क्यान्सर पीडित शेर्पालाई सिटी एक्सप्रेसले हस्तान्तरण गर्यो २ लाख १० हजार

काठमाडौँ । स्तन क्यान्सर पीडित डोल्मा शेर्पाको लागि इराकमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित, भोटेकोशी गाउँपालिका, ०५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । इराकमा संकलन भएको रु १ लाख ९६ हजार ९६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसका अधिकारिक एजेन्ट अलताईफ मार्फत प्राप्त भई ररु. १३,०३६ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट थप गरी एकमुष्टरु २ लाख १० हजार सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्तान्तरण गरे ।

मिर्गौलाका बिरामीको चाप बढ्दै भेरी अस्पतालमा

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो रहेको छ । अस्पतालमा अहिले दैनिक तीन चरणमा नौ जना मिर्गौलाका बिरामीको डायलासिस सेवा हुने गरेको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा २३ जना मिर्गौलाका बिरामी डायलासिस सेवाका लागि आउने गरेका छन् । अस्पतालमा रहेका तीन वटा डायलासिस मेसिनमार्फत एक चरणमा तीन जनाको मात्रै डायलासिस हुने भएकाले अन्य बिरामी पालो कुर्न बाध्य छन् । अस्पतालमा डायलासिसका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो भएको जानकारी दिँदै अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. श्रेष्ठले भने, “अहिलेसम्म हामी कहाँ पालो पर्खेर बस्नुभएको बिरामीको सङ्ख्या २३ रहेको छ । बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य छौँ ।” बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । चार वटा मेसिन रहेकामा एउटा मेसिन बिग्रिपछि तीन वटा मेसिनले मात्र सेवा दिने गरिएको डा. श्रेष्ठले बताए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रुपानन्द अधिकारीले बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको बताए । उनले बिग्रिएको मेसिन एक÷दुई दिन भित्रैमा मर्मत भई सञ्चालन हुने उल्लेख गर्दै मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् । रासस

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ । नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । यसरी, नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ । संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिएका छन् । इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय सङ्घसंस्थालाई डेङ्गु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो । रासस