अब स्वास्थ्य सेवाको गुणस्तर प्रमाणीकरण हुने, शुल्क पनि नियमन गरिने
काठमाडौ । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ । परिषद्लाई स्वास्थ्य संवन्धी संपूर्ण सेवा तथा संस्थाहरुको मापन, मुल्यांकन, प्रमाणीकरण र दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेबारी दिईने भएको छ । आवधिक रुपमा सरकारी तथा निजि स्वास्थ्य सेवाहरुको गुणस्तर मापन गरी त्यसको प्रमाणीकरण गरेमा गुणस्तरहिन स्वास्थ्य सेवालाई नियन्त्रण गर्न सकिने र स्तरिय स्वास्थ्य सेवा दिनेहरुलाई प्रोत्साहन हुने स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । स्वास्थ्य सेवाको गुणस्तरको तह निर्धारण भएपछि मात्रै त्यसले सेवा शुल्क के कति सम्म लिन सक्ने, गुणस्तरहिन निजि अस्पतालले पनि महंगो शुल्क लिने प्रबृत्ति अन्त्य हुने लगायतका राम्रा प्रभावहरु स्वास्थ्य क्षेत्रमा पर्ने अपेक्षा गरिएको छ । नेपालको संविधानको धारा ५१ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा सहज, सुलभ, समान, गुणस्तरीय र पहुँच योग्य वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको प्रत्याभूत गर्न परिषद् गठन गरिने भएको हो । देशका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गुणस्तरलाई नियमन र नियन्त्रण गर्ने परिषदको स्थापना र संचालनबाट मात्र संभव भएकाले परिषद् गठन गर्ने अवधारणा ल्याईएको स्वास्थ्य मन्त्री थापाले बताए । उनकै सक्रियतामा तयार पारिएको परिषद् स्थापन संवन्धी सैद्धान्तीक अवधारणालाई मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले स्विकृत पनि गरेको छ । स्विकृत अवधारणा अनुसार परिषदको स्थापना गर्न तत्काल कानुनी व्यवस्था गर्ने तयारी भईरहेको उनले बताए । परिषद स्थापना र संरचना सम्बन्धी नीति र ऐनको मस्यौदा गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ सहित विभिन्न महाशाखाका प्रतिनिधिहरु र विज्ञहरु सम्मिलित मस्यौदा समिति पनि बनाइएको छ । परिषद् स्थापना भएपछि सार्वजनिक तथा निजी स्वास्थ्य संस्थाहरु सुलभ र गुणस्तरीय हुने विश्वास गरिएको छ । त्यसैगरी परिषद्ले स्वास्थ्य सेवाप्रदायक संस्थाहरुमा सामुदायिक विश्वास अझ बढाउन सहयोग गर्ने मन्त्री थापाले बताए ।
आइएमसीद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई थप ५ एम्बुलेन्स सहयोग
काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । तालिमको दोस्रो सत्रमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहका प्रमुख अतिथि स्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका हुन् । सोहि कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरु आईएमसीले स्वास्थ्य मन्त्री थापाद्धारा एम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरेको छ । एनएएसले यस अघी देखि नै काठमाडौं उपत्यका र चितवनमा दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स संचालन गर्दै आएको छ । अब संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । सोहि अवसरमा मन्त्रि थापाले भने “ नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससंग हाते मालो गरेर यस्तै स्तरिय सेवा सम्पूर्ण राज्य भरि संचालन गर्न अघि सर्ने छ । यो पब्लिक प्राइभेट पार्टनरशीपको उत्कृस्ट नमुना बन्ने छ भन्ने कुरामा मा विश्वस्त छु । ” कार्यक्रममा नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले भने, ‘हामीलाई गर्व लाग्छ अहिले सम्म २००७७ बिरामीहरुलाई सेवा प्रदान गर्न सफल भएको छौँ । जस मध्ये ३६ वटा शिशुको जन्म एम्बुलेन्स भित्रै भएको थियो । साथै महा विनासकारी भूकम्पको बेलामा नेपाली सेना र नेपाल प्रहरी सँगको संयोजकत्वमा हामीले ७०० भन्दा बढि घाईतेहरुलाई उद्धार गर्न सफल भएका थियौं ।’ इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी)का देशिय निर्देशक जोलेने माएमुलिन्सले भने , “ नेपाल एम्बुलेन्स सर्भिस सँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ” । साथै, उनले अन्य विकसित मुलुक जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गरि रहेकोमा एनएएसलाई बधाई दिएका छन् । सोहि कार्यक्रममा बोल्दै तालिमका संयोजक डा. कुलेश थापाले भने, ‘स्ट्याण्डफोर्डको सहयोगमा स्वास्थ्य सम्बन्धि आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई यस्तो प्राविधिक तालिम कार्यक्रम नेपालमै पहिलो थियो र यो दोस्रो पटक थप इएमटीहरुलाई तालिम दिन पाहुदा हामी खुसी छौँ । हामीले अहिले सम्म १०० जनालाई इएमटीतालिम दिँदै आएका छौं जसले गर्दा नेपाल एम्बुलेन्स सेवालाई आफ्नो बिस्तार गर्न थप सहयोग पुर्याउने ’ उनले बताए ।
स्वास्थ्यमन्त्रीले सात अंग दान गर्ने, मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी
भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा। श्रेष्ठ आफैं हुन् । उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको छ । त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट ।