बजेट अभावले जाजरकाेटकाे नयाँ शहर कार्यक्रम प्रभावित
जाजरकाेट । चौरजहारीलाई नयाँ शहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको यहाँ काम नहुँदा समस्या भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ शहर बनाउने सरकारको लक्ष्यअनुसार काम भए पनि सो परिणाममुखी हुन नसकेको हो । बजेट अभावका कारण भने जति काम हुन नसकेको हो । चालु आर्थिक वर्षमा चौरजहारीका लागि ११ करोड बजेट मात्रै आएको आयोजना कार्यालय प्रमुख धीर फडेराले जानकारी दिए । यहाँ एउटै योजना निर्माण गर्नका लागि १९ करोड आवश्यकता पर्ने गरेको छ । चौरजहारी उपत्यकाको महत्वपूर्ण मानिएको सडक कालोपत्रे गर्ने काम लामो समयदेखि हुन सकेको छैन । आयोजना कार्यालयका अनुसार बाँसखोला–एयरपोर्ट–बसपार्क–त्रिवेणी–खौचेनी–विजयश्वरीडाँडा सडक झण्डै आठ किलोमिटर लामो छ । सडक कालोपत्रेका लागि रु ४० करोड ३५ लाखमा ठेक्का लागेको छ । ठेकेदार कम्पनीले झण्डै ७० प्रतिशत काम सके पनि २१ करोड रुपैयाँ मात्र भुक्तानी भएको फडेराले बताए । अहिलेसम्म स–साना योजना मात्र सम्पन्न भएका छन् । सम्पन्न भइसक्नुपर्ने योजना पनि अर्को वर्षसम्म लैजानुपर्ने बाध्यता रहेको उनको गुनासो छ । चालु आर्थिक वर्षमा ३८ योजना प्रस्ताव गरिएको भए पनि अहिले नौ वटा योजनामा काम भइरहेको छ । यी योजनामा पनि बजेट अपुग भएको छ । सडक कालोपत्रेमा आयोजनाले गति लिए पनि अन्य कामहरु अलपत्र परेको चौजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए । आठ वर्षदेखि चौरजहारी–जाजरकोट कुदु जोड्ने मध्यपहाडी लोकमार्गको पुल निर्माणसमेत अलपत्र पर्दै आएको छ । रासस
जनकपुर विमानस्थलकाे टर्मिनल भवन आठ वर्षपछि सञ्चालनमा, २५० यात्रु बस्न मिल्ने
काठमाडौं । निर्माण शुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भटटराईले जनकपुर विमानस्थलको विकासमा सरकार दृढ रहेको बताए । त्यसका लागि तीन वटै तहका सरकारको बीचमा समन्वय र सहकार्य आवश्यक रहेको पनि बताए । यस्तै जनकपुरलाई आकर्षक धार्मिक पर्यटकिय नगरिको रुपमा विकास गर्न संघीय सरकार अग्रसर रहेको पनि बताए । कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण भएसँगै आवागमनमा सहज हुने र पर्यटकिय गतिविधि समेत बढ्ने बताए । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल राख्नुपर्ने बताए । यो विमानस्थलमा २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । २०६९ साल देखि निर्माण शुरु भएको नयाँ टर्मिनल भवन करिब ४५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने क्षमता रहेको छ ।
कलंकीदेखि धोवीखोलासम्मको सडक क्षेत्र विस्तार गरिने, स्वयम्भु क्षेत्रलाई जोगाइने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताएका छन् । स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भेट गरी स्वयम्भु क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताएका हुन् । उनले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचिको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्र भित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताएका हुन् । हजार बुद्ध सहित बोधि चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ हरेको पनि मन्त्री नेम्बाङ्ले स्पष्ट पारे । भत्काउने भन्दा बनाउने ढंगले सकारात्मक रुपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको पनि उनले बताए । प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विस्वस्त हुन आग्रह गरे । छलफलमा स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजना अनुसार स्वयम्भुको महत्वपूर्ण भाग बौद्धकला सहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्ध सहितको बोधि चैत्य रहेको क्षेत्र भत्काइनुपर्ने भएकाले विरोध गरिएको बताए । यसबाट स्वयम्भु क्षेत्र विश्व सम्पदाको सूचिबाट समेत हटने जोखिम हुने भएकाले त्यसको संरक्षण गर्न मन्त्री नेम्बाङ समक्ष आव्हान गरिएको बताए । सरकारले चक्रपथ विस्तारको दोस्रो अभियान अन्तर्गत कलंकीदेखि महाराजगंज हुँदै धोवीखोलासम्मको सडक क्षेत्र विस्तार गर्दै छ । चक्रपथ विस्तार गर्दा स्वयम्भुको पछाडी पट्टि रहेको हजार बुद्ध सहितको बोधि चैत्य हटाइनुपर्ने भएपछि काठामाडौं महानगरपालिकाले त्यसको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । त्यसैले स्वयम्भु क्षेत्रका सरोकारवालाहरुले मन्त्री नेम्बाङलाई भेटी उक्त क्षेत्रलाई जोगाई सडक निर्माण गर्नुपर्ने माग गरेका हुन् ।