गंगालाल अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बूलाई
काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूले पाएका छन् । पुर्व निर्देशक डा. जितेन्द्र शर्माको ४ बर्षको कार्यकाल साउन २६ गते शनिबार सिद्दिएको हो। उनको कार्यकाल सिद्दिएको लगत्तै डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिईएको हो। आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले उपप्रधानमन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्मको लागि कार्यअधिकार सहित डा लिम्बूलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।
४ प्रतिशतले डेंगुको संक्रमण बढ्यो, समन्वय नहुँदा बढ्दो क्रममा
काठमाडौं । सन् २०१९ मा आईपुग्दा डेंगुबाट प्रभावित नेपालीको संख्या झन्डै ४ गुणाले बढेको छ । गतबर्ष डेंगुबाट प्रभावित हुनेको संख्या ८११ रहेकोमा यस बर्ष भने ३ हजार ४ सय २५ पुग्दा ४ गुणाले बढेको हो । नेपालमा पहिलो पटक २००४ सालमा डेंगुको पहिलो बिरामी भेट्टिएको थियो । त्यसपछी २०१० सालमा ९१७, २०१६ मा १५२७, २०१७ मा २१११ र २०१८ मा ८११ डेंगुका केसहरु देखिएको थियो । घटेर जानुपर्ने क्रममा २०१९ मा आईपुग्दा ३२२ प्रतिशतले बढेको हो । सरकारले आर्थिक वर्ष २०७५/७६ मा डेंगु खोजी तथा नष्टको लागि ७ करोड ९३ लाख खर्च गरेको छ। सरकारले डेंगु खोजी तथा नष्टको लागि केन्द्रीय सरकार अन्तरगत रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि १ करोड २० लाख, ७ वटा प्रदेशहरुमा ४ करोड ८३ लाख र स्थानीय तहहरुमा १ करोड ९० लाख गरी ७ करोड ९३ लाख खर्च गरेको हो। यधापी डेंगु नियन्त्रणको काम भने खासै प्रभावकारी देखिएको छैन । स्थानिय तह र प्रदेश स्तर बिचको राम्रो समन्वय नहुँदा डेगु नियनत्रण खासै प्रभावकारी नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक सुशिल प्याकुरेल बताउँछन् । उनी भन्छन, ‘समयोजनको ह्याङ अहिलेसम्म पनि उत्रिएको छैन ।’ प्रदेश नम्बर १ सबैभन्दा बढि जोखिममा गत आर्थिक वर्षमा डेंगु संक्रमित भएका मध्ये ९२ प्रतिसत भन्दा धेरै प्रदेश १ का रहेका छन् । तथ्यांक अनुसार प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित भेटिएका छन् । प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित सुनसरीपछि मोरङ्गमा ८१ र झापामा २९ जना संक्रमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।‘जबसम्म हामी खानेपानीको र फोहोरमैलाको उचित व्यवस्थापन गर्न सक्दैनौ, तबसम्म हामी डेंगु रोग नियन्त्रण गर्न सक्दैनौं,’ ईपिडिमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले बताए । तापक्रम बढ्नुको कारण बिरामीहरु बढ्दै गएको विज्ञहरु बताउँछन् । हालसम्म नेपालमा १५ जनाको मात्र मृत्यु भएको छ । सामान्य ज्वोरोबाट सुरु हुने डेंगु नेपालको मात्र नभएर विश्वब्यापी रुपमा एुउटा समस्याको रुपमा रहेको छ । कसरी सर्छ डेंगु ? डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो । डेंगु भाईरसको चार प्रजाति छन् । एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४-७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८-१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ । पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४-२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ । एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ । त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ । डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगु वा Dengue Hemorrhagic Fever का लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ । लक्षणहरु डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् : – असाध्यै टाउको दुख्ने । – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने । – ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने । – शरीरमा विमिरा आउने । – धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । – वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ । मृत्युदर सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५०% सम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ। रक्तश्रावको खतरा हुने अवस्थाहरु – लामो समयसम्म वेहोस भएमा – जलवियोजन र वेहोस भएमा – कलेजोमा खराबी उत्पन्न भएका – दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा – ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा – रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा – शरीरमा कुनै प्रकारको चोटपटक लागेमा विश्वब्यापी अवस्थाहरु विगत केहि दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ । रोकथामका उपायहरु – पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । – पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ । – कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । नियन्त्रण सम्बन्धी सरकारले गरेका कार्यक्रमहरु – महोतरीको वर्दिवास, चितवनको रत्ननगर र भरतपुर न.पा, झापाको अर्जुनधारा, विर्तामोड, सुन्दरहरैचा, वेलवारी न.पा र धादिडको निलकण्ड न.पा.मा लामखुटेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य गरेको । – सो समयमा सरोकारवाला, जनप्रतिनिधि, संचारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम संचालन । – डेंगु रोग निदानको लागि द्रूत कीट जिल्ला तथा अस्पतालको माग वमोजिम नियमित रुपमा वितरण । – महामारी भएका स्थानहरुमा केन्दबाट विशेषज्ञ सहितको टोली नियन्त्रण तथा व्यवस्थापन गर्न परिचालन । – डेंगु रोग सम्वन्धि चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन । – डेंगु रोगको राष्टिय समिक्षा गोष्ठी संचालन । – डेंगु रोग नियन्त्रण र व्यवस्थापन सम्वन्धि निर्देशिका । – नियमित रुपमा समन्वय र सहयोग ।
जाजरकोटका अधिकांश औषधि पसल अवैध रुपमा सञ्चालन
जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन् । स्वास्थ्यसम्बन्धी सामान्य तालिम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिँदा गाउँ–गाउँमा अवैध तरिकाले खुलेका मेडिकलले उपचार गरिरहेका छन् । त्यसरी खुलेका कतिपय मेडिकलले साइनबोर्डसमेत राखेका छैनन् । सरकारी स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी र औषधि नहुँदा धेरैजसो जाजरकोटवासी उपचारका लागि अवैधरूपमा खुलेका निजी मेडिकल धाउन बाध्य छन् । “सरकारी स्वास्थ्य संस्थाको औषधि र निजी मेडिकलको औषधिको गुणस्तरमा खासै फरक नपर्ने तर निजी मेडिकलले शुरुमै हाइडोजको औषधि चलाउँदा निजी मेडिकलमा गएर उपचार गर्ने प्रवृत्ति बढेको पाइन्छ ।” जिल्ला अस्पतालका भूपेन्द्रप्रकाश मल्लले भने, “हामी बिरामीको अवस्था हेरेर सामान्य औषधि प्रयोग गर्छौ, निको हुन केही समय लाग्छ । एकैपटक कडा डोज प्रयोग गर्दैनौँ, तर निजीले मानिसको स्वास्थ्यको ख्यालै नगरी एकैपटक कडा खालका औषधि प्रयोग गर्छन् र छिटै निको भएपनि त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ ।” चिकित्सकको अनुमतिबिना कडा खालका एन्टिवायोटिक औषधि बिक्री गर्नै मिल्दैन, तर जाजरकोटका मेडिकलवालाले आफैं बिरामी जाँच गर्ने र मनोमानी तरिकाले औषधि दिने गरेका छन् । धेरैजसो मेडिकल सञ्चालकले अहेवको कोर्ष पढेका छन् । उनीहरुले बिरामीको स्वास्थ्य परीक्षण नै गर्न मिल्दैन । फार्मेसी पढेकाले मेडिकल राख्न पाउँछन् तर उनीहरुले पनि बिरामीको उपचार गर्न पाउँदैनन् डा. मल्लले भने । भेरी नगरपालिका–२ का भीमबहादुर खत्रीले भने, “सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाउने औषधि नपाउँदा सर्वसाधारण नागरिक अहिले पनि निजी मेडिकल जान बाध्य छन् । एकातिर निजी मेडिकलले नागरिकको आर्थिक शोषण गरिरहेका छन् भने अर्कोतिर स्वास्थ्यमा खेलवाड ।” जाजरकोटवासी स्वास्थ्य सेवा र पहुँचको हिसाबले निकै पछाडि छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र रहेका छन् । भौगोलिक विकटताले स्वास्थ्य संस्था पुग्न छ घण्टा बढी समय लाग्ने गरेको छ । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने केही ठाउँबाहेक अन्य गाउँमा सडकको पहुँच पुग्न सकेको छैन । जिल्लाका ८० प्रतिशत भू–भागका बासिन्दा पैदल हिँड्नुको विकल्प छैन । नजिकै रहेका मेडिकलमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका–४ रावतजिरीका प्रसाद बोहोराले बताएका हुन् । “स्वास्थ्य संस्था नाम मात्रका छन्, स्वास्थ्य संस्थामा न स्वास्थ्यकर्मी हुन्छन् न सरकारले निःशुल्क दिने भनेको औषधि नै”, उनले थपे, “कमजोर सरकारी स्वास्थ्य संस्था र सेवाका कारण स्थानीय अवैधरूपमा खुलेका निजी मेडिकल पसल धाउन बाध्य भएका हुन् ।” स्वास्थ्य संस्था स्थानीय तह मातहतमा हस्तान्तरण भएसँगै स्वास्थ्य क्षेत्र झनै तहसनहस भएको सरोकारवालाको भनाइ छ । स्थानीय तहले अवैध तरिकाले खुलेका मेडिकल व्यवस्थित गर्नतर्फ चासो नदेखाउँदा उनीहरुको मनोबल बढेको छेडागाड नगरपालिका–८ का अर्जुन अधिकारीले बताए । रासस