तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार, पुरस्कार राशी ११ लाख अमेरिकी डलर
स्टकहोम । सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ । मानिसको शरीरले पनि बिहान घाम उदाउँदा, दिउसो र साँझ अथवा घाम अस्ताउँदा के कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा उनीहरुको अनुसन्धान केन्द्रित रहेको थियो । तीन जना अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार बिजेताका रुपमा घोषणा गरिएको उक्त समितिले सोमबार जनाएको छ । वैज्ञानिकहरू जेफरी सि.हल, माइकल रोजब्यास र माइकल डब्ल्यु.याङ्ले ‘सकार्डियन रिदम’ बारे गहन अनुसन्धान गरेका थिए । उनीहरुको यो संयुक्त अनुसन्धानका लागि यस पुरस्कार पनि संयुक्त रुपमा दिइएको छ । ‘सकार्डियन रिदम’ भनेको मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो । यसबाट मानव स्वास्थ्यमा सुधार र यस विषयमा आगामी दिनमा गरिने अनुसन्धानका लागि ठूलो योगदान दिने नोबेल पुरस्कार समितिले जनाएको छ । उनीहरुको अनुसन्धानअनुसार मानव शरीरले समयअनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्ने गर्दछ । यसैका कारण राति मानिसलाई निद्रा लाग्छ भने बिहानीको समयको पनि शरीरको घडीले नै जानकारी दिन्छ र निद्राले छोड्छ । यस बायोलोजिकल क्लकले मानिसको मनको भाव (मुड), तापक्रम र विभिन्न हर्मोनहरुको अवस्थाको बारेमा पनि निर्धारण गर्ने गर्छ । पुरस्कार छनोटसम्बन्धी नोबेल समितिका सदस्य जुलिन जिराथले सोमबार स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा भने – यस चिकित्साशास्त्रतर्फको यस बर्षको यो अनुसन्धान महत्वपूर्ण हो यस अनुसन्धान र ती बैज्ञानिकहरु नोबेल पुरस्कार प्राप्त गर्न योग्य छन् । यस अनुसन्धानबाट मानिस निकै टाढाको यात्रामा रहेका बेला पनि एक महादेशदेखि अर्काे महादेशमा जादा समयमा पर्ने फरक र परिवर्तित समयका कारण शरीरले थाहा पाउने चाललाई यसले सहज बनाउने छ । त्यस्तै जहाजको लामो यात्राका क्रममा पनि शरीरलाई ‘जेट ल्याग’ हुने जस्ता शारीरिक प्रतिक्रियाको मापनमा पनि यो अनुसन्धानले सहयोग गर्ने र यसले मानवको स्वास्थ्य समृद्धिमा सहयोगी सिद्ध हुने पनि जिराथले जानकारी दिए । यो शारीरिक चाल मानिसमा मात्र नभएर बोटबिरुवा, प्राणी तथा अन्य जैविक वस्तुहरुमा पनि देखिने गरेको उनीहरुको अनुसन्धानबाट पत्ता लागेको उल्लेख छ । यो पुरस्कारको राशी ११ लाख अमेरिकी डलर छ । रासस
डा गोविन्द केसी फेरि अनशनमा
काठमाडौ । त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह अनशन शुरु गरेका छन् । महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गरेका हुन् । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गरेका हुन् । यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम शुरु हुने भनिएको थियो । माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने केसीका माग रहेका छन् । यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन् । डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउदै अाएका छन् ।
चिकित्सकको चरम लापरवाहीले विरामीको मृत्यु भएमा अनुसन्धान हुने
काठमाडौं । चिकित्सकको चरम लापरवाहीका कारण विरामीको अंगभंग वा मृत्यु भएमा स्वतन्त्री निकायबाट अनुसन्धान हुने भएको छ । अस्पतालमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु हुने घटना बढेपछि सरकारले अनुसन्धान गर्ने भएको हो । विरामीको मृत्यु भएमा क्षतिपूर्ति र यस्तै पेशागत तथा व्यवसायिक बीमा लागु गर्न पनि मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।