प्रदेश २ काे वार्षिक प्रगति विवरण सार्वजनिक, ३५६ किलोमिटर पक्की सडक निर्माण

सर्लाही । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो । प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नीति तथा कार्यक्रममा रहेका १० वटा झोलुङ्गे पुलमध्ये तीनवटा झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएको प्रदेश नं २ को भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बताए । सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन गरिएको र प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल ट्युबवेल निर्माणबाट प्रदेशको १६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको सुरुवात गरिएको मन्त्री सोनलले बताए । सो अवधिमा २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावर ड्रिल ट्युबवेल निर्माण, प्रदेशको करिब पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ । खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको सुरुवात भएको छ भने ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको मन्त्रालयले बताएको छ । मन्त्री सोनलका अनुसार जनता आवासतर्फ करिब चार हजार ६५९ घर निर्माणको सम्झौता भएकामा हालसम्म करिब दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको छ । प्रदेश परिवहन सञ्चालन गरिने प्रदेश २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको मन्त्री सोनलले बताए । प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारले तीन करोड नौ लाख ८२ हजारमा पाँच वटा बस खरिद गरिसकेको छ । मन्त्री सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडादर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थितरूपमा सञ्चालन गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने बताएका छन् । रासस

इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा

काठमाडाैं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा अहिले सानागाउँ क्षेत्र र लुभुको बजार क्षेत्र बाहेक अन्यत्र कालोपत्र सकिएको छ । कालोपत्र बाँकी भएका यी स्थानमा पनि वैशाखसम्ममा कालोपत्र गरिसकिने आयोजना प्रमुख गुरु अधिकारीले बताए । लुभुको बजार क्षेत्रमा ५०० मिटर र सानागाउँ क्षेत्रमा ६० मिटर सडक कालोपत्र गर्न बाँकी छ । विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । गत वर्ष नै सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको उनले बताए । उनले भने, ‘अहिले पनि कतिपय स्थानीयवासीले जग्गाको मुआब्जा र घरको क्षतिपूर्ति माग गरिरहनुभएको छ ।’ तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जनाएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रु मार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको उनले बताए । उपलब्ध चौडाइमा निर्माण गर्दा बजारमा पाँच मिटर चौडाइ भएको उनले बताए । उनले भने, ‘अरु धेरै ठाउँमा सातदेखि नौ मिटर चौडाइ भएको छ ।’ आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे÷समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी र लामा/सामानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो । गत पुस महिनासम्ममा सडकको भौतिक प्रगति ८५ प्रतिशत थियो । आयोजनाले उपत्यकाका नौ सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म एउटा पनि सम्पन्न भइसकेको छैन । गत आवसम्म स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अवरुद्ध थियो । उ पलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ । रासस  

नेपालगन्जमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प बन्दै, निगमकाे मात्रै साढे तीन करोड लगानी

नेपालगन्ज । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिए । करिब साढे तीन करोड रूपैयाँ लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूना पम्पका रुपमा रहेको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्प निर्माण गर्न लागेको हो । पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने छ । पम्प सौर्य ऊर्जाबाट समेत सञ्चालन हुने निगमले जनाएको छ । पम्पभित्र एटिएम कार्डबाट भुक्तानी गर्न सकिने, अग्नि प्रतिरोधात्मक एलमिनियम कम्पोजिट मेटेरियलबाट दुई वटा छानो निर्माण गरिने छ । सुरक्षाको लागि अग्नि नियन्त्रणको लागि चार वटा ७० केजी र १० वटा १० केजी क्षमताको ड्राई केमिकल पाउडरसहितको अग्नि नियन्त्रण यन्त्र राखिने छ । पम्पमा अपाङ्गमैत्री शौचालय निर्माण गरिने छ । ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम आगामी जेठ अन्तिमभित्र सम्पन्न हुनेछ । पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कशप, कफीसप र अत्याधुनिक शौचालयसमेत निर्माण गरिने डिपोले जनाएको छ । पम्प सञ्चालन व्यवस्थापन निगमका आफ्नै कर्मचारीसमेत संलग्न हुने छन् । नेपालगन्ज डिपोमा ३२ लाख लिटर पेट्रोल र ७५ लाख लिटर डिजेलको भण्डारण क्षमता छ । निगमले रुपन्दे्रहीको भैरहवामा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गरी गत वर्षदेखि नै सञ्चालनमा आएको छ । योसँगै निगमको आफ्नै लगानीमा दुई वटा पम्प हुनेछ । निगमले अन्य ठाउँमा समेत आफ्नै पम्प सञ्चालन गर्ने तयारी गरेको छ । निगम आफैँले पम्प सञ्चालन गर्दा जुनुसुकै बेला पनि इन्धनको वितरणमा हुने हुँदा उपभोक्तालाई सहज हुन्छ । हाल निजीस्तरबाट मुलुकभर एक हजार ५०० सङ्ख्यामा पेट्रोल पम्प सञ्चालनमा छन् । रासस