रसुवागढीको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा, चीनबाट फेरि भित्रिन थाले सामान
काठमाडौं । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् । नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो । उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ/छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो । पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ । पुलको परीक्षण गर्नुका साथै नटलाई पुनःकस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन आजैदेखि केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए । चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिए । पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकार भएका सबैलाई उनले आग्रह गरे । उनका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फ जानकारी दिएका छन् । पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताए । उनका अनुसार परीक्षणका लागि केही सवारीसाधन भन्सार हातामा पुगेका छन् । (
नेप्सेमा कालंगा र सानिगाड हाइड्रो सूचीकृत, आजदेखि कारोबार खुल्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो र सानिगाड हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । नेप्सेका अनुसार कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता र सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत गरिएको हो । कालंगा हाइड्रोले सर्वसाधारणमा जारी गरेको ४९ लाख कित्ता र संस्थापक सेयरधनीको ९१ लाख कित्ता गरी कुल १ करोड ४० लाख कित्ता सेयर सूचीकृत गराएको हो । त्यस्तै, सानिगाड हाइड्रोले सर्वसाधारणमा जारी गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक सेरधनीको १ करोड ९९ लाख ५० हजार कित्ता गरी कुल २ करोड ८५ लाख कित्ता सेयर सूचीकृत गराएको हो । अब यी दुवै कम्पनीको सेयर आज बिहीबार स्पेसल प्रि-ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित बजारमा कारोबारमा आउनेछन् । पहिलो कारोबारका लागि नेप्सेले कालंगा हाइड्रोलाई ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । यस्तै, सानिगाड हाइड्रोपावरका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
काठमाडौं । गर्मीसँगै विद्युतीय उपकरणको अत्याधिक प्रयोगलाई धान्न नसक्दा विद्युत् आपूर्ति अनियन्त्रित हुनाका साथै सेवा प्रभावित भएको छ । कतिपय ठाउँमा ट्रान्सफर्मरहरूमा समस्या आउने गरेको छ भने कतिपय ठाउँमा तार जलेर चुडिने समस्या आउने गरेको हो । प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीका अनुसार गर्मी बढेसँगै अस्वभाविक माग हुँदा पुराना तारमा भार बढेर जल्ने गर्दछ । एकै पटक धेरै ठाउँमा यस्ता समस्या आउँदा प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने र समय लाग्ने गरेको उनले बताए । उनले भने, ‘मेसिन तार भएको ठाउँमा पग्लिने, तार जोडेको ठाउँमा चुडिने, ट्रान्सफर्मरमा रहेको फ्युज जल्ने, ट्रान्सफर्मर नै जल्ने समस्या हुने गरेको छ । हामी सीमित स्रोत साधनमा काम गर्नुपर्दा, समयमा काम भ्याइएको छैन ।’ गर्मीले घर, कार्यालयमा एसी, पङ्खालगायत उपकरण चल्ने, किसानले मोटर चलाएर खेत रोपाई गर्नेजस्ता काम गर्दा विद्युत्को खपत बढेको छ । हरेक वर्ष १० प्रतिशत विद्युत्को माग बढ्ने उनी बताउँछन् । भरतपुर महानगरको अधिकांश भाग र इच्छाकामना गाउँपालिका क्षेत्र हेर्दै आएको यस कार्यालयमा ७५ हजार ५०० ग्राहक छन् । हरेक वर्ष तीन हजार हाराहारी ग्राहक थपिने गरेको उनले बताए । दिगो समाधानका लागि ट्रान्सफर्मर थप गरी कमजोर तार परिवर्तन गरी स्तरोन्नति आवश्यक रहेको छ । चौधरीले पावर ट्रान्सफर्मरको अवस्था भने २० वर्ष धान्ने गरी व्यवस्था भएको बताए । आँपटारीमा रहेको नयाँ सवस्टेशनमा ९० मेघावाटको पावर ट्रान्सफर्मर जडान गरी जगेडा क्षमता बनाइएको छ । बसेनीमा रहेको स्टेशनमा ११२.५ मेघावाट पावर ट्रान्सफर्मर रहेको छ । उनले भने, ‘हामीसँग विद्युत्को अभाव छैन, तार र ट्रान्सफर्मर समस्या हो ।’ ट्रान्सफर्मर जडान गर्नुपर्ने ठाउँहरूमा स्थानीयको अवरोधका कारण कतिपय ठाउँमा जडान गर्न नसकिएको उनले बताए । १४ ठाउँमा पोष्ट तयार गरिएको छ । छिट्टै ती ठाउँमा ट्रान्सफर्मर आउने पनि उनले बताए ।