कामपाले छ महिनामै सम्पन्न गर्याे ६९ पूर्वाधार निर्माणका योजना, थप १०९ कार्यक्रम तय गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ । यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ । त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । नौ सय ७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । दुई सय एक चालु अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ रु एक अर्ब ६२ करोडको योजना छन् । सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् । त्यसैगरी आयतर्फ अहिलेसम्म तीन अर्ब १० करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा चार अर्ब २२ करोड रुपैयाँ सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो छ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ । सङ्कलित रकममध्ये रु एक अर्ब ७५ करोड अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् । कामपाले चालु आवमा १४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट तीन अर्ब एक करोड रुपैयाँ छ । रासस

पिपुल्स हाइड्रोपावरले साढे ८२ करोड रुपैयाँको सेयर निष्काशन गर्दै, बिक्री प्रबन्धक सानिमा क्यापिटल

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जारी पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । प्रवर्द्धकको तर्फबाट १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ लगानी भईसकेको र सर्वसाधारण लगानीकर्ता तथा स्थानीयबासीको तर्फबाट ८२ करोड ५० लाख पुँजी जुटाउन लागिएको कम्पनीले जनाएको छ । पिपुल्स हाइड्रोपावरले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो क्रममा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । लमजुङ्ग जिल्लामा निर्माण गर्न भईरहेको ५४ मे.वा. क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’को लागि पुँजी जुटाउन सेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त आयोजना निर्माणतर्फ करिव ७० प्रतिशत काम सम्पन्न भएको र २०७८ साल असोज महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

भाेजपुरकाे बाघखोर–खम्बुखा सडक निर्माण अन्तिम चरणमा

भाेजपुर । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोउन्नतिको काम अन्तिम चरणमा पुगेको छ । भोजपुरको रिङरोडको रुपमा विकास हुँदै गरेको सो सडक सङ्घीय सरकारको रु दुई करोडको लागतमा गत असोज महिनाबाट स्तरोउन्नतिको काम थालिएको हो । सडकलाई वर्षात्को समयमा यातायात सञ्चलान गर्ने गरी चौंडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्राभेल गर्ने, ग्याबिन भर्ने लगायतका काम भइरहेको छ । साघुँरो कच्चीबाटो त्यसमाथि वर्षात्को समयमा हिलाम्य बनेर यातायात सेवा अवरोध हुँदा वषौँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी सडक स्तरोउन्नति हुन थालेपछि खुशी भएका छन् । हिउँदको समयमा जसोतसो यात्रा गर्दै आएका यस क्षेत्रका स्थानीयवासी वर्षात्को समयमा भने यातयात सेवाबाट वञ्चित हुँदै आएका थिए । करीब ८ किलोमिटर क्षेत्र भोजपुर नगरपालिकाको भू–भागमा पर्ने भए पनि नगरपालिकाले बेवास्ता गर्दा टेम्केमैयुङ–१ तिम्माका बासिन्दा समस्या भोग्नु परेको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी उपेन्द्र राउतले भन्नुभयो, ‘‘यस क्षेत्रका हामीले वषौँदेखि सडकको समस्या भोग्दै आएका छौँ, आठ किलोमिटर सडक नगरपालिका क्षेत्रमा पर्ने भए पनि हालसम्म नगरपालिकाले एक रुपैयाँ पैसा लगानी गरेको छैन, यस क्षेत्रमा मानिसको बसोबास छ भन्नेसमेत नगरलाई थाहा छैन होला, तर अब भने वडा कार्यालयको पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरोउन्नतिको काम भइरहेको छ यसले हामीलाई राहत पुगेको छ ।’’ सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुग्ने वडा कार्यालयले जनाएको छ । साथै वडा कार्यालयले स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राख्दै केन्द्र र प्रदेश सरकारसँग पहल गरेर सडक विस्तारलगायत अन्य विकास निर्माणका काम गर्दै आएको जनाइएको छ । वडाध्यक्ष नरबहादुर राईले भने,‘‘भोजपुर सदरमुकामसँग सहज पहुँच बनाउने यो सडकको स्तरोउन्नति गरिरहेका छौँ, सडकलाई १२ महिना नै सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ, भोजपुरको रिङरोडको रुपमा विकास भइरहेको यो सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले पनि रु एक करोडको बोलपत्र आह्वान गरेर काम गर्ने तयारी गरेको छ ।’’ वडामा आउने थोरै बजेटमा पनि सरोकारवाला निकायसँग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । टोल बस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलिरहेकाले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिन भन्दा केही सहज भएको स्थानीयवासी बताउँछन् । सडकलाई बाह्रैमहिना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरुको भनाइ छ । स्थानीयवासी देवेन्द्र राउतले भने, ‘‘सडक विस्तार भएसँगै हाम्रो जीवनस्तरमासमेत परिवर्तन भएको छ, घण्टौँसम्म डोकोमा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो । अहिले घर दैलोबाट नै बजार लैजान पाएका छौँ, सडक विस्तारलगायत अन्य क्षेत्रमा वडा कार्यालयले खेलिरहेको भूमिकाप्रति हामी खुशी छौँ ।’’ कामलाई तोकिएको समय अगावै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी युडी विल्डर्सले जनाएको छ । सडक स्तरोउन्नतिको काम गत असोजमा सम्झौता भएको थियो भने आगामी चैत महिनामा सक्नुपर्नेछ । जिल्लाको महत्वपूर्ण रिङ रोडका रुपमा विकास भइरहेको गाउँपालिका क्षेत्रको करीब ७५ किलोमिटर क्षेत्रमा विस्तार हुने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । सो सडकले वडा नं १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण, ४ नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहुँचमा जोड्ने अध्यक्ष राईको भनाइ छ । उनले भने, ‘‘ यो महत्वपूर्ण सडकका रुपमा रहेको छ, अहिले तिम्मा खण्डमा करीब ९ किलोमिटर क्षेत्रमा काम भइरहेको छ, त्यो भोजपुर नगरपालिकाको पनि भू–भाग हो, हामीले यस क्षेत्रमा सडक विस्तारको लागि हालसम्म रु तीन करोड बजेट लगानी गरिसकेका छौँ । यस वर्ष पनि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।’’ रासस