नवलपरासीमा प्राथमिक अस्पताल बनाउने प्रक्रियामा नेपाल सरकार

काठमाडाैं । नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको वडाध्यक्ष नीलकण्ठ गैरेले जानकारी दिएका छन् । “अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित छन्”, उनले भने । पूर्वपश्चिम राजमार्गबाट नौ किलोमिटरको दूरीमा रहेको सो स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षौँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी कुलचन्द्र भण्डारीले बताएका छन् । नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले वडा नं ७ र ८ दुर्गम मानिन्छन् । विसं २०५३ मा स्थापना भएको सो स्वास्थ्यचौकीमा अहिले कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकी इन्चार्ज अमृता कँडेलले बताए । “यहाँ बिरामीको चाप नै छ, दैनिक ७०/८० बिरामीले सेवा लिने गरेका छन्, स्वास्थ्यचौकीबाट हामीले ल्याबसहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ”, उनले भने । सुनवलसहित रामग्राम र देवदह नगरपालिकाका केही वडाका बासिन्दा पनि यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ श्ययाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, एक विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरङ्ग सेवा, ‘इन्डोर’ सेवा, प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुने वडाध्यक्ष गैरेले जानकारी दिएका हुन् । रासस

पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा ४५ जनाले गरे रक्तदान

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव मनाउने सिलसिलामा मंगलबार गु्रपको केन्द्रीय कार्यालय कृष्णगल्ली, ललितपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध शुभचिन्तकहरु ४५ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

तीन हप्तादेखि शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, “आन्दोलनको बीचमा भएको वार्तामा हाम्राबारे केही सुनुवाइ नभएकाले आजदेखि कडा आन्दोलनमा उत्रिएका छौँ ।” अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुपर्ने, बिरामीको सेवासुविधा बढाउनुपर्नेलगायत माग राख्दै पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका थिए । “हाम्रो माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्नेछौँ”, श्रेष्ठले भने । उनले श्रम अदालतबाट अनुमोदित कर्मचारी युनियनलाई अस्पताल प्रशासनले अवमूल्यन गरेको र प्रशासनमा धार्मिक (क्रिश्चियानीटी) गुटबन्दी आरोप लगाए । यसअघि अस्पतालका कर्मचारीमध्ये ५० प्रतिशतले आलोपालो आन्दोलनमा सहभागी हुँदै आएकामा आजदेखि सबै कर्मचारी आन्दोलनमा उत्रिएका श्रेष्ठले बताएका हुन् । उनले भने, “आजबाट सबै कर्मचारीको सहभागितामा प्रशासन घेराउ गरेका छौँ ।” अस्पतालस्थित युनियनमा २०० कर्मचारी आवद्ध छन् । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सूर्यप्रभा शाक्यले आन्दोलनरत पक्षसँग थप छलफलमा जाने वातावरण तयार भइरहेको जानकारी दिए । अस्पताल प्रशासनले कर्मचारीले आन्दोलन थालेकै दिन अस्पताल हाताभित्र सूचना टाँस गर्दै युनियनले लगाएको आरोप झुठा भएकाले त्यसका पछि नलाग्न अन्य कर्मचारीसँग आग्रह गरेको थियो । गत वर्ष असोजमा पनि यस्तै माग राखेर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला अस्पताल प्रशासनबाट युनियनको माग सम्बोधन गर्दै जाने आश्वासनसहितको सहमतिपछि आन्दोलन स्थगित गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । विसं २०१८ देखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत परिचित छ । रासस