एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान, ५ करोडमा बनाइने
वाग्मती । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए । प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् । विसं २०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गर्नुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार उक्त सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो । रेलपछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो । अग्रजहरुका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौं पुर्याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो । आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा उल्लेख गरेका छन् । स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् । यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ । नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस् त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्’ भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।
५० कराेड लगानीमा तनहुँ जलविद्युत् आयोजना बन्दै
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम/कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । “सबैभन्दा कम दर प्रस्ताव गरेको र आर्थिक एवं प्राविधिक रुपमा प्रभावग्राही देखिएपछि उक्त कम्पनीले पहिलो प्याकेजको ठेक्का पाएको हो,” उनले भने । उनका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो । आयोजनाको प्याकेज दुई अन्तर्गत भने करीब रु एक अर्ब खर्च भइसकेको छ । प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाईसमेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ । प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहँु तर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालू आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत् गृहको काम भइरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ ।
नेपालसँग सडकले जोडियो भारतको सिक्किम
पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो । सिक्किम (भारत)ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए । नेपालले २०७० सालमा चिवाभञ्ज्याङसम्म सडकको ट्र्याक विस्तार गरेको थियो । भारततर्फ पश्चिम सिक्किमको उत्तरे बजारसम्म वर्षौंअघि सडक आइपुगेको थियो । सिक्किमले सन् २०१९ मै चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्ने चर्चा चले पनि निर्माणले गति लिन सकेको थिएन । भौगोलिक कठिनाइका कारण उत्तरेबाट सीमा क्षेत्रसम्म सडक विस्तार कार्यमा ढिलाइ हुँदै आएको थियो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको सरकारले सीमासम्म सडक विस्तार गर्ने तथा उत्तरे बजारलाई व्यापारिकरूपमा विकास कार्यलाई प्राथमिकता राखेअनुसार पछिल्लो पटक निकै द्रूत गतिमा सडक निर्माण भएको सीमा क्षेत्रका नेपालीको भनाइ छ । विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो । सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ–उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ । उत्तरे बजारबाट सोकपाखा, जरिबुटे, भालुवाले हुँदै सडकको ट्र्याक सीमासम्म विस्तार गरिएको हो । पछिल्ला केही वर्षमा निकै दुर्गम भूगोलमा करीब २५ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो । नेपालले चिवाभञ्ज्याङसम्म सडक पु¥याएपछि पनि भारततर्फ सडक विस्तार नहुँदा सीमा क्षेत्रका नेपाली चिन्तित थिए । तर सीमासम्म भारतले सडक ल्याएपछि उनीहरु खुशी देखिन्छन् । अब चिवाभञ्ज्याङमा व्यापारिक नाका खोलिनुपर्ने तथा व्यापारिक सम्बन्ध स्थापित हुनुपर्ने उनीहरूको माग छ । “उत्तरेको विकास गर्ने भनेर सिक्किम सरकार लागिपरेको सुनेका छौँ”, याङवरक–२ का स्थानीयवासी सन्त बेघाले भने, “एकापट्टि मात्रै काम गरेर पुग्दैन । दुवैतर्फ व्यवस्थित सडक निर्माण र व्यापारिक नाका स्थापना हुनुपर्छ ।” पदयात्रा सहयोगी एवं गोठ सञ्चालक डिकबहादुर राई पनि नाका खोलिनुपर्ने, आवत–जावत र व्यापार सहज हुर्नेमा जोड दिन्छन् । “सीमित भए पनि सीमा क्षेत्रका हामी अधिकांश सामग्री सिक्किमबाट खरीद गर्छौं”, राईले भने, “नाका खोलियो भने नागरिकलाई सुविधा त हुन्छ नै सरकारलाई समेत फाइदा मिल्छ ।” अहिले भारतबाट खरीद गरिने सामग्री यहाँसम्म ल्याइपु¥याउन ढुवानीमा धेरै खर्च हुने गरेको छ । सिक्किमबाट खरीद गर्न सके छोटो दूरी हुने हुँदा सामग्री कम मूल्यमा नेपाली उपभोक्ताले प्राप्त गर्न सक्दछन् । यस्तै सीमा क्षेत्रका पर्यटकीयस्थलहरू भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । सडकको सुविधा नहुँदा पर्यटकको सङ्ख्या कम हुने गरेको पदयात्रा सहयोगी राईको भनाइ छ । अहिले पनि भारततर्फ सडकको ट्र्याक मात्रै खोलिएको छ । सवारी सञ्चालनका लागि सडक कठिन भएकाले घुम्न आउनेको सङ्ख्या वृद्धि हुन सकेको छैन । व्यापारिक नाका स्थापित हुनसके भारततर्फ समेत पूर्वाधार निर्माणले गति लिने भएकाले यसका लागि कूटनीतिक पहल गरिनुपर्ने स्थानीयवासीको माग छ । नेपालतर्फ भने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड ५१ किलोमिटरको कालोपत्रको ठेक्का लागिसकेको छ । दुवै देशका सीमा क्षेत्रका स्थानीयवासीबीच बिहेवारी हुने गरेको छ । विगतमा गोठबाट गाँसिएको साइनो पारिवारिक सम्बन्ध हुँदै दुई देशबीचको मैत्री सम्बन्धमा परिणत हुने गरेको छ । यसकारण चिवाभञ्ज्याङ नाका हुँदै आवतजावत गर्नेको सङ्ख्यासमेत उल्लेख्य हुन्छ । पारिवारिक सम्बन्ध भए पनि यातायातको सुविधा नहुँदा कैयौँ सर्वसाधारणले आफन्त भेट्न पाएका थिएनन् । दुवै देशतर्फ सडकको स्तरोन्नति हुनसके दैनिक आवागमन अझै बढ्ने स्थानीयवासी बताउँछन् । सिक्किमको नेपालको पाँचथर र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको छ । रासस