्रतिशतसम्म छुट पाउनेछन् । साथै अस्पतालका विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार उक्त सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सोअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गरिने दन्त तथा अन्य स्वास्थ्य सेवामा सहुलियतसहित गुणस्तरीय उपचार सेवा लिन सक्नेछन् । नेपालको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले आधुनिक प्रविधिमार्फत सेवा विस्तार गर्दै ग्राहकमुखी सेवा सुदृढ बनाउँदै लगेको पनि जनाएको छ ।

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो ।  शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन् । 

आमाको एउटा गल्तीले पनि बिग्रन सक्छ छोराछोरीको भविष्य

काठमाडौं । परिवारमा आमाबुबाबीच सम्बन्ध राम्रो नहुँदा त्यसको प्रत्यक्ष असर बालबालिकाको मानसिक तथा भावनात्मक विकासमा पर्न सक्ने विज्ञहरूले बताएका छन् । विशेषगरी छोराछोरी हुर्काउने क्रममा श्रीमान्को साथ नपाउँदा आमाले गर्ने केही सामान्य गल्तीले किशोर–किशोरीको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने उनीहरूको भनाइ छ । प्यारेन्टिङ कोचहरूका अनुसार यस्तो अवस्थामा आमाले सबैभन्दा पहिले बच्चालाई आफ्नो ‘भावनात्मक सहारा’ बनाउने गल्ती गर्नु हुँदैन । आमाबुबाको झगडापछि छोराले भित्रभित्रै बुबाप्रति नकारात्मक भावना पाल्न थाल्ने हुन्छ ।  उनीहरूका अनुसार बच्चा अभिभावकको सल्लाहकार वा भावनात्मक सहारा होइन । आमाले आफ्नो दुःख र वैवाहिक समस्याको बोझ बच्चामाथि राख्दा उसमा अपराधबोध, तनाव र बुबाप्रति आक्रोश बढ्न सक्छ । त्यस्तै, दोस्रो गल्तीका रूपमा आमाबुबाको विवादमा किशोर–किशोरीलाई न्यायाधीश बनाउने प्रवृत्तिलाई विज्ञहरू औंल्याउँछन् । ​​‘म ठीक कि तिम्रो बुबा ठीक ?’ वा ‘हेर, तिम्रो बुबा कस्ता छन्’ भन्ने जस्ता अभिव्यक्तिले बच्चालाई दुई अभिभावकमध्ये एक पक्ष रोज्नुपर्ने मानसिक दबाब सिर्जना गर्ने उनीहरूको भनाइ छ । विज्ञका अनुसार यस्तो अवस्थालाई ‘लोयल्टी कन्फ्लिक्ट’ भनिन्छ, जसले बालबालिकामा असुरक्षा, तनाव र भावनात्मक द्वन्द्व बढाउन सक्छ । वास्तवमा बच्चालाई आमा र बुबा दुवैको माया र साथ आवश्यक पर्ने उनीहरू बताउँछन् । त्यसैगरी, बुबाको कमी पूरा गर्ने नाममा बच्चाप्रति अत्यधिक संरक्षणात्मक (ओभरप्रोटेक्टिभ) बन्न नहुने पनि विज्ञहरू बताउँछन् । उनीहरूका  अनुसार कतिपय आमाले श्रीमान् कठोर वा पालनपोषणमा सक्रिय नभएको अवस्थामा बच्चाको हरेक इच्छा पूरा गर्ने प्रयास गर्छन् । तर यसले बच्चामा अनुशासन, जिम्मेवारी र आत्मनिर्भरता विकास हुन बाधा पुग्न सक्छ ।  किशोर–किशोरीलाई माया मात्र होइन, स्पष्ट सीमा, अनुशासन र सही मार्गदर्शन पनि उत्तिकै आवश्यक हुने बताउँदै पारिवारिक समस्याको असर उनीहरूको मानसिक स्वास्थ्यमा नपर्ने गरी अभिभावकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा विज्ञहरू जोड दिन्छन् ।  एजेन्सीको सहयोगमा