मन्त्रालयमा दर्ता नभएका स्वास्थ्य संस्थाले विभागबाट कर चुक्ता प्रमाणपत्र नपाउने
काठमाडौं, ४ माघ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले हाल स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरुस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श नगरी ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी दिए । नेपालमा सञ्चालित धेरै निजी स्वास्थ्य संस्था मन्त्रालयमा दर्ता नभएको र भएकाहरुले पनि नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि यस्तो निर्णय आएको हो । गत मङ्सिरमा गरिएको अनुगमनमा आधाभन्दा बढी स्वास्थ्य संस्था मन्त्रालयमा दर्ता भएको पाइएको थिएन । पछि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थालाई दर्ता तथा नवीकरण गर्न यही माघ मसान्तसम्मको समयावधि दिइएको छ । माघपछि दर्ता तथा नवीकरणबिना सञ्चालन भएका चिकित्सालय, प्रयोगशाला, अस्पताललगायत स्वास्थ्य संस्था अवैध ठहरिएमा कारबाहीमा पर्ने स्वाथ्य मन्त्रालयले स्पष्ट पारेको छ । रासस
बिपी कोइराला क्यान्सर अस्पतालका सञ्चालक समिति नहटाउन अन्तरिम आदेश
काठमाडौं, ३ माघ । सर्वोच्च अदालतले चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन सञ्चालक समिति सदस्यलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो अस्पतालका सञ्चालक समितिलाई नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सो सञ्चालक समितिका सदस्यलाई हटाउनु पर्नाका कारण देखाउन समेत सरकारका नाममा आदेश जारी गरेको छ । गत वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएपछि निष्क्रिय रहेको सञ्चालक समितिमा गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले छ जना नयाँ सदस्य नियुक्त गरेको थियो । नयाँ सञ्चालक समितिको बैठकसमेत बसिसकेको छ । सरकारको निर्णयविरुद्ध सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपाने, प्रभा बराल, गणेश गुरुङ र केदार सेन्चुरीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रासस
शल्यक्रियामा लापरबाहीः बिरामीको पेटमै छाडियो फलामे औजार
हेल्थपोष्टको फाइल तस्बिर काठमाडौं २, माघ । सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन्। त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । ‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो । उनले घरका अन्य सदस्यलाई जानकारी गराएपछि उनीलगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्दा फलामको टुक्रा पेटमै अड्किएको निष्कर्षमा पुगे । घटनाबारे सुनेपछि शल्यक्रिया गरेका मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठ यादवको घरमा पुगे । श्रेष्ठले सुरुमा घटनाबारे केही बोल्न नमाने पनि अन्ततः शल्यक्रियाको क्रममा यादवको पेटमा औजार छुटेको स्वीकारेका छन् । यादव परिवारले भने लापरबाही गर्ने श्रेष्ठमाथि कारबाही हुनु पर्ने माग राखेको छ । नयाँ पत्रिका दैनिकबाट ।