तीन महिनामै साढे ९ कराेड बजेट सकिएपछि नाग्मा–गमगढी सडककाे स्तरोन्नति राेकियाे
खलङ्गा । बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा नौ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो । बजेट सकिएपछि सङ्घीय सरकारले दोस्रो चरणमा पाँच करोड छुट्याएको थियो । उक्त रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो । “लागत अनुमानअनुसार काम भएको छैन”, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले भने, “बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ ।” बजेट अभावले ठेकेदारलाई १२ करोड भुक्तानी गर्न समस्या भएको डिभिजन प्रमुख भण्डारीले बताए । सो सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि २० करोड आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । ३४ किलोमिटरमा ग्राभेल चालु आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको प्रमुख भण्डारीले बताए । मुगुको गमगढीबाट कालिकोटको नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ र थोकेर, हिरा र नमिता खड्का, कृष्ण र गाल्वा बानियाँ तथा शङ्कर निर्माण सेवाले लिएका छन् । चालु आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । १० ठाउँमा आरसिसी पुल चालु आवमा सडकको १० ठाउँमा आरसिसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरु गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्लासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो । यसका लागि ८० करोड आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताए । सो सडक कालोपत्र गर्न सङ्घीय सरकारसँग रु तीन अर्ब बजेट माग गरिएको छ । सडकमा यातायातका साधन चल्न शुरु भएको नाग्मा–गमगढी सडक नौ वर्षपछि सरकारले स्तरोन्नतिको काम शुरु गरेको थियो । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीयवासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको स्थानीयवासी पदम महतले बताए । रासस
वृज सिमेन्टद्धारा नेपाल स्टारका सिद्धान्त खड्कालाई घर बनाउन सिमेन्ट हस्तान्तरण
काठमाडाैं । वृज सिमेन्टले सांगितिक रियालीटि शो कार्यक्रम नेपाल स्टारको सिद्धान्त खड्कालाई घर बनाउन सिमेन्ट दिएकाे छ । नेपाल टेलिभिजनबाट प्रसारित उक्त शाे काे उत्कृष्ट ६ मा पर्न सफल खड्कालाई कम्पनीले सिमेन्ट दिएकाे हाे । वृज सिमेन्ट इण्डष्ट्रिजले उनको झापा जिल्लाको केर्खामा अवस्थित आफनै निवासमा उधोगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको हो । उनकाे घर निर्माणका लागि चाहिने सबै सिमेन्ट आफुहरुले नै उपलब्ध गराइदिने कम्पनीका कार्यकारी निर्देशक मोहित केडियाले बताएका छन् । खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरी उत्कृष्ट छैटौ स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । नेपाल स्टारको पावर प्याक गायकको रुपमा सिद्धान्त खड्कालाई निर्णायकहरुले लिएका थिए । उक्त्त सहयोग पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले प्रदान गरेकाे हो । स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको गैर नाफामुलक सामाजिक संस्थाको रुपमा रहेको छ ।
मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञहरुले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो”, आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले भने। विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए । रासस