राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा छ । आयोजनाको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, वटम प्रेसर साफ्ट, टप पेनस्टक र पेनस्कट पाइपलाइन जडान सकिएको जनाइएको छ । कूल छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, एक किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, ३२९ मिटर वटम प्रेसर साफ्ट, ५०९ मिटर टप पेनस्टक जडान भएको छ । विसं २०८१ साउन १५ गते ‘ब्रेकथ्रु’ भएको आयोजनाको मुख्य सुरुङको पलास्टर र ढलान सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । 'बाँधस्थल नजिकको अडिट १, अधेरीखोलाको अडिट २, पिप्लेको अडिट ३ र तिल्केनीचौरको अडिट ४ को जक्सनमा मात्र ग्राउटिङ र लाइनिङ बाँकी छ,' उनले भने 'बटरफ्लाई भल्ब च्याम्बर र म्यानुअल च्यामबरको संरचना पनि तयार भइसकेको छ ।' हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत् गृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फको कामलाई क्रमशः पूर्णता दिने चरणमा रहेको प्रबन्ध सञ्चालक केसीले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण भएको छ । ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । तिल्केनी चौरमा विद्युत् गृह निर्माण ९८ प्रतिशत सम्पन्न भएको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर २० मेगावाट क्षमताको एउटा युनिटमा टर्वाइन, जेनेरेटरका पाट्स जडान सकेर दोस्रो युनिटको उपकरण जडान अन्तिम चरणमा रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए । 'विसं २०७६ कात्तिकमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युत्गृहको उपकरण आयात सकेर जडानलाई तीव्रता दिएको छ,' उनले भने, 'विद्युत् गृह नजिकै स्वीचयार्डका लागि फाउण्डेशन निर्माण सम्पन्न भई स्विचयार्डको उपकरण जडानकार्य भइरहेको छ ।' कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार (आइभिआरसिएल) सँगको ठेक्का रद्द गरी ३२ मेगावाट क्षमताबाट आयोजनाको क्षमता अभिवृद्धि गरी नयाँ प्रारूपमा अघि बढाइएको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणामा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स लिमिटेडले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले दैनिक चार घण्टा पिकिङ्गसहित वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा बेलीब्रिज निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । राहुघाट जलविद्युत् आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुविधा पुगेको छ । राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्गमा पर्ने घुमाउनेतालदेखि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट खण्डको सडकलाई स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । बाँधस्थलभन्दा माथि दग्नाम गाउँको फेदीबाट झर्ने पहिरो रोकथामका लागि चेक ड्याम तथा क्याच डेन निर्माण कार्य भई रहेको छ साथै थप अध्ययन भइरहेको छ । पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीका लागि आवास तथा कार्यालय सञ्चालनका लागि १५ वटा भवन निर्माण भइसकेको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । रासस
जेनजी आन्दोलनको महँगो मूल्य : सरकारी सम्पत्तिमा ९५ करोड र निजी प्रतिष्ठानमा साढे २७ अर्बको क्षति
काठमाडौं । जेनजी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पत्तिको क्षति रकम ९५ करोड ६२ लाख रहेको छ । सार्वजनिक संस्थानमा भएको कुल क्षति रकम मध्ये भवनतर्फ ४३.१ प्रतिशत, सवारी साधन तर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्ति तर्फ ३७.४ प्रतिशत र अन्यमा ३.३ प्रतिशत क्षति भएको छ । प्रतिवेदनअनुसार संस्थानका नेपाल सरकार अन्तर्गतका २६ वटा भवनमा क्षति पुगेको छ भने प्रदेश सरकार मातहत रहेका संस्थानका ३ वटा भवनमा क्षति पुगेको छ । कुल ४१ करोड २४ लाख बराबरको क्षति पुगेको छ भने संस्थानहरूका करिब १ सय ९ वटा सवारी साधनमा क्षति पुगेको छ । संस्थानहरूका सवारीसाधनको क्षति करिब १४ करोड ३६ लाख बराबरको रहेको छ । यता निजी तथा सामुदायिक क्षेत्रले जेन–जी आन्दोलनका बेला ठूलो क्षति बेहोर्नुपरेको सरकारी अध्ययन प्रतिवेदनले देखाएका छ । प्रतिवेदनअनुसार निजी तथा सामुदायिक क्षेत्रमा भएको क्षतिअनुसार निजी प्रतिष्ठान तथा घर परिवारमा कुल क्षति रकम ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रमा भएको क्षति रकम ५ अर्ब ९७ करोड १७ लाख रहेको छ । प्रतिवेदनअनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवं अस्थायी सम्पत्तिमा गरी कुल २७ अर्ब ४९ करोड ३ लाख क्षति पुगेको देखिन्छ जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९.८ प्रतिशत हो । यो क्षेत्रले बेहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य भौतिक सम्पत्तिको क्षति २७.४ प्रतिशत, अस्थायी सम्पत्ति तथा अन्य निजी सम्पत्तिको २१.७ प्रतिशत र सवारी साधनको क्षति ३.४ प्रतिशत रहेको छ । समग्र रूपमा हेर्दा क्षतिको भार भवन तथा स्थायी सम्पत्तिमा बढी रहेकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
विदेशमा रहेका नेपालीले आजसम्म सुपर खुदी हाइड्रोको आईपीओमा आवेदन दिन पाउने
काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पुस २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज पुस २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।