दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो
म्याग्दी । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताए । “टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परीक्षण शुरु गरेका छौँ”, उनले भने, “सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ ।” करिब १५ दिनभित्र सबस्टेशन र प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ । एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको यो आयोजना लक्ष्यभन्दा दुई वर्ष ढिला सकिएको हो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणमा रु तीन अर्ब खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सन् २०१६ मा दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । “यो सबस्टेशन र प्रसारण लाइन कालीगण्डकी करिडोरको विद्युत् विकासको आधार हो”, उनले भने, “सबस्टेशन र प्रसारण लाइन कुरेर बसेका धेरै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउनेछन् ।” जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताए । पोखरेबगरका जग्गाधनीसँगको विवादले त्यहाँ छ टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो । आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण शुरु गरेको छ । रासस
अघि बढ्यो कोशी करिडोरको निर्माण
काठमाडाैं । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिइएको थियो । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको कोशी करिडोर खाँदबारी–किमाथाङ्का सडक योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको योजना प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “आगामी साता सूचना निकाल्नका लागि आयोजना निर्देशनालयले स्वीकृति दिइसकेको छ ।” सङ्खुवासभाको भोटखोला गाउँपालिकाको धोङगपाबाट च्याम्ताङसम्मको सडक ट्याक खुल्न बाँकी हो । खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किमी निर्माण भएको छ । नेपाल चीनको सिमाना किमाथाङ्काबाट धोङगपासम्म १४ किमी ट्याक उत्तरबाट दक्षिण खुलेको छ । बीचको खण्ड बाँकी मात्रै बाँकी भएको योजनाले जनाएको छ । जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ ट्याक खुलिसकेको छ । बाँकी १४ किमी सेनालाई दिइएको र अरु खण्डमा काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली सेना साइटमा जाने तयारी गर्दैछ । निर्माणाधीन सो राजमार्गमा विभिन्न स्थानमा कठिन भूगोल भएकाले एलाइमेन्ट लैजान गाह्रो भएको उनले बताए । उनले भने, “चट्टान नै चट्टान भएको ठाउँबाट सडक खोल्न गाह्रो भए पनि काम भइरहेको छ ।” राजमार्ग निर्माणका क्रमम भौगोलिक कठिनाइसँगै गत वर्ष कोभिडका कारण काममा बाधा पुगेको प्रमुख श्रेष्ठले बताए । निर्माण सामग्री नपाइने र पाउँदा पनि गुणस्तरीय नपाउने समस्या रहेको छ । राजमार्गको उत्तरतर्फ कतिपय स्थानमा १२ महिनामा जम्मा चार महिना मात्रै काम गर्न सकिनेछ । हिमाली क्षेत्रमा चैत वैशाखदेखि पानी पर्ने र भदौ असोजदेखि चाडपर्व र त्यसपछि चिसोका कारण काम गर्न कठिन रहेको प्रमुख श्रेष्ठले बताए । उनले भने, “मौसम र अरु कुरा सहज भएमा माघदेखि वैशाखसम्म मात्रै काम गर्न सकिन्छ ।” सरकारले अहिलेसम्म उत्तर दक्षिण करिडोरअन्तर्गतका राजमार्ग सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन । उत्तर दक्षिण आयोजना निदेशनालयले ट्याक खोलिसक्ने कामलाई नै प्राथमिकता दिएको छ । सेनाले नियमित काम गर्दा अबको झण्डै डेढदेखि दुई वर्षमा काम गर्नसक्ने बताउँदै आएको छ । चट्टान बढी भएकाले काम गर्न बढी समय लाग्ने उनको भनाइ छ । सो राजमार्गको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट अघि बढ्ने हुनाले वातावरणमा ध्यान पु¥याएर मात्रै काम गर्नुपर्ने प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११२ किमी सडक मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा त्यसमा काम शुरु गर्न गाह्रो थियो । गत वर्षसम्म पनि वातावरण प्रभाव मूल्याङ्क (इआइए) नभएकाले काम गर्ने वातावरण बनेको थिएन । सडक निर्माण अघि बढान खोज्दा निकुञ्जबाट अवरोध आएको थियो । उनले भने, “गत फागुनमा स्वीकृत भएपछि यस क्षेत्रमा काम भइरहको छ ।” सो करिडोरमा सडकको अधिकार क्षेत्रको ठूलो समस्या नभएको बताइएको छ । अरुण तेस्रो परियोजनाले सङ्खुवासभा जिल्लोको फाक्सीन्दादेखि अरुण तेस्रो परियोजनासम्म ३० मिटरमा मुआब्जा दिइसकेको छ । उनले भने, “त्यसबाहेक अरु ठाउँमा मुआब्जा नदिइएको भए पनि स्थानीयवासीको असन्तुष्टि छैन ।” राजमार्ग निर्माणाधीन भए पनि ट्याक खुलेको स्थानमा सवारीसाधन चल्न थालेको योजनाले जनाएको छ । खाँदबारीबाट ८० किमी परसम्म सवारीसाधन चल्छ भने त्यसअघि ट्र्याक्टरले सामान मात्रै बोक्ने भोटखोला गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए । यो गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छैन । उनले भने, “ट्र्याक पूरै खुली सकेर गाडी चले त सबैलाई सजिलो हुने थियो ।” देशभरका अन्य सडकजस्तै यो सडक निर्माण गर्दा कोभिडको अझै पनि असर गरेको थियो । गत वर्ष कोभिडकै कारण स्थानीयवासी पालिकाले नयाँ मान्छे छिर्न नदिएकामा अहिले हट्दै गएको आयोजना प्रमुख श्रेष्ठले बताए । राजमार्गमा २२ पुल आवश्यक भएकामा अहिलेसम्म एउटा पुल सम्पन्न भएर सञ्चालनमा आएको र धेरै निर्माणाधीन रहेको योजनाले जनाएको छ । पुलमा काम गर्दा समस्या आउने गरेको उनले बताए । उनले भने, “पुलमा काम गर्न भारतीय ल्याउँदा स्थानीयवासी डराएको छ ।” ट्र्याक खुल्न बाँकी स्थानमा खुलाउनेसँगै खुलिसकेकामा सडक स्तरोन्नतिको कामसमेत अघि बढाइएको छ । कतिपय खण्डमा कालोपत्र प्रक्रिया अघि बढाएको छ भने कतिपय खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको श्रेष्ठले जानकारी दिए । विभिन्न स्थानमा चट्टानको क्षेत्रसँगै पहिरो जोखिम रहेको उनको भनाइ छ । उनले भने, “भएका सबै अवरोध हटाएर पनि सडक निर्माण र स्तरोन्नति भइरहेको हो ।” दक्षिणमा मोरङको जोगवनीदेखि उत्तरमा सङ्खुवासभाको किमाथाङ्कासम्म रहेको छ । यसले उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमालाई जोड्छ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण भइरहेको छ । रासस
उपत्यकामा खानेपानीकाे स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाइने
काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्र नजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोत नजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ । कतिपय स्थानमा स्रोत र प्रशोधन केन्द्रबीच दूरी रहेको र त्यसबीचमा बस्ती रहेको थियो । बीचका बस्तीमा पानी प्रशोधन नभइ पठाइएकाले सबैतिर प्रशोधन भएको पानी दिनका लागि स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन लागिएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकाका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउनका लागि अध्ययन अघि बढाइएको छ । उनले भने, “पहिले अध्ययन भएपछि नै योजना बनाएर निर्माणमा जान सकिन्छ ।”लिमिटेडले उपत्यकामा रहेका ३५ स्रोतको पानी वितरण केन्द्रमार्फत वितरण गर्दै आएको छ । प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय तहसँग पनि आवश्यक समन्वय भइरहेको जनाइएको छ । अहिलेसम्म टोखा र बूढानीलकण्ठ नगरपालिकाले केन्द्रका लागि जग्गा दिने सहमति भएका छन् । अन्य नगरपालिकासँग पनि यसका लागि समन्वय भइरहेको उनले बताए । उनले भने, “नयाँ स्रोत पहिचान गर्न र भएका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन दुबैका लागि स्थानीय तहसँग नै सहकार्य भइरहेको छ ।” काठमाडौं उपत्यकामा वितरण गर्नका लागि मेलम्ची खोलाको पानी ल्याउने तयारी भइरहँदा लिमिटेडले भइरहेका स्रोतको पनि व्यवस्थापनको काम अघि बढाइरहेको छ । लिमिटेडले उपत्यकामा नै विभिन्न स्थानमा रहेका स्रोतको पानी समेत ल्याउनका लागि समन्वय अघि बढाएको छ । लिमिटेडले मेलम्चीको पानी आउनासाथ वितरणका लागि पनि आवश्यक तयारी गरिरहेको छ । रासस