नयाँबसपार्क-कुलेश्वर करिडोर निर्माण गर्न १३ करोड ४९ लाख खर्च लाग्ने, चारवटा अण्डरपास हुने
काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम-पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ । निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले विसं २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३.५ किलोमिटर सडक निर्माण कार्य भइरहेको जानकारी दिए । “हालसम्म नयाँ बसपार्कदेखि बालाजुसम्मको एक किलोमिटर र शोभाभगवती क्षेत्रमा ५०० मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ”, उनले भने । उक्त सडक कालोपत्रेसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी आवतजावतमा सहज हुनेछ । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा करिडोर निर्माणको काम अगाडि बढाएका थिए । सोही समयमा विष्णुमति करिडोरसँगै बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोरसमेत सञ्चालनमा ल्याइएको थियो । नयाँबसपार्क-कुलेश्वर करिडोर निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको १३ करोड ४९ लाख २५ हजार ५४६ रुपैयाँ खर्च हुनेछ । उक्त करिडोरमा नयाँ बसपार्क, शोभाभगवती, डल्लु, कुलेश्वरमा चारवटा अण्डरपास हुनेछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने सवारी जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताए । “करिडोर निर्माणसँगै विष्णुमति करिडोरका सडकमा हुने सवारी जाममा कमी आउँछ”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३५ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र १२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । रासस
बागलुङमा पर्यटन मन्त्रालयद्वारा तीन पूर्वाधारमा १५ करोडकाे साझेदारी
बलेवा । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवर्धन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा साझेदारी गर्ने भएको छ । सोका लागि झण्डै १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको गत माघ २९ गतेको मन्त्रीस्तरिय बैठकले आयोजनाको छनोट तथा बजेट विनियोजन गरेको हो । गण्डकी प्रदेशमा सबैभन्दा धेरै योजना बागलुङ र गोरखामा सञ्चालन हुनेछन् । यी जिल्लामा तीन÷तीन योजना छनोट भएका मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ । बागलुङ नगरपालिका– ५ र ६ को मालिका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण तथा पर्यटन प्रबद्र्धन आयोजना सञ्चालन हुने भएको छ । पाँच करोड ६५ लाखको योजनामा तीन करोड ६५ लाख मन्त्रालयले र एक करोड ९६ लाख नगरपालिकाले साझेदारी गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए। गलकोट नगरपालिकामा गलकोट टेउवा मूर्तिकला सङ्ग्रहालय निर्माण तथा घुम्टेसम्म सडक पहुँच विस्तारको योजना छनोट भएको छ । दुई वर्षमा सकिने सात करोडको लागतको यो योजनाका लागि मन्त्रालयको चार करोड ५५ लाख अनुदान र नगरपालिकाको दुई करोड ४५ लाख साझेदारी रहने छ । ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरिएको छ । दुई करोड ६६ लाखको योजनाका लागि एक करोड ८६ लाख मन्त्रालय र ८० लाख गाउँपालिकाले साझेदारी गर्नेछन् । रासस
इलाममा सिँचाइ आयोजना: १६ वटा बन्दै, २७ वटा बन्ने
इलाम । पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पु¥याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएको छ । अब इलाममा २७ नयाँ योजना बन्ने भएका छन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने यस परियोजनाका फिक्कल क्लष्टर संयोजक केशव लामाले जानकारी दिए । इलाम र सूर्योदय नगरपालिका, रोङ, चुलाचुली, माङसेबुङ र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयले कन्याम फाजिगाउँ, साउने खोला र ढकालगाउँ सिँचाइ आयोजना निर्माणका क्रममा छन् । यस्तै, रोङ गाउँपालिकामा झटारे र जुरेखोला हुँदै लाप्चागाउँ सिँचाइ आयोजना बन्दै छन् । चुलाचुली गाउँपालिकामा चारहाजारे कुलो, फुङनाम, सन्दकपुर गाउँपालिकामा सानीमाई खरीबोटे र चैतेटारी सिँचाइ आयोजना बन्ने क्रममा छन् । माङ्सेबुङ गाउँपालिकामा पार्टीगाउँ र रतुवा कोप्चे र देउमाइ नगरपालिकामा झुत्रे मुलखर्क, लुम्धे इरिगेसन प्रोजेक्ट र झुत्रे सिम्ले कुलो आयोजना बन्दै छन् । ती आयोजना निर्माणमा स्थानीय तहले २०, उपभोक्ताले १० प्रतिशत र बाँकी रकम प्रदेश सरकार र सङ्घीय सरकारले व्यहोर्ने गरेका हुन् । साना सिँचाइ परियोजना कार्यान्वयनको लागि प्रत्येक स्थानीय तहमा कार्यालय स्थापना हुने क्रममा रहेको लामाले बताए । यस्तै, भर्खरै सम्झौता भएका सिँचाइ आयोजना पनि जिल्लाका तह पालिकामा छन् । देउमाई तथा सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा पाँच÷पाँच आयोजना बन्ने सम्झौता भएको छ । इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकामा चार÷चार सिँचाइ आयोजना बनाउने सम्झौता भएको संयोजक लामाको भनाइ छ । यी परियोजनामध्ये देउमाई नगरपालिकामा एक करोड ६६ लाख ४० हजार, इलाम नगरपालिकाका एक करोड २४ लाख ८० हजार, माङ्सेबुङ गाउँपालिकामा एक करोड ६६ लाख ४० हजार लागत अनुमान गरिएको छ । यस्तै, रोङ गाउँपालिकामा एक करोड २४ लाख ८० हजार, सूर्योदय नगरपालिकाको दुई करोड ३५ लाख १९ हजारका योजना रहेका छन् । इलामसहित पाँचथर, तेह्रथुम, खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, धनकुटामा आयोजना सञ्चालन हुने जनाइएको छ । यसअघि पनि खोटाङ, उदयपुर र ओखलढुङ्गा जिल्लामा पहिलो चरणको कार्यक्रम कार्यान्वयन भइसकेको छ । रासस