स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो । 'लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ', वडाध्यक्ष उनले भन्, 'राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।' यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ । 'राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ', उनले भने, 'पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।' २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् । रासस
नवलपरासीको दाउन्ने खण्ड सडक २ महिनासम्म एकतर्फी मात्र सञ्चालन हुने
काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड २ महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ । नारायणघाट-बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले सोमबार सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार यस खण्डमा कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण भइरहेकाले दुईतर्फी सवारी सञ्चालन गर्दा काम प्रभावित हुने भएकाले एकतर्फी मात्र सञ्चालन गर्न लागिएको हो । आयोजना निर्देशनालयका अनुसार आगामी पुस १५ गतेसम्मका लागि दाउन्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । केही दिनअघिको झरीका कारण सडक चिप्लो र हिलो हुँदा उकालोमा सवारी उक्लिन नसकेर यातायात सञ्चालनमा समस्या हुँदै आएको प्रहरी उपरीक्षक खड्काले बताए । अझै पनि उक्त खण्डमा सहज रूपमा यातायात सञ्चालनमा समस्या हुँदै आएको भन्दै उनले आगामी दिनमा पानी पर्ने बित्तिकै समस्या सिर्जना हुने अवस्था रहेकाले आयोजनाले कल्भर्ट निर्माण अवधिसम्म एकतर्फी सडक सञ्चालन गर्ने उनले जानकारी दिए । दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक खड्काले सबैलाई अनुरोध गरे । सडकको अवस्था बुझेर अवरोध भएका खण्डमा वैकल्पिक बाटो प्रयोग गर्न उनले यात्रुलाई अनुरोध गरे । दाउन्ने खण्डमा सधैँ जसो सवारीको जाम लाग्ने गरेकामा एकतर्फी हुँदा थप समस्या हुने यात्रुको गुनासो छ । यथाशीघ्र काम सम्पन्न गरी सडक सहज बनाउन लाग्नुपर्ने यात्रुको सुझाव छ । सडक अवरोध भएको अवस्थामा सवारी साधन नारायणगढ-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल वा गैँडाकोट कालीगण्डकी चोक-रामपुर-पीपलडाँडा-पाल्पा-बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीले दुम्किबास-डाँडाजोर-डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्नसक्ने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । नारायणगढ-बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ । अन्य क्षेत्रमा सडक विस्तारको काममा प्रगति भए पनि दाउन्ने क्षेत्रमा पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा आवागमन समस्या हुनुका साथै यात्रुले सास्ती खेप्दै आएका छन् ।
एउटै वडामा ५ वटा हाइड्रो, घरघरमा रोजगारी, विदेशिएकाहरु गाउँ फर्किन थाले
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका ५ वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३.३ मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३.१४ मेगावाटका २ वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण-४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार ५ मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि-१, ७१ मेगावाट क्षमताको नीलगिरि-२ र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६.३ मेगावाट क्षमतामध्ये कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले बताए । ‘हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ । अवसर र रोजगार खोज्दै सहर बजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ,’ उनले भने । गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्वस्थानीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेण्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, सेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५/२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ । नारच्याङमा रहेको प्रभा माविले हाइड्रो इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमाना स्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप २ वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । निलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुँदै हुम खोलासम्म पहुँच मार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताए । घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् । नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवर्द्धकले सेयर निष्काशनको प्रक्रियामा छन् । कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेसन बनाएको छ । विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेसनबाट हाल घलेम्दी, म्रिस्ती र थापा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् । म्याग्दीको अन्नपूर्ण-३ दाना र पर्वतको कुश्मा-२ खुर्कोटमा सबस्टेसन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्षसमेत रहेका घलेम्दी खोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए ।