स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु
चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३/७४ को कात्तिक महिनामा तीनजना र भदौ महिनामा एकजनाको स्क्रब टाइफसका कारण मृत्यु भएको उनले बताए । मृत्यु हुनेमध्ये तीनजना चितवनका र एकजना तनहुँका थिए । गत असार महिनामा मात्रै १३७ जनाको रगत परीक्षण गर्दा पाँचजनामा यो रोगको संक्रमण देखिएको थियो भने अघिल्लो वर्षको सोहि अवधिमा ३१ जनामा यसको संक्रमण देखिएको थियो । आव २०७२/७३ मा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको थियो । साउन महिना लागेपछि संक्रमण बढ्दो छ । गत एक सातामा १३ जनामा रोगको संक्रमण देखिएको केसीले बताए । भरतपुर अस्पतालमा आठजना, नारायणी सामुदायिकमा चारजना र बकुलहर अस्पतालमा एकजनामा संक्रमण देखिएको हो । ती अस्पतालमा ५४ जनाको रगत परीक्षण गरिएको थियो । यसैबीच जिल्लामा स्क्रब टाइफस रोग पत्ता लगाउन गरिने ल्याब परीक्षणको किट अभाव भएको छ । केसीका अनुसार थप किटका लागि विभागमा पत्राचार गरिएको छ । माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको संक्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने हुन्छ । यसको नियन्त्रणका लागि विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग संक्रमण पुष्टि भएको थियो । रोग पत्ता लागेमा उपचार सहज रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजय झाले जानकारी दिए । रासस
सुर्तीजन्य पदार्थमा कर बढेन, मृत्यु बढ्यो
काठमाडौं । सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ । विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायत लगायतका देशमा हालै गरिएको अध्ययनले ती पदार्थमा १० प्रतिशतसम्म कर वृद्धि गर्दा पनि निम्नवर्ग तथा मध्यम वर्गले सुर्ती सेवनमा उल्लेख्य मात्रामा कमी आएको तथ्य बाहिर आएको छ । ती वर्गका नयाँ पुस्ता अर्थात् युवामा सुर्तीजन्य पदार्थको पहुँच कम हुँदा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको प्रतिवेदनले जनाएको छ । अमेरिकन क्यान्सर सोसाइटीका आर्थिक र स्वास्थ्य नीति अनुसन्धान विभागका उपाध्यक्ष जेफ्री ड्रपीले भने, “सुर्तीजन्य पदार्थमा १० प्रतिशतमात्र कर वृद्धि गर्दा यसको उपभोगमा चारदेखि आठ प्रतिशतसम्म घटेको देखियो ।” अध्ययनमा समेत संलग्न रहेका अनुसन्धानकर्ता ड्रपीले सुर्तीजन्य पदार्थमा करको दायरा बढाउँदा स्वास्थ्यको समग्र बजेटमा वृद्धि भएको देखिएको जानकारी दिए । पछिल्लो समय नसर्ने रोगअन्तर्गत सुर्तीजन्य पदार्थ सेवन आफैँमा मा गम्भीर रोगका रुपमा विकसित हुँदै गएको छ । यसको सेवनले शरीरका प्रत्येक कोषमा असर पुर्याउँछ । क्यान्सर, रक्तचाप, क्षयरोग, निमोनिया, मस्तिष्काघात, हृदयघात जस्ता रोगका प्रमुख कारक तत्वका रुपमा सुर्तीजन्य पदार्थ विकसित भइराखेको छ । उपाध्यक्ष ड्रपीले जनस्वास्थ्यको प्रमुख समस्या एवं विभिन्न रोगको प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ सेवन नै देखिएको जानकारी दिए। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथामका लागि विश्वभर काम गर्दै आएको सिंगापुरस्थित दी युनियनले विश्व स्वास्थ्य सङ्गठनसित मिलेर गरेको अध्ययन अनुसार नेपालमा प्रत्येक दिन ४२ देखि ६८ जना तथा वर्षमा १६ हजार देखि २५ हजार जनासम्मको अकालमा मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ सेवन नै भइराखेको देखिएको थियो । दी युनियनका उपक्षेत्रीय निर्देशक प्रा डा तारासिंह बम निम्न तथा मध्यम वर्गमा सूक्ष्म मृत्यु साइलेन्ट किलरका रुपमा सुर्तीजन्य पदार्थ सेवन विकसित भइराखेको बताउँछन् । उनीप्रश्न गर्छन् -“क्यान्सर अस्पताल खोल्नुप¥यो भनेर बहस हुन्छ, रोग नै लाग्न नदिन किन नीति निर्माता र सरकारको ध्यान जाँदैन ।” तेइस वर्षमा पनि कर त बढेन, विनियोजित रकम पनि ‘फ्रिज’ अर्थमन्त्रालयले सन् १९९३ मा पहिलोपटक चुरोटको प्रतिखिल्लीमा एक पैसा थप कर लगाउन सुरु गरेको थियो । यसको प्रभावकारी कार्यान्वयन भएपछि पछिल्लो वर्ष दुई पैसा करको दायरा बढाएको थियो तर यसपछि हालसम्म करमा वृद्धि भएको छैन । अतिरिक्त करबाट स्वास्थ्य सेवा कर कोषमा वर्षेनी रु १२ अर्बभन्दा बढी रकम संकलन हुने गर्छ । संकलित रकममध्ये गत आवमा अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रु ४० करोड मात्र विनियोजन गरेको थियो । सो रकममध्ये रु चार करोड खर्च हुन नसकेर ‘फ्रिज’ भएको थियो । “गैरसरकारी संस्थालाई जनचेतना जगाउनका लागि दिइने सो रकम कार्यविधि बन्न नसक्दा फ्रिज भएको हो, कार्यविधि अन्तिम चरणमा पुगेको छ, आगामी वर्ष रकम फ्रिज हुँदैन” – नव नियुक्त स्वास्थ्य सचिव डा किरण रेग्मीले भने । करबाट आएको ७५ प्रतिश रकम क्यान्सर रोग र बाँकी रकम हृदयघात लगायत अन्य रोगको उपचारका लागि मन्त्रालयले आफ्ना अस्पताललाई अनुदान दिने गर्छ । उनले भने – “चुरोटको खिल्लीमा लगाउने करमा वृद्धि गर्नुपर्छ । यसका लागि अब मन्त्रालयले गृहकार्य सुरु गर्ने छ । यसले निम्न तथा मध्यमवर्गीय परिवारका स्वास्थ्यमा सकारात्मक असर पार्ने छ, यो अध्ययनबाट पुष्टि भइसक्यो ।” सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले कानून पालना गरेनन् सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादनका बाहिरी खोल र्यापिङ्मा ९० प्रतिशत नकारात्मक चित्र अंकित नगरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न नहुने बाध्यात्मक प्रावधान छ । स्वास्थ्य मन्त्रालयले लागू गरेको सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी नियमावलीको सो प्रावधानलाई अझै सूर्य नेपाल कम्पनीले पालना नगरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत ईश्वर कोइरालाका अनुसार नेपालमा तीन वटा मात्र चुरोट उत्पादन गर्ने उद्योग छन् । अन्तःशुल्क कार्यविधि, २०७० अनुसार त्यस्ता उद्योगले चुरोटका आकार र सुर्तीजन्य पदार्थ खैनी, गुट्खा, पानका ग्राम अनुसार उत्पादन इजाजत लिएका हुन्छन् । “हामीले सुर्तीजन्य पदार्थका उत्पादनमा स्टिकर लगाउनुपर्ने प्रावधानलाई कडाइ गरिएजस्तै र्यापिङलाई पनि कडाइ गर्छौं”- उनले भने । नेपालमा सुर्तीजन्य पदार्थको नकारात्मक असरका बारेमा लामो समयदेखि पैरवी गर्र्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द सुर्तीजन्य पदार्थमा करको दायरालाई ७० प्रतिशतसम्म पुर्याउनुपर्ने औँल्याउँछन् । उनी भन्छन् – “सुर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन सकिएमा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।” विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य देशलाई सुर्तीजन्य पदार्थको करमा ७० प्रतिशत पु¥याउन सुझाव दिएको छ तर अहिलेसम्म नेपालले यस्तो करमा २८ प्रतिशतभन्दा माथि पुर्याउन सकेको छैन । चालू आवमा पनि सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थमा २८ प्रतिशत मात्र अन्तःशुल्क कर पुर्याएको छ । समन्वयको अभाव गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समन्वयको अभावमा सुर्तीजन्य पदार्थ सम्बन्धी ऐन-नियममा उल्लेखित प्रावधानको समेत प्रभावकारी कार्यान्वन हुन सकेको छैन् । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ तर अहिले पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइराखेको देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पुष्पा चौधरी सुर्तीजन्य पदार्थ सेवनबाट हुने असरका बारेमा थप जनचेतना जगाउन आवश्यक भएको बताउँछिन् । सांसद रामहरि खतिवडा भन्छन् – “सुर्तीजन्य पदार्थ सेवनले दैनिक ४२ देखि ६८ जनाको अकालमा मृत्यु हुने विषयलाई सरकार र राजनीतिक दलले संवेदनशील रुपमा लिनुपर्छ । समाधानको उपाय खोजी गरिनुपर्छ ।” रासस
अस्पतालमा एपोइन्टमेन्ट लिन “हाम्रो हस्पिटल”को नयाँ संस्करण मोबाइल एप्प
अस्पतालमा एपोइन्टमेन्ट लिन “हाम्रो हस्पिटल”को नयाँ संस्करण मोबाइल एप्प ल्याएको छ । अस्पतालमा भएका सबै सुविधा र सबै चिकित्सकहरु यस एप्पमा समावेस हुने हुँदा बिरामी, अस्पताल र चिकित्सक सबैले सेवा लिन र दिन सक्नेछने प्रेस विज्ञप्तिमा जारी छ । “हाम्रो हस्पिटल” एप्प २०७२ मा संचालनमा आएको थियो तर २०७४।४।१ गते उक्त एप्पको नयाँ संस्करण भित्रिएको छ जस्मा अझै बढि सुबिधा र बिषेशताहरु समावेश गरिएको छ । स्वास्थ्य सम्बन्धि लेख, समाचार, टिप्स एंव अन्य महत्वपूर्ण गतिबिधिहरु पनि यस एप्पमा समावेश गरि वेव शाईटको पनि नयाँ संस्करण सुरु गरिएको छ । कम्पनिको अनुसार हाम्रो हस्पिटल एप्प अझ सरल एंव अति उपयोगी हुने हुदाँ सर्वसाधारणको पहिलो रोजाइमा रहने विश्वास लिएको छ। यस एप्प बाट नजिकको अस्पताल खोजी डाक्टरसंग एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ । एपोइन्टमेन्ट लिईसकेपछि एपोइन्टमेन्ट समयको अलार्म नोटिफिकेसन पनि यस एप्पले दिन्छ साथसाथै औषधी खाने समयको अलाम मेडिसिन ट्रयाकर पनि यस एप्पमा रहेको छ । आपत्कालीन समयमा आवश्यक पर्ने सेवाको फोन नम्बरहरु पनि उपलब्ध गरिएको जानकारी दिइएको छ । हाम्रो हस्पिटल एप्पको मुख्य उद्देश्य भनेको प्रयोग कर्तालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । यस एप्पमा हस्पिटल, डाक्टर र औषधिबारे पूर्ण जानकारी रहेको र अस्पतालमा एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ। यस एप्पमा १सय भन्दा धेरै हस्पिटल, १ हजार भन्दा बढि डाक्टरहरु, ५ सय भन्दा माथी फार्मेसीकोे जानकारी रहेको छ । यस एप्प प्रयोगकर्ताले सजिलै गुगल प्ले स्टोर बाट निःशुल्क डाउनलोड गर्न सक्ने छन्।अस्पताललाई पनि यस एप्प, बिनाशुल्क उपलब्ध गराइएको छ जसबाट उनीहरुले एप्पबाट आएको एपोइन्टमेन्ट हेर्न सक्नेछन्। यस एप्प बिरामी, अस्पतालका लागि मात्र नभएर सबैका लागि लाभदायक छ । केहि समय भित्र काठमाडौंका सबैै अस्पताललाई एप्पमा आवद्ध गरेर बिरामी र उनिहरुका आफन्तलाई सहज एपोइन्टमेन्टको सुबिधा दिईने कम्पनिको योजना रहेको छ ।