‘स्मार्ट सिटी’ हाम्रो लक्ष्य हो: वालिङ नगर प्रमुख खाँण

वालिङ । वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनका चरणमा छ । लक्ष्य प्राप्तिका लागि नगरपालिका बीसवर्षे बृहत् योजना, पाँचपाँचवर्षे आवधिक योजना र एकएक वर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ । विसं २०५३ मा साविकका वालिङ, पेखु बाघखोर र धनुबाँसे गाविसलाई मिलाएर वालिङ नगरपालिका बनेको हो । राज्यको पुनःसंरचनानुसार नगरपालिकामा थुमपोखरा, केवरेभञ्ज्याङ, माझकोट शिवालय, एलादी र सिर्सेकोटका सबै वडा तथा छाङ्छाङ्दी, स्वरेक, कालिकाकोट, तिन्दोबाटे, मनकामना र पेलाकोटका केही वडा समायोजन भई हालको वालिङ नगरपालिका बनेको हो । उत्तरमा भीरकोट नगरपालिका, पूर्वमा बिरुवा गाउँपालिका र दक्षिणपूर्वमा चापाकोट नगरपालिका, दक्षिणमा गल्याङ नगरपालिका र पश्चिममा पर्वतको पैयूँ गाउँपालिकाले घेरिएको वालिङ स्याङ्जाको मध्यभागमा अवस्थित मुख्य व्यापारिक केन्द्रसमेत हो । देशका १३ शहरलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने घोषणासँगै वालिङलाई पनि समावेश गरी काम अगाडि बढिरहेको छ । ‘स्मार्ट सिटी’ को अवधारणामा अगाडि बढ्दै गरेको वालिङका नगर प्रमुख दिलीपप्रताप खाँणसँग गरिएकाे कुराकानीको अंश: वालिङ नगरपालिकामा यहाँले नेतृत्व प्राप्त गर्नुभएको साढे तीन वर्ष पूरा भएको छ, यस अवधिमा नगरपालिकाले हासिल गरेका मुख्यमुख्य उपलब्धि के के हुन् ? खाँणः स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरुको योजना बनाई सडक, खानेपानी, सिंचाइ, सञ्चार सञ्जाल (फाइबर लाइन) का कार्य अगाडि बढेका छन् । आधारभूत आवश्यकताका रुपमा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण गर्ने कार्य भएका छन् । आँधीखोला नियन्त्रण गर्ने, आँधीखोलाका दुवै किनारमा करिडोर निर्माण, नगरभित्रका सडक सुरक्षित गर्ने र विपद् न्यूनीकरण गर्ने कार्य भएका छन् । इनोभेसन सेन्टर, इन्कुवेशन सेन्टर, मेन्टर सिस्टम स्थापना भएका छन् । सुशासनका विभिन्न आयाममध्ये कानून, नियम र कार्यविधि निर्माण भएका छन् । डिजिटल प्रविधिको विकास गर्दै ‘गुड गभर्नेन्स’ स्थापित गरेका छौंँ । आर्थिक विकासका लागि स्वरोजगार सिर्जनाका लागि सीप हस्तान्तरण, लगानीको वातावरण र बजारीकरणको ब्यवस्था अगाडि बढाएका छौंँ । विशेष गरी नागरिकमा चेतनाको स्तर बढाउनका लागि सूचना प्रविधिको अधिकतम प्रयोग भएको छ र बुझाइमा नवीनता स्थापना गर्न प्रयासरत छाैा । नगरपालिकामा विकासनिर्माणको स्पष्ट खाका तयार गरी भौतिक पूर्वाधारका कार्य थालनी गरेका छाँैं । नगरवासीका आधारभूत आवश्यकता पूरा गर्नका लागि उहाँहरुकै चाहनाबमोजिम अगाडि बढेका छौंँ । सडक विस्तार, सडकको स्तरोन्नति, स्वास्थ्यको पहुँच विस्तार, शुद्ध प्रशोधित खानेपानी, व्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता, औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी भइरहेको छ भने एकीकृत बस्ती विकास, सरसफाइ, शिक्षामा गुणस्तर वृद्धि गर्नाका साथै आधुनिक प्रविधिलाई पछ्याउँदै कार्यसम्पादनमा सुधारसहित फड्को मारेका छौंँ । नगरपालिकाले ‘स्मार्ट सिटी’ निर्माणका लागि कदम अगाडि बढाएको छ । वालिङको गन्तव्य भनेको ‘स्मार्ट सिटी’ हो, अहिले पाइला मात्रै चालेका छौंँ, यो पूरा हुन २० वर्ष लाग्ने अनुमान गरेका छौंँ । आशा छ, वालिङलाई तोकिएको अवधिभित्रै ‘स्मार्ट सिटी’ घोषणा गर्न सफल हुनेछौंँ । उक्त दिन वालिङ नगरपालिका देशकै पहिलो ‘स्मार्ट सिटी’ का रुपमा घोषित हुने छ । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड– १९ ले गर्दा विकासनिर्माणमा के कस्तो असर प¥यो ? खाँणः कोभिड –१९ का कारण वालिङ अछुतो रहने त कुरै भएन । कोभिडले यहाँ पनि असर गरेको छ । विकासनिर्माणका कार्यमा अवरोध सिर्जना भए । बजेट न्यून आएको छ जसका कारण थालिएका कार्य सम्पन्न हुन सकिरहेका छैनन् । भोलिका अवस्थामा यस्ता महामारीका बाबजुद वैकल्पिक उपाय अपनाउन सकिने अवस्थामा पुग्न कोशिश गरेका छौंँ । नागरिकको स्वास्थ्य पहिलो कुरा ठानेर अथवा नागरिकको स्वास्थ्यप्रति बढी सजग हुँदै नीति तथा कार्यक्रम बनायौंँ । नागरिकको मौलिक हकका रुपमा रहेको स्वास्थ्यप्रति सचेत हुँदै अगाडि बढ्यौंँ । नागरिकको जीवनरक्षा गर्न सक्यौंँ भने विकासनिर्माण त आगामी दिनमा पनि गर्न सकिन्छ, पाइन्छ भन्ने भावनाका साथ निरन्तर अगाडि बढेका छाैँ । विदेशबाट फर्केर रोजगारी गुमाएका स्थानीय बासिन्दाका लागि नगरपालिकाले रोजगारीको अवसर दिनका लागि केकस्तो योजना बनाएको छ ? खाँणः विशेषतः नगरपालिकाले क्वारेन्टिन र आइसोलेशनमा बस्दा विदेशबाट आएका व्यक्तिसँग उनीहरुका विचार, योग्यता र फर्किने नफर्किने जस्ता प्रश्न सोधी तथ्याङ्क सङ्कलन गरेका थियौंँ । तिनै नागरिकलाई लक्ष्य गरी नगरपालिकाले युएनडिपीसँगको सहकार्यमा पोष्ट कोभिड –१९ का कार्यक्रम सञ्चालन गरेका छौंँ । उनीहरुसँग रहेको सीप परिमार्जित गर्ने, नयाँ सीप हस्तान्तरण गर्ने, उत्पादन र स्वरोजगारमा संलग्न गराउने र उत्पादित वस्तुलाई बजारीकरणमा पनि सामेल गराउने जस्ता कार्य सञ्चालन गरिएका छन् । साथै उनीहरुले यहीँ केही उद्यम गर्न चाहेमा त्यसका लागि आवश्यक वातावरण मिलाइदिने र नगरपालिकाका तर्फबाट विनाब्याज बीउपूँजी उपलब्ध गराउनाका साथै बैंक तथा वित्तीय संस्था, नगरपालिका जमानी बसेर सस्तो र सुलभ ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराउँदै आएका छौंँ । नगरपालिकाले नीति तथा कार्यक्रममा कस्ता योजनालाई बढी प्राथमिकतामा राखेर काम गरेको छ ? नगरका गौरवका योजना केके हुन् ? खाँणः नगरपालिकाले बीसवर्षे बृहत् योजना, पाँचवर्षे आवधिक योजना र एक वर्षे रणनीतिक योजनाहरु बनाएको छ र स्मार्ट सिटी निर्माणका लागि आधारभूत विकासको शहर, स्वाबलम्बी शहर हुँदै २० वर्षमा स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार आफ्ना नीति तथा कार्यक्रम अगाडि सारेको छ । सोहीअनुसार हरेक वर्ष निर्धारित कार्यक्रमअनुसार आफ्ना प्राथमिकतालाई अगाडि बढाएको छ । पूर्वाधार निर्माण गर्दा तथा योजना बनाउँदा दूरगामी सोचका साथ अगाडि बढिरहेका छौंँ । हाम्रा पूर्वाधारहरुले आगामी नयाँ पुस्ताका लागि पछिसम्म धान्न सक्ने सडक सञ्जाल, खानेपानी प्रणाली, सिंचाइ प्रणालीमा दिगो विकासलाई लक्ष्य गरी योजना बनाएका छौंँ । वातावरणीय सुधार, नदी नियन्त्रण, नदीहरुमा करिडोर निर्माण, तालतलैया निर्माण, पानीको भूसतह उठान, प्राकृतिक चक्रीय प्रणालीको सन्तुलनका साथ आधुनिक स्वस्थकर हावापानी, शारीरिक परिश्रम गर्ने स्थलहरुको निर्माण गर्नाका साथै मानसिक सन्तुलनका लागि मनोरम पार्क निर्माणलाई प्राथमिकता दिएका छौंँ । सुनौली–पोखरा सिद्धार्थ राजमार्ग वालिङ नगरपालिकाभित्र १२ किलोमिटर पर्छ । नगरपालिकाकै पहलमा सडक चौडा गरी ‘डेडिकेटेड टु लेन’ बनाउने कार्य भइरहेको छ । जिल्लाकै सभ्यता तथा धार्मिक आस्थासँग जोडिएको आँधीखोलाको दुवै किनाराबाट आँधीखोला करिडोर निर्माण भइरहेको छ भने नगरका विभिन्न वडाका गाउँमा बाह्रै महिना सवारी साधन सञ्चालनका लागि ग्रामीण सडक विस्तार तथा स्तरोन्नति भइरहेको छ । चौध वटा वडामा १७ वटा स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वालिङमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खरीद गरी निर्माण प्रक्रिया थालिएको छ । स्वच्छ र सफा शुद्ध खानेपानीका लागि वडावडामा खानेपानीका योजना सञ्चालन भएका छन् । आधुनिक प्रविधिलाई पछ्याउँदै आइटी र आइओटीका क्षेत्रमा धेरै अगाडि बढेका छौंँ । फोहोर मैला व्यवस्थापनमा देशकै उत्कृष्ट भई पुरस्कृत भएको र अहिले सोही ठाउँमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण भईरहेको छ । वालिङ– ९ सुर्कौदीमा एकीकृत बस्ती विकास (नयाँ शहर) बसाल्नका लागि तयारीलाई अन्तिम चरणमा पु¥याइएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायीलाई बीउपूँजी उपलब्ध गराएका छौंँ भने गाउँगाउँमा सहकारी गठन गरी सोहीमार्फत लगानीको व्यवस्था मिलाएका छौंँ । कोरोना महामारी रोकथाममा वालिङ नगरपालिकाले के कस्ता गतिविधि गरेको छ ? खाँणः यसको रोकथामका लागि हरेक घर, हरेक गाउँ, टोल र वडास्तरबाट नै सचेत हुन जरुरी थियो । त्यसैले समग्र नगरको सुरक्षाका लागि हरेक टोलटोलका समितिलाई चेतनामूलक कार्यक्रम गरियो, निगरानीको जिम्मा दिइयो । नगरस्तरीय समिति गठन गरी हरेक पलपलको सूचना र आवश्यक कार्य गरियो । विदेशमा रहेका वालिङबासीको तथ्याङ्क सङ्कलन गरी कति आउन सक्ने अनुमान गरियो। करीब १,२०० व्यक्तिहरु आउन सक्ने अनुमान गरी त्यहीअनुसारका क्वारेन्टिन निर्माण, आइसोलेशन र कोभिड अस्पतालको व्यवस्थापन गरियो र अहिले पनि पाँच शय्याको आइसोलेशन सञ्चालनमा छ जसमा सबै आवश्यक सुविधा मौजुद छन् । आइसोलेशनको व्यवस्था छ र नियमित पिसिआर परीक्षण जस्ता सम्पूर्ण कार्य निःशुल्करुपमा उपलब्ध छ । अहिलेसम्म क्वारेन्टिनमा १,५०० भन्दा बढी व्यक्ति बसिसक्नुभएको छ । करीब २,२०० जनाको पिसिआर परीक्षण गरिएको र २०० भन्दा बढी आइसोलेशनमा बस्नुभएको छ । तीस जनाभन्दा बढी कोभिड अस्पतालमा बस्नुभएको छ । नगरपालिकाले कोभिड– १९ का कारण रोजगारी गुमाएका तथा अतिविपन्नलाई लक्ष्य गरी १२ हजार नौ जनालाई खाद्यान्न तथा राहत वितरण गरेको थियो । वालिङ नगरपालिका कोभिड– १९ राहत कोष स्थापना गरी त्यहाँ विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट अर्थ तथा खाद्यान्न सङ्कलन गरी न्यून आय भएका अतिविपन्न, मजदूरलाई राहत वितरण गरिएको थियो । नगरपालिकाले सञ्चालन गरेको कोभिड कोषमा रु एक करोड १२ हजार ७६३ सङ्कलन भएको मध्ये राहत, आइसोलेशन र क्वारेन्टिन खर्चमा रु ८३ लाख ३४ हजार ७०३ खर्च भएको छ । वालिङलाई स्मार्ट नगरपालिका बनाउनका लागि कार्यान्वयनका चरणमा हुनुहुन्छ, स्मार्ट पालिकाका लागि के काम भइरहेको छ ? खाँणः वालिङ नगरपालिका स्मार्ट वालिङ बनाउने कार्यक्रमको घोषणा भएको हो । यसका लागि विभिन्न योजनाका साथ अगाडि बढेका छौँ । वालिङको विकासलाई तीन चरणमा विभाजन गरेर पहिलो आधारभूत आवश्यकता पूर्ण गर्ने गरी आधारभूत सिटीका रुपमा १७ वटा दिगो विकास लक्ष्यसहितको शहरका रुपमा र अन्तमा स्मार्ट वालिङका रुपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (आइओटी) को पूर्ण उपयोग गरी २० आँैं वर्षमा नेपालको सापेक्ष स्मार्ट वालिङका रुपमा घोषणा गर्नेछौंँ । वालिङ नगरपालिकाले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्ने सुनिन्छ, सूचना प्रविधिमा नगरपालिकाले प्राप्त गरेको हालको उपलब्धि के हो ? खाँणः नगरपालिकालाई स्मार्ट सिटी बनाउने क्रममा हाम्रा चार वटा पिल्लरमध्ये एउटा पिल्लर स्मार्ट गभर्नेन्स हो । यसका विभिन्न आयाममध्ये महत्वपूर्ण आयाम डिजिटल गभर्नेन्स हो । डिजिटल गभर्नेन्सका लागि आइटीको अधिकतम उपयोग हुनुपर्छ, हाउस सर्भेदेखि लिएर जिआइएस प्रणालीसम्म, जिपिएस सिष्टमदेखि लिएर एप्लिकेशनसम्मका सफ्टवेयर प्रयोगमा आइसकेका छन् । त्यसैले हरेक नागरिकको सेवा, रेकर्ड सिष्टम, कार्यशैली, नगरपालिकाका सम्पूर्ण कार्य डिजिटल डाटाका रुपमा उपयोग गरी सम्पूर्ण सेवालाई सूचना प्रविधिका माध्यमबाट उपलब्ध गराई पेपरलेसका रुपमा कार्य गर्दै शून्य कागजका रुपमा स्थापित गर्ने कार्य अगाडि बढिरहेका छन् । वालिङले फोहोर मैला व्यवस्थापनका क्षेत्रमा गरेको उपलब्धिको अध्ययन अनुगमनका लागि विभिन्न ठाउँबाट सङ्घसंस्था, व्यक्तिहरु आउने गर्नुहुन्छ, खासमा वालिङले फोहोर मैलाका क्षेत्रमा के ग¥यो जुन यति धेरै चर्चामा छ ? खाँणः वास्तवमा फोहोर भन्ने वस्तु नै हुँदैन । हामीले त्यसलाई फोहोर बनाइरहेका छौंँ । त्यसै हुनाले स्रोतमा नै हरेक वस्तुहरु अलगअलग ग¥यौंँ भने त्यो फोहर होइन स्रोत हो । सबै एक ठाउँमा मिसायौंँ भने त्यस्ता वस्तु फोहर हुन्छन् । नगरपालिकाले स्रोतमै वस्तु अलगअलग छुट्टयाउने हुँदा हामीले स्रोतका रुपमा प्रयोग गरेका छौंँ । कुहिने वस्तुलाई मलका रुपमा उपयोग गर्ने, नकुहिने वस्तुलाई पुनः प्रयोगका रुपमा बिक्री गर्ने अथवा आफैँ प्रशोशन गर्ने कार्य गरेका छौंँ । त्यसैले हामीले फोहोरका रुपमा नभई स्रोतका रुपमा लिई स्रोतलाई व्यवस्थित गर्ने गरी हाम्रा कार्य अगाडि बढेका छन् । त्यस्तै हरेक घरका सेफ्टी ट्याङ्की भरिएपछि त्यस्ता सेफ्टी ट्याङ्की बाहिरी स्रोत ढल तथा खोलानालामा नमिसाउनका लागि दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरेका छौंँ । यसबाट कम्पोष्ट मल र बायोग्यास उत्पादन गरी प्रयोग गर्ने र पानीका स्रोत अन्य जमीनमा जीवाणु तथा विषाणु फैलिनबाट रोक्ने गरी अगाडि बढेका छाँैं । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व छ छैन, यहाँको अनुभव के छ ? खाँणः तीन वटा सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मअनुसार अगाडि बढ्ने भनिए पनि यसको कार्यान्वयन पक्ष खासै राम्रो हुन सकिरहेको छैन । अझै भनौंँ, कार्यान्वयनको पक्ष कमजोर भएको महसुस गरेको छु । विकासनिर्माणका क्रममा दोहोरोपन हुन नदिन, भ्रष्टाचार हुन नदिन, योजनाहरुको दिगोपना बनाउन पारदर्शिताका लागि पनि समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ जस्तो लाग्छ । जुन अपेक्षा संविधानमा राखियाे, त्यसअनुसार नभएको पक्कै पनि हो । यसमा नगरपालिकाले कोशिश गरे पनि सन्तोषजनक परिणाम भने आउन सकेको अवस्था छैन । रासस

इलामकाे सिद्धिखोलाबाट एक कराेड लागतमा विद्युत् निकालिने

मङ्गलबारे। इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो । आउने २०७८ साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ । रोङ–६ र सूर्योदय नगरपालिका–५ को खरबनी नजिकैको स्थानमा हेड ट्याङ्की निर्माण गरिएको छ । तीन हजार ६०० मिटरमुनि सुङतुङ र रोङ–६ को रामभेडेसम्म पाइप लाइन विस्तार गरी रामभेडेमा विद्युत्गृह निर्माण गरिने छ । दुई वटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करिब एक अर्ब २० करोड लगानी लाग्ने अनुमान गरिएको इञ्जिनीयर दिवस भट्टराईले बताए । यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १० दशमलव २ मेघावाट बिजुली निकाल्ने तयारी गरेको थियो तर खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६.५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो । आयोजना सञ्चालनका लागि रम्भ्याङबाट हेड ट्याङ्क र विद्युत्गृहसम्मको पहुँच मार्ग करिब निर्माण भइसकेको छ । कार्यालय सञ्चालनका लागि भवनसमेत निर्माण गरिसकिएको इञ्जिनीयर भट्टराईको भनाइ छ । यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । गाउँमा जलविद्युत् सञ्चालनपछि स्थानीयवासी खुशीसमेत भएका छन् । गाउँगाउँमा सडक निर्माण हुने र आफ्नै ठाउँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भन्दै उनीहरु खुशी भएका हुन् । साथै आफ्नो दायित्वको काम गरे अझ स्थानीयवासीको क्षमता विकास र वातावरणीय प्रभाव कम गर्ने खालका काम गरिने स्थानीय गोविन्द पौडेलको भनाइ छ । इलामका विभिन्न खोलामा एक दर्जन बढी जलविद्युत् सञ्चालनमा छन् ।

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

काठमाडाैं ।  सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एक/दुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।” भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देृशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए । कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उनले जानकारी दिए । रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो । दुई सरकारबीचको सम्झौताबाट उनीहरुलाई ल्याउन लागिएको हो । उनले भने, “यताको कम्पनी र उताको कम्पनीबीच सम्झौताबाट ल्याइन लागिएको हो ।” रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।