महालक्ष्मी विकास बैंकद्वारा पृथ्वीचन्द्र अस्पताललाई सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.परासी शाखाले पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायरतथा वाटर मोटर मेसिन जडान गरेको छ । बैंकको उक्तशाखाले सो अस्पताल परिसरमाएक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हरुहस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुलपनि वितरण गरिएको थियो ।
मुक्तिनाथका ग्राहकलाई ग्राण्डी इन्टरनेशनलमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट वजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानले प्राप्त गर्याे ‘डब्लुएचओ समन्वय केन्द्र’ को मान्यता
काठमाडौं । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ । भक्तपुरस्थित सार्क क्षयरोग केन्द्रले सो सङ्गठनबाट समन्वय केन्द्रको मान्यता पाएको छ । आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले राष्ट्रिय एवम् अन्तरराष्ट्रियरूपमा महत्वपूर्ण काम गरेवापत सङ्गठनले यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानलाई प्रमाणपत्र प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डब्लुएचओका देशीय प्रतिनिधि डा. जोस भ्यान्डेलारले प्रतिष्ठानका कार्यकारी अधिकृत प्रा. डा. रीता गुरुङलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सङ्गठनले हालसम्म ८० देशका ८०० केन्द्रलाई समन्वय केन्द्रको मान्यता दिएको छ । समन्वय केन्द्रको प्रमाणपत्र पाएसँगै प्रतिष्ठानका आँखा उपचार सेवा, शिक्षा, तालीम, उत्पादन तथा जनशक्तिले अन्तरराष्ट्रिय मान्यता पाएको छ । सन् १९९४ मा स्थापित प्रतिष्ठानले हालसम्म ६११ नेत्ररोग विशेषज्ञ, ७३२ आँखा स्वास्थ्यकर्मी, १० हजार ३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र छ हजार ९१६ चिकित्सा क्षेत्रका विद्यार्थीलाई तालीम प्रदान गरेको छ । यसैगरी, आँखा स्वास्थ्यको अनुसन्धानमा प्रतिष्ठान अग्रस्थानमा रहेको छ । प्रतिष्ठानले हालसम्म २१० योजनामा सफल अनुसन्धान गरी १८३ शोध लेख प्रकाशन गरेको छ । त्यस्तै मोतियाविन्दु शल्यक्रियामा हालसम्मको नवीनतम प्रविधि फिमटोसेकोण्ड लेजर एसाइसटेड क्याक्टर सर्जरी सेवा शुरु गर्न लागिएको छ । यसरी, हालसम्म प्रतिष्ठानले ६० लाखभन्दा बढी आँखा उपचार सेवा र चार लाखभन्दा बढीको अत्याधुनिक प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरी ज्योति प्रदान गरेको छ । अर्कातर्फ भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, चीन, म्यान्मा, इण्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, अर्जेन्टिना, इथियोपिया र घानाका नेत्र चिकित्सक प्रतिष्ठानमा आई मोतियाविन्दु चिकित्सा विधिका बारेमा ज्ञान लिएका छन् । यसैगरी, १७ सामुदायिक आँखा केन्द्रमार्फत सेवा, आँखा बैंकमा १० हजारभन्दा बढी आँखाको नानी सङ्कलन, ८५ हजारभन्दा बढी व्यक्तिको आँखाको नानी दान गर्ने इच्छापत्र हस्तान्तरण तथा ५० लाखभन्दा बढी लेन्स उत्पादन गरी ७० देशमा वितरण गरिँदै आएको प्रतिष्ठानले जनाएको छ । रासस