‘संसारकै सबभन्दा स्वस्थ्य मुटु’ जंगलमा बस्ने मानिसहरूकाे

दक्षिण अमेरिकी मुलुक बोलिभियाका जंगलमा बस्ने चिमेने समुदायका मानिसहरुमा संसारकै सबभन्दा स्वस्थ्य मुटु फेला परेको अनुसन्धाताहरुले बताएका छन्। उक्त समुदायका उमेर ढल्किसकेका मानिसमध्ये पनि विरलै कसैमा धमनीहरु अवरुद्ध भएको पाइएको ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ। “यो त एक गजबको समुदाय रहेछ जसको खानपान र जीवनशैली निकै फरक छ,” अनुसन्धाताहरुले उल्लेख गरेका छन्। ती समुदायजस्तो शिकार तथा संकलन अनि कृषिको प्राचीन कालको मानव जीवनशैलीमा बाँकी विश्वपनि फर्किन पर्छ भन्ने अपेक्षा गर्न नसकिने भएपनि तिनीहरुबाट सबैलाई केही पाठ भने मिल्ने अनुसन्धाताहरुले बताएका छन्। चिमेने के हो? बोलिभियाका तल्लो भेगमा अमेजन रेनफरेष्ट क्षेत्रको मानिकि नदी छेउछाउमा करिब १६ हजार चिमेने शिकार गर्ने, माछा मार्ने तथा कृषि कार्यमा संलग्न छन्। उनीहरुको जीवनशैली हजारौं वर्ष पुरानो मानव सभ्यतासँग मेल खान्छ। उनीहरु रहेको ठाउँमा पुग्नका निम्ति वैज्ञानिक तथा चिकित्सकहरुको टोलीले थुप्रै उडानका अतिरिक्त क्यानो डुंगामार्फत यात्रा गर्नु परेको थियो। चिमेनेको खानपान कस्तो छ? •उनीहरुको खानेकुराको १७ प्रतिशत शिकारका मासु हुने गर्छन् (बंदेल, बंगुरकै आकारको स्थानीय तापीर भनिने जन्तु तथा केपिबारा भनिने ठूला आकारका मुसा) •खानेकुराको ७ प्रतिशत चाहिं स्थानीय पिरान्हा र क्याटफिस जस्ता खोलाका पानीमा पाइने माछा पर्छन् •बाँकि खानेकुरामा खेती गरि उत्पादन गरिएका चामल, मकै, म्यानिओक रुट भनिने सख्खर खण्ड जस्तै वस्तु र प्लानटेन्स भनिने केरा प्रजातिका फल पर्छन् •यी बाहेक उनीहरुले जंगलमा भेटिने फलफूल तथा नट्स पनि खाने गर्छन् यसको मतलब हो: •उनीहरुलाई ७२ प्रतिशत क्यालोरी कार्बोहाइड्रेट्सबाट प्राप्त हुँदोरहेछ जबकि अमेरिकामा यो आँकडा ५२ प्रतिशत छ •त्यस्तै १४ प्रतिशत क्यालोरी चाहिं फ्याट (चिल्लो पदार्थ) बाट प्राप्त हुँदो रहेछ जबकि अमेरिकीहरुमाझ यो आँकडा ३४ प्रतिशत छ। साथै चिमेनेहरुले निकै कम स्याचुरेटेड फ्याट सेवन गर्दा रहेछन् •अमेरिकीहरु तथा चिमेने दुवैले प्रोटिनबाट १४ प्रतिशत क्यालोरी पाउँदा रहेछन्। तर चिमेनेहरुले कम चिल्लो पदार्थ हुने मासु लिन मिट बढ्ता सेवन गर्दा रहेछन् उनीहरु कत्तिको ह्रृष्टपुष्ट छन्? तुलनात्मक रुपमा उनीहरु निकै धेरै सकृय हुने गर्छन्। पुरुषले औसतमा १७ हजार पाइला प्रतिदिन हिंड्छन् भने महिलाले १६ हजार हिंड्छन्। साठी वर्ष नाघेकाहरुको समेत औसत हिंडाइ १५ हजार माथि पाइएको छ। आधुनिक समाजमा दिनको १० हजार पाइला हिंड्नु पर्छ भनी भन्दै आइएको कुरालाई समेत लागु गर्न कठिन भइरहेको बेला उनीहरुको सकृयता गज्जबको लाग्न सक्छ। “उनीहरुले प्रदर्शन गर्ने शारिरिक अभ्यासको मात्रा निकै राम्रो छ,” क्यालिफोर्नियास्थित लंग बिच मेमोरियल मेडिकल सेन्टरमा कार्यरत तथा अनुसन्धान टोलीका एक सदस्य डा ग्रेगोरी थोमसले बताए। उनीहरुको मुटु चाहिं कति राम्रो छ? वैज्ञानिकहरुले उनीहरुको शरिरमा कोरोनारी आर्टरी क्याल्सियम वा ‘सीएसी’ कति छ भनेर हेरे किनभने यिनले रक्त नलीहरुमा हुने अवरोध तथा त्यसबाट उत्पन्न हुने ह्रृदयाघातको जोखिम दर्शाउँछ। वैज्ञानिकहरुले ७०५ जनाको मुटु जाँचे। ४५ वर्षको उमेरमा कुनैपनि चिमेने मानिसमा सीएसी देखा परेनन्। जबकि यति उमेरमा एक चौथाई अमेरिकीमा त्यो देखा पर्छ। ७५ वर्षको उमेर पुगिसक्दा पनि दुई तिहाई चिमेनेमा सीएसी पाइएन। यो उमेरमा ८० प्रतिशत अमेरिकीहरुमा सीएसीको संकेत फेला परिसक्छ। युनिभर्सिटि अफ क्यालिफोर्निया सान्ता बारबाराका मानवशास्त्रका प्राध्यापक माइकल गुर्भन भन्छन्: “आँकडा प्राप्त भएका अन्य कुनै पनि समुदायमा भन्दा यो निकै कम हो।” “यस्तै कम पाइने अन्य समुदाय भनेको जापानी महिला हुन्। तर त्यो भन्दा चिमेनेको आँकडा निकै राम्रो पाइएको छ।” के यो खानपान र अभ्यासले मात्र हो? चिमेने समुदायका मानिसले कमै धुम्रपान गर्छन्। तर तिनमा संक्रमण धेरै हुने पाइएको छ। धेरै संक्रमण हुँदा त्यसले पनि जीउ सुन्निने जोखिम भइ मुटुमा समस्या हुन सक्छ। अर्को कुरा चाहिं के छ भने आन्द्रामा पाइने किरा – जसले शरिरको प्रतिरोधी प्रतिकृया घटाइदिन्छ – उनीहरुमा धेरै पाइन सक्ने हुँदा त्यसले पनि मुटुलाई जोगाएको हुन सक्छ। मैले यसबाट के सिक्ने? प्राध्यापक गुर्भन भन्छन्: “मेरो विचारमा शारीरिक अभ्यासलाई सप्ताहान्तमा मात्र गरिने कार्य भन्दा अलि फराकिलो ढंगबाट हामीले सोच्नपर्छ।” “काममा जाँदा साइकल चढेर जाने, भर्याँङ् चढ्ने अनि लेख्ने काम पनि ट्रेडमिल चलाउँदै गर्ने।” डा थोमस भन्छन् स्वस्थ्य रहन हामीले गर्दै आएको भन्दा धेरै शारिरिक अभ्यास गर्नुपर्ने देखिन्छ। “साथै ती मानिस साना समुदायमा बस्छन्। उनीहरुको जीवन एकदमै सामाजिक किसिमको छ र तिनको चिन्तन सकारात्मक छ।” युनिभर्सिटि अफ ग्लास्गोका प्राध्यापक नविद सत्तरले यसलाई छोटकरीमा व्याख्या गर्दै भने, “साधारण शब्दमा भन्नु पर्दा स्याचुरेटेड फ्याट एकदमै कम तथा प्रशोधन नगरिएका वस्तुहरु धेरै सामेल स्वस्थ्य खानपान, धुम्रपान नगर्ने अनि लामो समय सकृय रहने विषयनै हाम्रा रक्तनली अवरुद्ध हुने जोखिमलाई कम गर्न सहायक देखिन्छन्।” बीबीसी

बर्डफ्लुको नयाँ भाइरस भेटियो, ‘एच५ एन८’ नेपालमै

काठमाडौं । नेपालका पक्षीमा पहिलोपटक बर्डफ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत १८ फागुनमा इटहरीको शान्तिटोलका पक्षीमा बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो । इटहरीको तालतलैयाका पक्षी र खनार क्षेत्रका कुखुरामा त्यस्तो नयाँ भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्डफ्लु ‘एच५ एन१’ भाइरस देखिँदै आएको थियो । तर, सुनसरीको इटहरी क्षेत्रमा पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । आचार्यले नयाँ भाइरस देखिए पनि नेपालमा बढी बर्डफ्लु गराउने भाइरस एच५ एन१ नै भएको बताए । ‘इटहरीको ताल–तलैयाका चराहरूमा केही समयअघि देखिएको ‘एच५ एन८’ भाइरस हो । तर, यसले नयाँ रूप परिवर्तन गरिरहने भएकाले धेरै ठूलो विषय मान्नुहुँदैन,’ डा. आचार्यले भने । उनले सुनसरीमा ६ हजार चरा मारिएको जानकारी दिए । भाइरसले नेपालमा रूप परिवर्तन गर्न थालेकाले चरा र कुखुराबाट टाढै रहन आचार्यले सुझाब दिएका छन् । नेपालले रिपोर्ट गोप्य राख्यो ‘एच५ एन८’ भाइरसका कारण इटहरी र आसपासमा ६ हजार पक्षीको मृत्यु भइसक्दा पनि सरकारले नयाँ भाइरसबारेको तथ्य गोप्य राखेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे जानकारी गराउनुपर्ने भए पनि उसले इटहरी र आसपासमा देखिएको बर्डफ्लुमा ‘एच५ एन१’ भाइरस भएको बताएको थियो । विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठन (ओआई)ले नेपालमा बर्डफ्लुको नयाँ भाइरस देखिएको भन्दै सचेत रहन आग्रह गरेपछि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वीकार गरेको हो । बर्डफ्लुको शंकामा गरिएको प्रयोगशाला परीक्षणमा युरोपतिर देखिएको बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ नेपालमा पनि रहेको पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनले नयाँ पत्रिकासँग भने, ‘यो कहाँबाट आयो भनेर निष्कर्ष निकाल्न बाँकी रहे पनि घुमन्ते चराबाट स्थानीय पक्षीमा सर्ने गरेको विभिन्न अध्यनबाट देखिन्छ ।’ नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन ९ओआई० र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् । पुनका अनुसार तीन महिनाअगाडि छिमेकी देश भारतमा यो बर्डफ्लुको प्रजाति ‘एच५ एन८’ प्रकोपका रूपमा देखा परेको थियो । यसको भाइरस मानिसमा सरेर हालसम्म मृत्यु भएको घटना फेला नपरे पनि मानिसमा सर्न सक्ने सम्भावना भने रहेको बताइन्छ । डब्लुएचओले पनि त्यसैकारण सचेत रहन आग्रह गरेको हो । ‘एच५ एन८’ नयाँ भाइरस हाल युरोप, अफ्रिका तथा एसियाका विभिन्न देशमा प्रकोपका रूपमा देखिएको छ । नयाँ पत्रिका दैनिकबाट ।

स्वास्थ्यमन्त्री गगनलाई फिर्ता बोलाएर गच्छदार भित्र्याउने तयारी, गगनको गति रोक्न खोजिदैँ

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचमै टुंगिने खतरा बढेको छ । फोरम लोकतान्त्रिकका महासचिव एवं पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै इच्छा देखाएपछि यस्तो सम्भावना बढेको हो । मन्त्री थापाले नीतिसँगै स्वास्थ्य सेवाको वृहत सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् । थापाको योजनामा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सहयोग गरेर पछिल्लो पटक मात्रै करिब डेढ अर्बभन्दा बढीको स्रोत थप गरिदिएका छन् । गच्छदारले मर्यादाक्रम र मन्त्रालय मिले सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेको सार्वजनिक भएको छ । गच्छदारले पार्टीभित्रको आन्तरिक राजनीति मिलाउन चौधरीलाई रोजेको मन्त्रालय दिनुपर्ने र चौधरीले स्वास्थ्य रोजेको जानकारी प्रधानमन्त्रीलाई गराइसकेका छन् । नागरिक दैनिकबाट ।