४३ ग्रेडको ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट नेपालकै पहिलो कम्पनी
काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र कम्पनी बन्न सफल भएको छ । शिवम् सिमेन्टले भर्खरै ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट यो सँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो । हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै एनएस–५७२ प्रमाणिकरण भै ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एकमात्र कम्पनी बनेकाे हाे । यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रामाणिकरण गर्दै आईरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एन. एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न एनएस–५७२ प्रमाणिकरण अनिवार्य गर्नुपर्ने छ । यसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्नेछ ।
पाँच अर्ब ६४ करोड लागतमा बनेकाे मिस्ट्रीखोलाको उत्पादन यसै हप्तादेखि
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो । आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सकेर विद्युत् उत्पादनको तयारी गरेको जानकारी दिए । ‘दाना सबस्टेशनबाट स्वीचार्डसम्म ब्याकलोडमा प्रसारण लाइनको परीक्षण भइरहेको छ’, उनले भने, ‘ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने र टर्वाइन घुमाउने तयारीमा छौँ ।’ विद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ । इञ्जिनीयर खड्काले अबको एक हप्तादेखि १० दिनभित्र मिस्ट्रीखोलाले उत्पादन शुरु गर्ने बताए । सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि र घलेम्दीखोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्वीचार्ड निर्माण गरिएको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएका दुईवटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । एघारमध्ये गत बर्खामा आएको बाढीले एक टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुनःनिर्माण गरिएको हो । पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी आयोजनामा नविल बैंकले एक अर्ब, लक्ष्मी बैंकको ४० करोड, सिद्धार्थ बैंकको ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सातवटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ । साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सबस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि निर्माण सुरु गरिएको थियो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण सकिएको छ । आयोजनाका प्रमुख चन्दनकुमार घोषले मिस्ट्रीखोलाको विद्युत सबस्टेशनमा जोड्न प्रसारण लाइनको परीक्षण शुरु गरिएको बताए । रासस
साढे ४१ करोड लगानीमा हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माण सुरु
वाग्मती । वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण सुरु गरिएको छ । प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो । प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुनेछ । उद्योग स्थापना भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालना गरेर रोजगारी पनि सिर्जना हुने निश्चित छ । सो प्लान्टबाट वाग्मती प्रदेशसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करीब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ । पाउडर प्लान्टमा महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गर्न सकिनेछ । प्रदेश दुग्ध विकास बोर्डद्वारा निर्माण गरिने उक्त भवन करीब डेढ वर्षभित्रै निर्माण सम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको प्रदेश कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । प्लान्टमा दैनिक ६० हजार लिटर दुधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक २०७७/७८ वर्षको पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालीले एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम थालेको थियो । कम्पनीले ४५ करोड १२ लाख ७० हजार लागत अनुमान गरिएको प्लान्टको निर्माण ४१ करोड २२ लाख ७१ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । रासस