५५४ घन्टापछि अनशन स्थगित, देश रोएका बेला अनशन लम्व्याउनु उचिन लागेनः डा.केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीले २३औँ दिन अर्थात् पाँच सय ५४ घन्टापछि अनशन स्थगित गरेका छन् । बाढीपहिरोले देशमा आइपरेको विपत् र त्यसले उत्पन्न हुने प्रकोप न्यूनीकरण गर्न समग्र राज्यको ध्यान केन्द्रित हुनुपर्ने भन्दै केसीले अनशन स्थगित गरेका हुन् । मंगलबार साँझ शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी केसीले आफूले अनशन तोडेको नभई केही समयका लागि स्थगित मात्रै गरेको बताए । उनले भने, ‘कसैले डरायो र अनशन तोड्यो भन्लान्, तर होइन । अविरल वर्षाबाट ठूलो जनधनको क्षति भएको समयमा मैले अनशनलाई निरन्तरता दिन उचित ठानिनँ । त्यसैले केही समयका लागि स्थगित गरेको हुँ । नागरिकले सहज स्वास्थ्य शिक्षा सेवा नपाएसम्म मेरो अनशन जारी रहन्छ ।’ बाढीबाट जनजीवन सामान्य भएपछि अनशनलाई निरन्तरता दिने डा। केसीले बताए । माथेमा कार्यदलको सुझाव अनुसार विधेयक पास नगरी तोडमोड गर्न खोजिए पुनः अनसन बस्ने चेतावनी पनि उनले दिए । २३ दिन अनसन बसेका केसीको स्वास्थ्य बिग्रीएको भन्दै मंगलबार साँझ आइसियुमा भर्ना गरिएको छ । जनता र विद्यार्थीमुखी ऐन ल्याएरै छाड्ने अनसनरत डा। केसीले माफियाहरुलाई परास्त पार्दै जनता र विद्यार्थीमुखि ऐन ल्याएर छाड्ने स्पष्ट पारे । ‘जनताले तिरेको करबाट सभासदहरुले तलब भत्ता खाएका छन्’ केसीले भने, ‘तर, जनताको स्वाथ्य र शिक्षाको विषयमा मौन छन् । यस्तो घृणित कार्यमा लिप्त रहेका सभासदहरुलाई ठेगान लगाउन पनि हाम्रो आन्दोलन आवश्यक छ ।’ निजी मेडिकल कलेज किन्न समिति डा। केसीको सर्तअनुसार मनमोहन मेडिकल कलेजसहित निजी मेडिकल कलेज खरिद गर्न सरकारले मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै समितिमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थसचिव र सार्वजनिक खरिद कार्यालयका सचिवहरुको समिति बनाईएको छ । नयाँ पत्रिका दैनिकबाट ।

अनशनका १३६ दिन, नागरिकको स्वास्थप्रति वेवास्था: सम्झौता ९ पटक, कार्यान्वयन शून्य

काठमाडौं । माग एउटै ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस्।’ तर त्यत्तिका लागि प्रा।डा। गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन्। २०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ। प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन पनि गरिए।   पछिल्लो ११औं अनशन शुक्रबार १९ दिन पुगेको छ। माग पूरा हुने वातावरण अझै बनेको छैन। अनशनका श्रृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन्। बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउँछन्। अघिल्लो पटकको सत्याग्रहमा उनी २२ दिन अनशन बसेका थिए। डा।केसीको पहिलोदेखि चौथोसम्मको अनशनमा प्रमुख माग वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति गरियो। त्यसताका संस्थानमा राजनीतिक भागबण्डाका आधारमा डिनलगायत पदाधिकारी नियुक्त हुन्थे। उनको आन्दोलनकै कारण संस्थानमा डिन नियुक्ति वरिष्ठता र स्वच्छताका आधारमा गर्न थालियो। बिच–बिचमा उल्लंघन गरिँदा केसीको त्यो माग अझै कायमै छ। कान्तिपुर दैनिकबाट ।

भाइरलका बिरामी बढे

इलाम । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविक भन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि दिनहुँ भाइरलका बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्ने लगायतका भाइरलका बिरामीको चाप बढेको हो । इलाम अस्पतालमा मात्र उपचारका लागि दैनिक १५० बिरामी आउन थालेको हेल्थ असिस्टेन्ट गणेश रिजाल बताउाछन्। “आकस्मिक उपचारका लागिमात्र दैनिक ५०/६० जना आइरहेका छन्”, उनले भने, “ओपिडीमा त्यसको दोब्बर बिरामी आउँछन् ।” स्वास्थ्यकर्मी र औषधिको अभाव नभए पनि बिरामीलाई राखेर उपचार गराउन शय्याको अभाव भएको छ । “पचास शय्याको अस्पताल भए पनि बिरामीको चापले शय्यामा राखेर उपचार गर्न गाह्रो परेको छ”, मेडिकल अधिकृत विजय फुयाँलले भने, “प्रसूतिका बिरामी पनि उत्तिकै हुने र शय्या पनि भरिएकाले धेरैलाई उपचार गराउँदै घर पठाउनुपरिरहेको छ, बिरामीले आराम गर्नसमेत पाएका छैनन् ।” मौसम परिवर्तन, खानपान र दूषित पानीका कारण रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हावा, पानी लगायतबाट रोग सर्ने भएकाले एउटा परिवार वा समूहमा बस्ने एकजनामा रोग देखापरे अरूलाई पनि सर्छ । यस्ता बिरामीले पानी उमालेर मात्र पिउनुपर्ने, मुख छोप्नुपर्ने र झोलिलो पदार्थ धेरै खानुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिन थालेका छन् । इलाम अस्पतालसहित प्याङ, मंगलबारे, फिक्कल र पशुपतिनगरका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप बढेको छ । रासस –––––––