फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु
मान्म । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको क्षमता ४२६ मेगावाट रहेको छ । माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि छसय मिटर सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ । भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “माटो र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि सुरुङ खन्न थालिएको छ ।” उनले भने, “पहिलो चरणमा अध्ययन सकिएपछि भौगर्भिक अध्ययनका लागि सुरुङ खनिएको हो ।” आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको आयोजना उनको भनाइ छ । “चाँडै आवास निर्माणको काम शुरु हुँदैछ”, उनले भने, “यही गतिमा काम अगाडि बढे लक्ष्यमा पूरा हुन्छ ।” आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ । जलविद्युत् आयोजनाको बाँध निर्माणबाट डुबानमा पर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । आयोजना निर्माणका लागि एक हजार १४९ परिवार प्रभावित भएको र आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकाले ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइवाले बताए । करिब एक खर्ब बजेट आवश्यक पर्ने आयोजनाले जनाएको छ ।
बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना
बागलुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गत वर्ष सात योजनामा विनियोजन भएको पाँच करोड २४ लाख बजेटमध्ये कोरोनाका कारण जम्मा दुई करोड ४४ लाख रकम खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा ६० योजनाका लागि सात करोड ५५ लाख १३ हजार बजेट कार्यान्वयनमा आउन थालेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका कारण गत वर्षको बजेट कार्यान्वयनमा समस्या भए पनि यस वर्ष धमाधम योजना सम्झौता गरी काम शुरु गरिएकोे उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । उनका अनुसार भ्यू टावर (दृश्यावलोकन स्तम्भ), पदमार्ग, पर्यापर्यटन, प्याराग्लाइडिङ पूर्वाधार, घरबास अनुदानलगायतका कार्यक्रम कार्यान्वयनमा आउन थालेका छन् । “गत वर्ष कोरोना नियन्त्रणमा घरबासलाई दिइने रकम खर्च भयो, यस वर्ष छनोटका आधारमा १० घरबासले अनुदान पाउँदैछन्, धेरै योजनाको काम शुरु भएको छ”, मन्त्री लम्सालले भने, “पदमार्ग, भ्यू टावर, प्याराग्लाइडिङ पूर्वाधारलगायतका योजना म आफैँ पुगेर शिलान्यास गरेको छु, सबै योजना कार्यान्वयन सम्पन्न गरी बागलुङमा पर्यटनको विकासका लागि टेवा पुर्याउनेछौँ ।” मन्त्रालयका अनुसार ६० योजना उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका तीन कार्यालयअन्तर्गत कार्यान्वयनमा आउन थालेका हुन् । भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पर्यटनसम्बन्धी कार्यक्रम पोखरी संरक्षण, गल्छी तथा पहिरो नियन्त्रण, भू–संरक्षणमैत्री पदमार्गलगायतका संरचना निर्माणका लागि १४ वटा योजनामा एक करोड ६३ लाख ५० हजार विनियोजन भएर काम शुरु भइसकेको छ । यस्तै पर्यटन कार्यालय पोखरामार्फत घरबास अनुदान, पदमार्ग, पर्यटकीयस्थलमा पूर्वाधारलगायतका १९ वटा योजनामा तीन करोड १७ लाख ५० हजार विनियोजन गरेर कार्यान्वयनको चरणमा पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । “बागलुङमा पर्यटनको धेरै सम्भावना भएकाले धेरै योजना समावेश गरिएको हो”, रिजालले भने, “यो वर्ष ६० योजना कार्यान्वयनमा आउँदा पर्यटनका क्षेत्रमा आधारभूत उपलब्धि हासिल हुनेछन् ।” आगामी वर्षसमेत यी योजनालाई आधार मानेर बजेट ल्याइने रिजालको भनाइ छ । डिभिजन वन कार्यालयमार्फत यस आर्थिक वर्षमा २७ वटा योजनामा रु दुई करोड ७४ लाख ३३ हजार विनियोजन भएर पाँच योजना सम्झौता भइसकेको र अन्य योजनाका लागि छनोट प्रक्रिया थालिसकेको डिभिजन वन कार्यालय बागलुङका डिभिजन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिए । गत आर्थिक वर्ष सात वटा योजनामा छुट्याइएको रु पाँच करोड २४ लाखमध्ये २८ वटा सामुदायिक घरबासका लागि १० लाखका दरले छुट्याइएको दुई करोड ८० लाख बजेट कोरोना नियन्त्रणमा खर्च गरिएको थियो । रासस
गोरखाको चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण
गाेरखा । उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पुल निर्माण भएसँगै श्रृङ्गी गुम्बा आउजाउका लागि अब स्थानीयवासीले तीन घण्टा बढी लामो बाटो हिँड्नु नपर्ने भएको उनको भनाइ छ । “श्रृङ्गीखोला माथि पुल नबन्दा वर्षौँदेखि यहाँका नागरिक श्रृङ्गी गुम्बा पुग्नका लागि तीन घण्टा घुमेर जानुपर्ने बाध्यता थियो”, अध्यक्ष गुरुङले भने, “अब पुल बन्यो सबैलाई सजिलो भएको छ ।” दुईवटा पुल बनेपछि उत्तरी गोरखामा आउने पर्यटकका लागि यात्रा सहज हुने उहाँको भनाइ छ । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्विस सरकारको सःशर्त अनुदानमार्फत एक करोड ९८ लाख ५० हजार ४८६ मा पुल निर्माण सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । “झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकालाई रकम प्राप्त भएको थियो”, उनले भने, “उक्त रकमबाट दुईवटा पुल निर्माण गरिएको हो ।” उनका अनुसार श्रृङ्गी खोलामाथिको पुलका लागि ९९ लाख ५४ हजार २५३ र कोयाखोलामाथिको पुलका लागि ९८ लाख ९६ हजार २३३ खर्च भएको छ । दुवै पुल उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । निर्माण सम्पन्न श्रृङ्गी पुलको लम्बाइ ११० मिटर र कोयाखोलामाथि निर्माण गरिएको पुल १२० मिटर लामो छ । दुवै पुलको मङ्गलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गुरुङ र श्रृङ्गी गुम्बाका प्रमुख टिल्कुकर्म लामाले उद्घाटन गरेका छन् । गुम्बाका प्रमुख लामाले पुल नबन्दासम्म भिरको बाटो भएर तलमाथि गुम्बा आउजाउ गर्नुपर्ने जोखिम भए पनि अब त्यसको अन्त्यमा भएको बताए । कोयाखोलामाथि बनेको पुलले भने साविक प्रोक, ल्हो र सामागाउँ अर्थात् चुमनुब्री गाउँपालिकाको वडा नं ४, २ र १ का स्थानीयवासीलाई ओहोरदोहोर गर्न सजिलो हुने वडा नं ५ का वडाध्यक्ष सोनाम ग्याल्जेन लामाले जानकारी दिए । “यसअघि स्थानीयवासीले ज्यान हत्केलामा राखेर हिँड्नुपथ्र्यो”, उनले भने, “अब नयाँ पुल बनेपछि सबै समस्या समाधान भएको छ ।” उनले दुईवटै झोलुङ्गे पुल निर्माणले अब मनास्लु यात्रामा जाने तथा लार्के पास गर्ने पर्यटकलाई समेत सहज उनको भनाइ छ । रासस