९० लाख रुपैयाँ लागतमा तारकेश्वर-१० को नयाँ भवन बन्ने
काठमाडौं । तारकेश्वर नगरपालिका-१० को नयाँ भवन बन्ने भएको छ । आगामी एक वर्षभित्र वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाको रु ७० लाख र सङ्घीय सांसद कोषको २० लाख गरी ९० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिबाट भवन निर्माण हुने वडाध्यक्ष अमृत थापाले जानकारी दिए । “नयाँ बन्ने भवनमा पहिलो तलामा १० श्ययाको शहरी स्वास्थ्य केन्द्र, दोस्रो तलामा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ”, उनले भने । स्थानीय उपभोक्ताले मनमैजुको पुरानो संस्कृति पहिचान झल्कने गरी भवन बनाउन आग्रह गरेका छन् । भवन अन्य वडाका भन्दा फरक ऐतिहासिक मौलिकता पहिचान झल्कने खालको हुने बताइएको छ । रासस
स्थानीय तहमा गौरवका योजना: ‘साख जोगाउँदै, आशा बढाउँदै’
बेनी । योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउँछ । सङ्घीयता कार्यान्वयनको सुरुवाती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् । यसमध्ये म्याग्दीको मङ्गला गाउँपालिकाले केही फरक र उपलब्धिमूलक ढङ्गले आफ्ना विकास निर्माणलाई अगाडि बढाएको छ । टुक्रे योजनालाई नियन्त्रण गर्दै स्थानीय तहकै अगुवाइमा गौरवका योजना सञ्चालन गर्ने ‘विकास मोडेल’लाई मङ्गलाले अगाडि बढाएको छ । सङ्घीय, प्रदेश सरकारसँगको साझेदारीमा केही ठूला र महत्वका योजना सञ्चालन गरिएको छ । चालू आर्थिक वर्षमा पालिकाबाट १३५ वटा योजना छनोट भएकोमा अधिकांश योजनालाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए । उनका अनुसार ११० वटा योजना सम्झौता भइसकेका छन् भने १२ वटा योजनाले अन्तिम भुक्तानीसमेत लगिसकेका छन् । दर्जनौँ योजना फागुन महिनाको अन्त्सम्ममा सम्पन्न हुनेगरी तीव्र रुपमा अघि बढेका छन् । ‘‘गाउँपालिकाले ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत् कार्यान्वयन गर्ने नीति लिएको छ, यसरी योजना कार्यान्वयन गर्दा गाउँपालिकाको बजेट पारदर्शी तवरले खर्च हुने र विकास निर्माणमा जबाफदेहिता बढ्ने अपेक्षा गरेका छौँ’ प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले भने । गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ टुक्रे योजनालाई घटाएको छ । सङ्घ र प्रदेश सरकारसँग साझेदारी गरी पालिकास्तरमा गौरवका योजनालाई अघि बढाएको छ । पाँच वटा एक करोड बढी बजेटका योजना कार्यान्वयनमा जुटेको पालिकाको केन्द्र रहेको बाबियाचौर बजार कालोपत्र गर्न प्रदेश सरकारसँग साझेदारी गरेको छ । गाउँपालिकाले एक करोड १३ लाख लागत अनुमानमा बजार कालोपत्र योजना सञ्चालन गरेको हो । एक करोड बढी बजेटकै दुई नमूना सडक आयोजनासमेत अघि बढाइएको छ । तीन करोड ३४ लाख बजेटबाट वडा नं ३ र ४ का नागरिकलाई गाउँपालिकाको केन्द्र आउने पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी, ३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जोड्ने सडक स्तरोन्नति र एक करोड १५ लाख बजेटबाट बाबियाचौर–पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति गर्न शुरु गरेको छ । त्यसैगरी गाउँपालिकाले पुलचोक–पिपलबोट–पाखुँ–धारा–सिर्कुम–टीकाबाङ सडकखण्डको हाँडेभीर क्षेत्रमा बाढीले बगाएको सडक निर्माण र बस्ती संरक्षणको लागि एक करोड बजेट विनियोजन गरी कार्यान्वयनमा जुटेको छ । नदी नियन्त्रण गर्दै सडक निर्माण गर्न आरसिसी पर्खाल निर्माण गर्ने यस योजना ठेक्का मूल्याङ्कनको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि काफलचौर–सल्यान–भर्जुला–भाइबाङ–हिदी सडक स्तरोन्नतिको लागि विनियोजन गरेको रु ५० लाख बजेटलाई समेत ठेक्का प्रक्रियामार्फत् मङ्गला कन्स्ट्रक्सनसँग सम्झौता गरी धमाधम पूर्वाधारको काम भइरहेको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिए । गाउँपालिकाले मङ्गला माविलाई नमूना विद्यालयका रुपमा विकास गर्न भवन पूर्वाधारमा सङ्घीय सशर्त अनुदानबाट प्राप्त एक करोड ५० लाख बजेटलाईसमेत ठेक्का प्रक्रियामार्फत् कार्यान्वयनमा जुटेको छ । गाउँपालिकाले सडक, शिक्षा, एकीकृत भवन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अघि बढाएको अध्यक्ष सतप्रसाद रोकाले बताए । यस गाउँपालिकाले हरेक गाउँमा महिला, दलित, जनजाति, आमा, युवालगायतका वर्ग र क्षेत्रका लागि छुट्टाछुट्टै र स–साना भवन बनाउने प्रचलनलाई हटाउँदै बहुउपयोगका लागि एकीकृत भवन निर्माण गर्ने योजना सञ्चालन गरेको अध्यक्ष रोकाको भनाइ छ । अहिलेसम्म गाउँपालिकाले सिमलचौर, भाइबाङ, हिदी, झाँक्रेपानी, कुर्सिम्ला, पखेर लगायतका गाउँमा एकीकृत सामुदायिक भवन निर्माण गरिसकेको छ भने थाइबाङ र भर्जुलामा यस वर्ष भवन निर्माण कार्यलाई सम्पन्न गर्ने तयारी गरिएको छ । पर्यटकीयस्थल झाँक्रिपानीमा पर्यटकका लागि दृष्यावलोकन स्तम्भ (भ्यू टावर) समेत निर्माण गरी सकिएको छ । जिल्ला समन्वय समितिको कोषबाट प्राप्त बजेटबाट बुकेनीमा वडा नं ४ को वडा कार्यालय भवन समेत तयार भएको छ । जिल्लामा आफै योजना सञ्चालन गरी वडा कार्यालय भवन निर्माण गर्ने मङ्गला नै पहिलो हो । सडक कालोपत्र गर्ने पहिलो गाउँपालिका मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्र गर्न शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सशर्त अनुदान रु एक करोड र गाउँपालिकाको १३ लाख बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो । सडक कालोपत्र हुन थालेपछि बजार क्षेत्र चिटिक्क र सफा देखिएको छ । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर गाउँपालिकास्तरमा सडक कालोपत्र गर्न सुरु भएको यो पहिलो योजना हो । जिल्लाको बेनी बजारसँगै गलेश्वर र रत्नेचौरमा छोटो दूरीको सडक मात्रै कालोपत्र छ । एक नगरपालिका बाहेक पाँच गाउँपालिकामा कुनै पनि सडक पक्की छैन । बाबियाचौरको कालोपत्र नै जिल्लामा रहेका गाउँपालिकामा भएको पहिलो कालोपत्र योजना हो । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीका कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गर्न लागिएको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिए । करीब छ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्र गर्ने सम्झौता अनुसार निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ । सडकको अधिकांश स्थानमा अनुमानित भन्दा बढी साढे चार मिटर फराकिलोसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रवीन सापकोटाले बताए । गत वर्ष बेस र सबबेससँगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो । कालोपत्र योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेका कालोपत्र योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालालेसमेत नियमित रुपमा निगरानी गरिरहेका छन् । हिउँदमा धुलो र वर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्र भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ बाबियाचौर इकाइका अध्यक्ष राजु पाण्डेले बताए । दुई नमूना सडक आयोजना सञ्चालन ग्रामीण सडकलाई व्यवस्थित र स्तरीय बनाउनका लागि मङ्गला गाउँपालिकाले नमूना सडक आयोजना सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ३ र ४ बरङ्जा जाने र वडा नं १ कुहुँहुँदै टोड्के जाने सडकलाई स्तरोन्नति गर्न गाउँपालिकाले दुई वटा नमूना सडक आयोजना सञ्चालन गरेको हो । पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी –३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जाने सडक स्तरोन्नतिको लागि राष्ट्रिय योजना आयोगको सम्पूर्ण योजनाअन्तर्गत आयोग र पालिकाको बराबर साझेदारीमा कूल तीन करोड ३४ लाख बजेटमा ठेक्का प्रक्रियामार्फत दुई करोड ८० लाखमा देब एण्ड सायर तिलक जेभीले ठेक्का लिएको छ । यही माघ २७ गते सम्झौता भएको यस निर्माण कम्पनीले सडकखण्डको सातबिसेखोलादेखि बरङ्जा गाउँसम्मको विभिन्न भागमा सडक स्तरोन्नति गर्ने गरी काम थालिसकेको छ । गाउँपालिकाले यसअघि नै सडक फराकिलो बनाइसकेको यस सडकखण्डमा रिटेनिङ पर्खाल, ग्याबिन जाली लगाउने, नाली निर्माणलगायतका स्तरोन्नतिको काम गर्नेछ । गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकलाईसमेत नमूना सडक आयोजना सञ्चालन गरेको छ । गण्डकी प्रदेश सरकारको समपुरक बजेट ५० लाख र गाउँपालिकाको ६५ लाख बजेट विनियोजन भएको यस योजनालाई पनि ठेक्कामार्फत् कार्यान्वयनमा अघि बढाइएको छ । बोलपत्रमा सबैभन्दा कम ६८ लाख ४८ हजार ४०० कबोल गरेको सोमरस निर्माण सेवासँग ठेक्का सम्झौताको तयारी भएको गाउँपालिकाले जनाएको छ । यस सडकखण्डमा नाली निर्माण, ग्याबिन जाली लगाउने, रिटेनिङ पर्खाल निर्माण, खोला र खोल्सामा कजवे निर्माण गर्नेलगायतका पूर्वाधार बनाउने तयारी छ । रासस
करिब १७ अर्ब लागतमा बन्दै गरेकाे नारायणगढ–बुटवल सडक विस्तारले गति लियाे
सांकेतिक तस्विर नवलपुर । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो । सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको काम सकिएको छ । गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । बाइस साना कल्भर्ट निर्माण भएर १२ ठूला पुलको काम पनि तीव्र गतिमा अगाडि बढेको आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताए । दिष्टीका अनुसार गैँडाकोट क्षेत्रमा पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरेर ठूला पुल निर्माणको काम धमाधम अगाडि बढेको छ । सडकको दायाँबायाँ सतह मिलाउने, नाला निर्माण गर्ने र गैँडाकोट क्षेत्रमा पर्ने सडक भित्ता कटान तीव्र गतिमा भइरहेको उनको भनाइ छ । सडक किनारका रुख काटिँदै सडक किनारका रुख कटान र विद्युत्का तार र खम्बा सार्न ढिलाइ हुँदा समयमै काम सक्न चाप परेको प्रमुख दिष्टीले बताए । राजमार्गबाट उत्तरतर्फका रुख कटानको काम तीव्र रुपमा भइरहँदा दक्षिणतर्फको रुख कटान भने हुन सकेको छैन । दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले अनुमति नदिँदा रुख कटान रोकिएको आयोजना प्रमुख दिष्टीले जानकारी दिए । सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काटिने आयोजनाले जनाएको छ । यो खण्डको ६ स्थानमा वन क्षेत्र छ । छपान (रुख काट्न नम्बर लगाउने) भइसकेको र मन्त्रालयबाट अनुमतिसमेत पाइसकेका अवस्थामा निकुञ्जले अनुमति नदिँदा काम रोकिएको उनले बताए । सडक किनारका खम्बा निर्माण व्यवसायीमार्फत हटाइने भएकाले सो कार्य छिट्टै शुरु हुने उनले विश्वास व्यक्त गरे । नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तरगत पूर्वी खण्डमा १२ ठूला (मेजर ब्रिज) र साना २२ (माइनर ब्रिज) पुल बन्ने आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । सोही क्षेत्रमा २२४ बकस कल्भर्ट बन्नेछन् । हाल ठूलो पूल भएका स्थानमा सडकबाट उत्तरतर्फ ११ दुई लेनका नयाँ पुल बन्नेछ । दुम्किबासको ज्यामिरेको एउटा पूल मात्रै दक्षिणतर्फ बन्ने आचार्यले जानकारी दिए । रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छोएको सो आयोजनाअन्तर्गत साना २२ पुल सबै नयाँ बन्ने आचार्यको भनाइ छ । चार स्थानमा जैविक मार्ग नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पहिलो खण्ड गैँडाकोटदेखि दाउन्नेसम्मको जङ्गल क्षेत्रमा चार ठाउँमा जैविकमार्ग निर्माण गरिने आचार्यले जानकारी दिए । जङ्गली जनावार वारपार गर्नका लागि चार स्थानमा अन्डरपास (सडकमुनिबाट जनावर वारपार गर्ने बाटो) बनाउने र दाउन्ने क्षेत्रमा ओभररपास (सडकको माथिबाट जनावर हिँडडुल गर्ने ठाउँ) निर्माण गरिने योजना छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले तिनका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गर्न लागिएको सूचना अधिकारी आचार्यले बताए । सडकमा अन्डरपासका लागि आयोजनाले केही स्थानमा अहिले रहेका कल्भर्ट नै प्रयोग गर्ने भन्दै आचार्यले केही स्थानमा भने नयाँ बनाउने तयारी रहेको बताए । नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ । एक सय १४ किमी सडक खण्डको काम गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल दुई खण्डमा विभाजन गरेर शुरु गरिएको हो । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ र दाउन्ने÷बुटवल ४९ किमी सडकलाई खण्ड २ मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । १७ अर्ब लागत विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेको सडक ५८ वर्षपछि फराकिलो हुने क्रममा छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी रहेको आयोजना प्रमुख दिष्टीले बताए । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख छ ।