समयमा काम सक्ने बागलुङका निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार

बलेवा । अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्वसाधारणले शनिबार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत हुँदा जोडले ताली बजाए । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको देशकै लामो (५६७ मिटर) झोलुङ्गे पुल उद्घाटनको कार्यक्रम थियो । विसं २०७६ वैशाख १ गते पुलको शिलान्यास गर्नुभएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक वर्षमा नै निर्माण सम्पन्न भएको पुलको उद्घाटन पनि आफैँ गर्दै थिए । शिलान्यासको समयमा निर्माण व्यवसायीलाई आफू बोल्ने समयमा प्रतिबद्धता व्यक्त गर्न लगाएका तिमिल्सिनाले उद्घाटनमा वाचा पूरा गरेको भन्दै निर्माण व्यवसायीलाई सम्मान र पुरस्कारसमेत दिए । शिलान्यासको समयमा निर्माणको जिम्मा लिएको थानी एण्ड हिमशिखर जेभीका प्रतिनिधि नरहरि खड्काले तोकिएको समयभन्दा छ महिना पहिला पुल निर्माणको काम सक्ने बताएका थिए । विसं २०७७ फागुनसम्म पुल निर्माणको अन्तिम मिति रहेको भए पनि वैशाखमा नै निर्माण सम्पन्न भएको थियो । खड्कालाई अध्यक्ष तिमिल्सिनाले ५० हजार नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरे । वाचा पूरा गरेर जनचाहनाअनुसारको काम गरेको भन्दै उनले धन्यवाद दिए । समयअगावै तोकिएको मापदण्डको काम गरेको भन्दै लुम्बिनी फाउण्डेशनका निर्देशक नीरजगोविन्द श्रेष्ठले २० हजार पुरस्कार दिए । बागलुङ नगरपालिकाले कम्पनीलाई प्रशंसापत्रले सम्मान गर्यो । ठेकेदारलाई पुरस्कारभन्दा खान नपाउनेलाई दिएको भए हुन्थ्यो भनेर प्रश्नहरु आउलान् भन्दै तिमिल्सिनाले भने, “मैले प्रोत्साहनका लागि पुरस्कार दिएको हुँ, काम गर्नेको सम्मान जरुरी छ ।” १२ करोड २२ लाख १८ हजारमा निर्माण सम्पन्न भएको पुल गत वैशाखदेखि नै सर्वसाधारणका लागि खुला गरिएको थियो । कोरोना भाइरस महामारीका कारण ढिला गरी यसको उद्घाटन भएको हो । पुरस्कार र सम्मानले आफूले जिम्मेवारी पाएका अन्य काम समयमा सक्ने जिम्मेवारी थपिएको खड्काले बताए । यो पुल निर्माणपछि बागलुङको जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउमा पर्वतको पाङवासीलाई सहज हुनेछ भने आन्तरिक पर्यटकका लागि यो पुल अब बागलुङको पहिलो गन्तव्य बनेको छ । “निर्माण सम्पन्न भएपछि उद्घाटन र हस्तान्तरण नहुँदै हामीले खुला गरेका थियौँ, दिनहुँ सयौँ जना यो पुल हेर्न आउने गर्नुभएको छ”, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन्, “छेवैमा रहेको कालिका, पञ्चकोट र कालीगण्डकी माथिको संसारकै लामो पुल पर्यटकको एउटा प्याकेज हो ।” रासस

कोरोनासँगै मूल्यवृद्धिको मारमा परेको निर्माण क्षेत्रलाई ६५ अर्ब नोक्सान, विकासका काम २० प्रतिशत मात्रै

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको मारमा परेको निर्माण क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । करिब एक वर्षसम्म पूर्वाधार निर्माणको काम गर्न नपाएको निर्माण क्षेत्रले फेरि मूल्यवृद्धिको मार खेप्नु पर्दा ठूलो आर्थिक क्षति व्यहाेर्नु परेकाे हाे  । एक वर्षसम्म ठप्प रहेको विकास निर्माणका काम र अहिले विभिन्न निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो नोक्सान भएको बताइएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले लामो समयसम्म भएको लकडाउन र त्यसपछिका निशेधाज्ञा, सटडाउन र अहिले भएको मूल्यवृद्धिले निर्माण क्षेत्रमा ६५ अर्ब रुपैयाँ नोक्सान भएको बताए । ‘हामीले एक वर्षसम्म भौतिक पूर्वाधार निर्माणका काम गर्न नपाउँदा धेरै ठूलो आर्थिक क्षति व्यहोर्नु पर्यो, फेरि अहिले उद्योगीहरुले आफुखुसी रुपमा निर्माण सामग्रीको मूल्य बढाए, त्यसको मारमा पनि हामी पर्यौं, हालसम्म हामीलाई ६५ अर्ब रुपैयाँ नोक्सान भइसकेको छ,’ उनले भने । उनका अनुसार अहिले निर्माण सामग्रीमा मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । उनले निर्माण सामग्रीको मूलयवृद्धि सँगै विकास निर्माणका काममा पनि सुस्तता आएको बताए । सम्पूर्ण निर्माण सामग्रीको मूल्यवृद्धि भएसँगै निर्माण व्यवसायीहरु पनि समस्यामा परेको उनको भनाई छ । कोरोना भाइरसको कारण ठप्प भएको निर्माण क्षेत्रको काम अहिले पनि मूल्यवृद्धि हुँदा सुस्त नै छ । अध्यक्ष सिँहका अनुसार अहिले उद्योगीहरुले निर्माण सामग्रीको मूल्य आफुखुसी बढाएका हुन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य बढे पनि नेपालमा त्यो सामग्रीको मूल्य बढ्न साढे दुई महिना जति समय लाग्छ तर अहिले नेपालमा दिनप्रतिदिन मूल्यवृद्धि भइरहेको छ । हाल नेपालमा निर्माण सामग्रीकाे मूल्य ४० देखि ५५ प्रतिशतले बढेकाे छ । ‘भारत वा अन्य देशमा निर्माण सामग्रीको मूल्य बढ्यो भने त्यसको असर नेपालमा साढे दुई महिनामा पर्छ, अहिले उद्योगीहरुले अन्तर्राष्ट्रिय रुपमा नै मूल्य बढेको भनेर बोलिरहेका छन्, जुन वास्तविक होइन, उनीहरुले निर्माण सामग्रीमा कार्टेलिङ गरिरहेका छन्,’ अध्यक्ष सिँहले भने । उनका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा निर्माणका काम गर्न समस्या भइरहेको छ । आफुहरुले सरकारसँग विभिन्न समयमा छलफल तथा आफ्ना मागहरु राखे पनि त्यसको सुनुवाई नभएको उनको भनाई छ । ‘अहिले निर्माणको सिजन समय हो, मूलयवृद्धि भएपनि फेरि काम किन रोक्ने भनेर हामी जवरजस्ती काम गरिरहेका छौं, अहिले पनि काम गरेन भने यो वर्षको सिजन पनि जान्छ भनेर एकदमै तनाव लिएर काम गरिरहेका छौं,’उनले भने । उनका अनुसार राज्यले म्याद थप गरिदिने र भुक्तानी गरिदिने हो भने जुन काम गतिमा हुन सक्ने उनको भनाई छ । उनका अनुसार अहिले २० प्रतिशत काम भइरहेको छैन । आफुहरुले अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्रीलगायतसँग मूल्यवृद्धिको कूरा राखिसकेको भएपनि कसैले चासो नदेखाएको उनले बताए । ‘नेपाल सरकारले दिनु पर्ने मूल्यवृद्धि अर्थात, इन्डेक्स पनि सहि रुपमा आउँदैन, इन्डेक्समा ५/६ प्रतिशतको वृद्धि देखाउँछ तर हामीले वृद्धिदर ४० प्रतिशत भोग्नु परेको अवस्था छ, सानो सानो समयावधिका अर्थात १५ महिनाभन्दा तलका आयोजनाको मूलयवृद्धि दिइ्ँदैन तर यो दुई महिनाको बिचमा कात्तिक र मंसिरको बिचमा मूल्यवृद्धि ४५ प्रतिशत भएको छ । यसलाई पनि सम्बोधन गर्नु पर्यो भनेर सकारसँग अुनरोध गरेका छौं,’ उनले भने ।

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

काठमाडाैं । कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । उनका अनुसार गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो । उनले भने, “समयमै सकाउन सकिन्छ भन्ने लागेको छ ।” सुरुङमार्गमा अहिले २०÷२२ जना जापानी र ३०० नेपाली काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ । जुन गतिमा गर्नुपर्ने हो अझै पनि त्यो गतिमा गर्न नसकिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाप्रमुख अर्जुनजङ्ग थापाले बताए । उनका अनुसार दिनमा काम गर्ने घण्टा बढाउँदा धेरै काम अघि बढ्नेछ । उनले भने, “तोकिएको अवधि ४२ महिनामा नै सकाउने गरी काम भइरहेको छ ।” कतिपय सरकारी निर्णय प्रक्रियालाई समय लाग्ने कारणले पनि ढिलाइ भएको प्रमुख थापाको भनाइ छ । मुआब्जा वितरण, विद्युत्को पोल सार्नेलगायतका काममा बढी समय लागेको उनले बताए । कतिपय स्थानीयवासीले मुआब्जा लिने तर घर नभत्काएको पाइएको छ । त्यस्तै नेपाली सेनाले विस्फोटक पदार्थ ल्याउन अनुमति दिन निर्णय गर्न लामो समय लगाउँदा पनि ढिलाइ भएको थियो । उनले भने, “निर्माण कम्पनीले काम गर्न खोज्दा पनि हामीले नै प्रक्रियागत कुरा सकाउन बढी समय लागेको थियो ।” आयोजनाअन्तर्गत छ पुल निर्माण गर्नुपर्नेमा तीन पुल सकिएको प्रमुख थापाले जानकारी दिए । नैकाप नजीकै अन्डरपास बनाउन जग खनेर तयारी भइरहेको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने उनले जानकारी दिए । सुरुङमा यसअघि मेसिनले कोतरेर खन्ने काम काम भएको उनले जानकारी दिए । उनले भने, “जापानिजले गर्ने काममा मेसिनबाटै बढी हुन्छ ।” कतिपयले स्थानीयवासीले पहिले विभिन्न कारण देखाएर आयोजना निर्माणमा अवरोध गर्न खाजेका थिए । अहिले त्यो समाधान गर्दै निर्माण भइरहेको प्रमुख थापाले बताए । सुख्खा ठाउँ भएकाले सुरुङको काठमाडौँपट्टि वर्षेनि खानेपानीको अभाव हुने गरेको छ । आयोजनाले सुख्खा मौसममा सर्वेक्षण गर्दा पानीको अभाव देखिएको थियो । विकल्प खोज्नुपर्छ भनेर आयोजनामा डिप बोरिङलगायत योजना रहेको उनले बताए । सुरुङ खन्न बाँकी भए पनि कतिपयले यसकै कारण अभाव बढेको त कतिपयले पूरै वडासम्म र निःशुल्क पानी माग गरेका छन् । सुरुङ जमीनको एक सय मिटरमुनि हुने र माथि घर बनाउने, खेती बनाउने गर्न मिल्ने भए पनि त्यहाँका मानिसले मुआब्जा मागेको उनको भनाइ छ । उनले भने, “सुरुङमा घर पनि बनाउन पाउने र मुआब्जा पाउने भन्नेछ ।” गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुईवटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गामाटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ । जाइकाको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न प्रक्रिया शुरु भएको दुई वर्षपछि मात्रै निर्माण थालिएको थियो । रासस