स्थानियकाे अवराेधकाे कारण सुर्खेत विमानस्थल निर्माण अन्योलमा

सुर्खेत । सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन र त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन कार्य नै अगाडि बढ्न नसक्दा विमानस्थलको निर्माण कार्य अन्योलमा परेको हो । स्थानीयवासीले प्राविधिक कर्मचारीलाई फिल्डमा गएर काम गर्न नदिएपछि निर्माण कार्य स्थगन भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । “स्थानीय नागरिक सरोकार समिति आएर लागत कार्य शुरु गर्न खोज्दा फिल्डमै अवरोध भयो,” कार्यालय प्रमुख पन्थीले भने, “प्राविधिकलाई काम गर्न अवरोध भएपछि अहिले विमानस्थलको कुनै पनि काम अघि बढ्न सकेको छैन ।” प्रविधिलाई नै बल प्रयोग हुने अवस्था आएकाले काम रोकिएको उनले बताए । उनले भने, “एकातिर स्थानीयवासीले सकेसम्म विमानस्थलको काम नभइदिए हुन्थ्यो भन्नुभएको छ भने अर्कोतर्फ विकास विरोधी पनि नभएको बताउनुहुन्छ । पिलगत सङ्कलन स्थगनले थप काम हुनसकेको छैन ।” मुख्यमन्त्रीको संयोजकत्वमा बसेको बैठकले सर्वदलीय, सर्वपक्षीय, उच्चस्तरका व्यक्ति सम्मिलित सहजीकरण समिति गठन गरी विमानस्थल निर्माणमा आइपरेका बाधा फुकाउनका लागि आउने समस्याको सहजीकरण गर्ने गरेको निर्णयअनुसार काममा आएको वातावरण सहज बनाइदिन भनेर सरोकार समितिले दिएको निवेदन त्यतै पठाएको उनले जनाए । उनका अनुसार विमानस्थल पूर्व पश्चिम थोरै फैलिने छ । उत्तरमा १८० मिटरका हिसाबले ५१० मिटरसम्म ९० मिटरमा ६० मिटर चौडाइमा विस्तार हुनेछ । दक्षिणतर्फ फेन्सिङ लाइनबाट ४०० मिटर लम्बाइ र चौडाइ ४० देखि ६० मिटरमा फैलिने गरी चारै दिशाको जमीनको क्षेत्रफल तोकिए पनि मिडियाले आ–आफ्नै ढङ्गले लेखिदिँदा झन समस्या आएको प्रमुख पन्थीको भनाइ थियो । सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समितिका संयोजक टीकाराम आचार्यले विमानस्थल विस्तार भन्दा विकल्प खोज्नु पर्ने बताए । संयोजक आचार्यले भने, “सुर्खेत विमानस्थलको न दिगोपन छ, न त प्राविधिक दृष्टिकोणले यसलाई उपयुक्त मान्न सकिन्छ । आर्थिक लागत र यसबाट विस्थापित हुनेको व्यवस्थापनको चुनौतीले पनि विमानस्थलको विकल्प खोज्नु अझ बढी फाइदा छ । उनले मुआब्जा घटी बढी के हुने भन्नेतर्फ नागरिकको सरोकार नरहेको बताउँदै विमानस्थल विस्तारबाट नगरपालिकाभित्रका १० र १२ वडाका समुदायका ९२३ घर, विद्यालय, सहकारीलगायतका सार्वजनिक संस्था विस्थापित हुने भएकाले तिनको व्यवस्थापन तथा मुआब्जामै २० अर्ब खर्च लाग्ने भएकाले सरकारलाई विकल्प खोज्न आग्रह गरिएको जनाए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले यो समस्याको समाधानको अधिकार क्षेत्र प्रदेश तथा स्थानीय सरकारको रहेको बरु आफ्नो तर्फबाट समन्वय गरिरहेको जनाए । मुआब्जालगायतका विविध पक्षमा आउने समस्याका विषयमा प्रशासनले काम गर्ने प्रजिअ रेग्मीको भनाइ थियो । यता वीरेन्द्रनगर नगरपालिकाकाले विमानस्थलको विकल्प खोज्नु पर्ने निर्णय गरिसकेको छ । नगरपालिकाले कार्यपालिकाको निर्णयसहित कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नागरिक उड्डयन कार्यालय काठमाडौँलाई विमानस्थल निर्माणको विकल्प खोज्न पत्राचार गरिसकेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले विमानस्थल निर्माणको विकल्पका बारेमा सरोकारवालासँग गर्ने छलफल गर्ने र त्यही अनुरुप अघि बढ्ने बताए । विकासमा अवरोध आउने र बजेट फ्रिज जाने सवालमा सबै सरोकारवालालाई संवेदनशील हुन प्रवक्ता केसीले आग्रह गरेका छन् । यही गएको असोज १५ गतेका दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कर्णाली प्रदेश सरकारबीच ५०/५० प्रतिशत व्यहोर्ने गरी अर्बको लागतमा विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने समझदारी भएको थियो । वीरेन्द्रनगर नगरपालिकाको विकल्प खोज्ने निर्णय र प्रभावित क्षेत्रका समुदायको विरोधले हाल विमानस्थल निर्माण कार्य अन्योलमा परेको छ । रासस

म्याग्दीकाे दानामा सडक निर्माण

म्याग्दी । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा विभिन्न विकास आयोजना निर्माण भएका छन् । यसअघि फगाम, सुवामा सडक निर्माण गरेको आयोजनाको सहयोगमा वडा कार्यालय भवन ढलान र ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको हो । आयोजनाको ठेकेदार कम्पनी टाटाले जलथले, फगाम, सुवा हुँदै दुवारीखोला जोड्ने सडक निर्माण गरेको थियो । प्रसारण लाइनको टावर निर्माणस्थलमा सामग्री ढुवानी गर्न निर्माण भएको यो सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । दुवारी खण्डमा पहिरोले भत्काएको सडक मर्मत गरेमा जलथले–दुवारी खण्डको बेनी–जोमसोम सडकको विकल्प बन्ने वडाध्यक्ष नरसिंह पुर्जाले बताए । अहिले फगाम र सुवाका बासिन्दाले आवतजावतका साथै कृषि उपज निकासी र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा यो सडक प्रयोग गरेका छन् । चार किलोमिटर दूरीको यो सडक निर्माण गर्न टाटाले करिब ५५ लाख खर्च गरेको जनाएको छ । यसैगरी आयोजनाको रु १२ लाख सहयोगमा दानास्थित वडा कार्यालय भवन ढलान गरिएको छ । यसअघि वडा कार्यालयको भवन जस्तापाताले छाइएको थियो । जस्पातापाता हटाएर ढलानसँगै भवनभित्रका कोठा मर्मतसमेत गरिएको वडाध्यक्ष पुर्जाले बताए । यसअघि भवन चुहिने समस्या थियो । भवन मर्मत र ढलान गरेपछि सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष पुर्जाले बताउनुभयो । यसैगरी दानाको घट्टेखोलास्थित बेनी–जोमसोम सडकबाट ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको छ । सडक निर्माणका लागि आयोजनाले गाउँपालिकामार्फत उपलब्ध गराउने गरेर रु २० लाख विनियोजन गरेको थियो । नालीसहित छ मिटर फराकिलो ४०० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुरत केसीले बताए । सडकको दुईतर्फ पर्खाल निर्माण भएको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको छ । अध्यक्ष केसीले सडक, नाली र पर्खाल निर्माणको काम सकेर गाउँपालिकामा भुक्तानीको प्रक्रिया अघि बढाएको बताए । नमूना विद्यालयमा छनोट भएको विद्यालयसम्म सहज पहुँच पुग्नुका साथै दानागाउँका बासिन्दालाई आवतजावत र ढुवानीमा सुविधा पुगेको उनले बताए । यसअघि साँघुरो सडकमा सवारी साधन र मानिस आवतजावत गर्न समस्या भएको थियो । जलविद्युत्, प्रसारण लाइनलगायत विकास आयोजनाले कूल लागतको ०.७५ प्रतिशत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार सामाजिक गतिविधिमा खर्च गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रसारण लाइन प्रभावित क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर आवश्यकताका आधारमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ । रासस

एक करोड ४० लाख लागतमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा पुल निर्माण सुरु

गण्डकी । पुलकै अभावमा लामो समयसम्म ओझेलमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेराबेँसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा यतिखेर भने समृद्धि र विकासको आशा जाग्दै गएको छ । तालखोला र खुदी खोलाको दोभानमा लामो समयसम्म पुल नबन्दा धेरै सम्भावना भएर पनि ओझेलमा परेको यस क्षेत्रका स्थानीयवासी यतिखेर भने पोखरा महानगरपालिका–३२ गगनगौँडा र तनहुँको शुक्लागण्डकी–२ जोड्ने गरी दोभानमा पुल निर्माण हुन थालेपछि उत्साहित बनेका हुन् । कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबेँसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेका अवस्थामा गण्डकी प्रदेश सरकारको रु तीन करोड ७५ लाख १२ हजार लागतमा पक्की पुल निर्माण गर्न लागिएको हो । रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको यो खोलामा दुई दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । वर्षेनि खोलामा मानिस बग्न थालेपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको तत्कालीन भोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए । उक्त समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बनेको जनाउँदै उनले झोलुङ्गे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजीकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताए । पक्की पुलको आवश्यकतालाई महसुस गरी अधिकारीकै अध्यक्षतामा गठित खुदी खोला तालखोला दोभान पुल निर्माण उपभोक्ता समितिको निरन्तर क्रियाशीलतासँगै पछिल्ला समयमा स्थानीय तहले समेत देखाएको जागरुकताले यतिखेर पुल निर्माण कार्य अघि बढिरहेको छ । आगामी असार मसान्तसम्म पुलको निर्माण कार्य सक्ने लक्ष्य रहेको जानकारी दिँदै अध्यक्ष अधिकारीले खोलामा रहने तीनवटा जीपमध्ये दुईवटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। पक्की पुलको अभावमा सेराबेँसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उहाँले यसको निर्माणले स्थानीयमा आशा जगाएको उल्लेख गरे । “पुलको अभावले स्थानीयवासीको आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पु¥याउन असहज भएको थियो”, उनले भने, “पुलको निर्माणसँगै हुने उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउने छ ।” सेराबेँसी, नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहाँरा, तल्लोपोखरी, काठेपीपल, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित हुनेछन् । पुल सम्पन्न भएसँगै थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्काजस्ता पर्यटकीयस्थलको विकास एवम् प्रवद्र्धन हुन नसकेको, सेराबेँसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउन विश्वास लिइएको छ । गण्डकी प्रदेशको राजधानी पोखरासँग अत्यन्त नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेँसीलगायत स्थानका बासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल बताउँछन् । सरोकारवाला सबैको साथ र सहयोगका साथै स्थानीय तहको क्रियाशीलतामा प्रदेश सरकारको सहयोगमा पुलको निर्माण अघि बढेको उनले बताए । पुल निर्माणको विषय लामो समयदेखि चले पनि यसले सार्थकता पाउन नसकेको बताउँदै उनले पुल निर्माणका लागि दुईदुईपटक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको जानकारी दिए । पर्यटकीय नगरी पोखराबाट दूरीका हिसाबले नजिक रहेर पनि पुलकै अभावमा पर्यटकीय उपयोग हुन नसकेको स्थल थप्रेकको समग्र विकासका लागि पनि निर्माणाधीन पुल बरदान साबित बन्ने उनले विश्वास व्यक्त गरे । स्थानीयवासीको समृद्धि र विकासको चाहनालाई पूरा गर्न आफूहरू निर्वाचित भइसकेपछि निरन्तर लागिरहेको उल्लेख गर्दै पौडेलले वडाभित्र लगभग रु साढे दुई करोडको लागतमा मकैमुरो खानेपानी आयोजनासहितका नौदशवटा खानेपानी योजना सम्पन्न गरिसकिएको बताए । शहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेँसीलगायत स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने विश्वास लिइएको छ । सेराबेँसीलगायत स्थानका स्थानीयवासीका लागि भौतिक विकासका साथै शिक्षा, स्वास्थ्यलगायत हरेक कुराको पहुँच वृद्धिमा निर्माणाधीन पुल महत्वपूर्ण बन्ने पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चापसमेतलाई कम गर्नका लागि निर्माणाधीन पुल सम्पन्न भएपछि रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गको विकास गर्न सकिने उनले बताए । पुलको निर्माणले कृषिजन्य उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको शिक्षा, स्वास्थ्य रोजगार आदिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको समाजसेवी एवम् पुल निर्माण सहयोग समितिका सदस्य अर्जुन मल्लले बताए । पछिल्ला वर्षमा खोला किनारमा बढ्दै गएको भूक्षय नियन्त्रणमा पनि पुल निर्माणसँगै चासो बढ्ने उनको भनाइ छ । पुलकै अभावमा पाँच÷सात मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा अहिले तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिन यहाँका स्थानीयवासी बाध्य छन् । तनहँुको कोत्रेहुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका शहीद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको छ । त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको छ । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेकहुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने स्थानीयवासीको तर्क छ । दोभानको पुलसँगै शुक्लागण्डकीको सेराबेँसीमा रहेको गुवे खोलामा शुक्लागण्डकी नगरपालिकाको सहयोगमा एक करोड ४० लाखको लागतमा पुल निर्माण गर्न लागिएको शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए । बाटोमा पर्ने सानातिना खोलामा पुलका साथै अन्य आवश्यक पूर्वाधार विकासले क्रमिक गति लिँदै गएको अवस्थामा पक्की पुलको आवश्यकता झन् बढ्दै गएको छ । पुल नहुँदा लगभग पाँच वर्षयता हिउँदको समयमा स्थानीयवासीले आफ्नै खर्चमा मोटरसाइकल तथा अन्य सवारीसाधन आवतजावतका लागि कलभर्ट राख्न थालेको तालखोला कलभर्ट निर्माण समितिका सचिव ठाकुरप्रसाद खनालले जानकारी दिए । हिउँदको समयमा आफूहरूले आफैँ खर्च जुटाएर असोजदेखि बर्सात शुरु नहुँदासम्म कलभर्ट हालेर सवारीसाधन आवतजावत गराउने गरेको बताउँदै उहाँले पछिल्ला वर्ष शुक्लागण्डकी–१ ले ह्युमपाइप झिक्न र राख्न सहयोग गर्ने गरेको जानकारी दिनुभयो । निर्माणाधीन पुललाई समयमा नै सम्पन्न गरी वर्षौंदेखि शेराबेँसी सहत थप्रेक र आसपासका सर्वसाधारणले भोग्दै आएको दुःख कष्ट दीर्घकालीनरुपमा समाधान गर्नुपर्नेमा उनको जोड छ । रासस