नवलपुरलाई प्रदेश राजधानीसँग जोड्ने सडक निर्माणको कामले लिएन गति
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको कामले गति लिन नसकेको हो । कावासोतीको फलफूल चोक–बोझापोखरी–कोखेटार हुँदै निर्माणाधीन कालीगण्डकी करिडोरमा यो सडक जोडिन्छ । बुलिङटारमा कालीगण्डकी करोडरमा जोडिने सडक डेढगाउँबाट तनहुँको भीमाद हुँदै खैरेनीटार निस्किन्छ । यसले नवलपुरलाई गण्डकी प्रदेशको राजधानीसँग सीधै जोड्ने छ । हाल यहाँका बासिन्दा चितवन मुग्लिङ हुँदै वा बुटवल–स्याङ्जा हुँदै पोखरा पुग्नुपर्ने अवस्था रहेको छ । जिल्लालाई प्रदेशसँग जोड्ने महत्वपूर्ण सडकका रुपमा हेरिएको भए पनि निर्माणको कामले भने गति लिनसकेको छैन । विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सकिसक्नु पर्नेमा तर सो अवधिमा काम नसकिएपछि यसै वर्षको चैत १३ गतेसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटलका इञ्जिनीयर सागर पोखरेलले बताउनुभयो । कावासोती–बोझापोखरी र बोझापोखरी–कोखेटार गरी सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्र र त्यसपछिको ६ किलोमिटर ग्राभेल तथा दोस्रो खण्डमा सबै २० किलिमिटर ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढेको तर हालसम्म पहिलो खण्डमा २० प्रतिशत र दोस्रो खण्डमा करिब ६० प्रतिशत मात्रै काम भएको छ । पहिलो खण्डमा सन्तोसी–रौताहा–हरिहर जेभी र दोस्रो खण्डमा पप्पुकोशी–न्यौपाने–बन्धन भगवती जेभीले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले निर्माणको काम सुस्तगतिमा गर्दा समेत प्रगति राम्रो देखिएको छैन । केही समय कोभिडले समेत निर्माणको कामलाई प्रभाव पारेको इञ्जिनीयर पोखरेलले बताए । यस्तै पहिले सडक डिभिजन कार्यालय बुटवलबाट निर्माणको काम भएकामा बीचमा गण्डकी प्रदेश सरकारमार्फत काम गरिएको थियो । अहिले पुनः सडक डिभिजन कार्यालय बुटवलमार्फत काम शुरु भएको पोखरेलले बताए । सडक निर्माणको अख्तियारीले समेत केही अलमल भएको उनले बताए । अहिले निर्माणको कामले गति र थपिएको अवधिमा समेत निर्माणको काम सम्पन्न हुन सक्ने अवस्था भने देखिएको छैन । पहिलो खण्डको कालोपत्र गर्ने क्षेत्रमा अझै नाला निर्माणको काम पूरा हुन सकेको छैन । दोस्रो खण्डमा सडक चौडा पार्ने, पहिरो रोकथामको लगायत काम अझै बाँकिनै रहेको छ । नवलपुरको पहाडी क्षेत्रको ‘लाइफलाइन’को रुपमा हेरिएको सडक निर्माणले गति लिन नसक्दा स्थानीयवासी भने निराश भएका छन् । वर्षौंपछि सडक निर्माणको काम थालनी भएको तर समयमा पूरा नहुनु दुःखको कुरा भएको नेकपाका जिल्ला नेता भीमलाल कँडेलले बताए । निर्माणाधीन ४० किलोमिटर लम्बाइमा समेत पूरै भाग कालोपत्र नगरिँदा यस क्षेत्रका बासिन्दा धुलोमै हिँडनुपर्ने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । प्रदेश राजधानी जोड्ने जिल्लाको प्रमुख सडक भएकाले ४० किलोमिटर पूरै खण्ड कालोपत्र गर्ने गरी बजेट थप गरेर काम हुनुपर्ने उनले बताए । दुवै खण्ड गरी कूल रु ८४ करोड ९८लाख ८ हजार २४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो । सडकको चौडाइ थोरै भएकाले बढाउनुपर्ने कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । आयोजना निर्माणका क्रममा सडक खण्डअन्तर्गत सार्वजनिक सम्पत्तिको अभिलेखीकरण प्रष्ट गर्नुपर्ने, निजी सम्पत्तिमा हुने क्षतिपूर्तिको उचित मूल्याङ्कनसहित मुआब्जा दिनुपर्ने र सरोकारवालासँग समन्वय गरी आउने अवरोधको पूर्ववत् रुपमै छलफल गरी समयमै सडक निर्माणको काम सक्नका लागि लाग्नुपर्ने उनले बताइन् ।
म्याग्दीको दाना–खुर्कोट प्रसारण लाइनको सबै टावर ठडिए
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले ११० मध्ये सबै टावर निर्माण भइसकेको जानकारी दिए । “टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान गरिएको छ”, उनले भने, “फिनिसिङ र परीक्षण सकेपछि एक हप्ताभित्र प्रसारण लाइन र सबस्टेशन सञ्चालन गर्न सकिन्छ ।” दानाबाट खुर्कोटसम्म करिब ३९ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण भएको हो । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको हो । प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष वर्ष ढिला गरी सकिन लागेको हो । पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण दुई वर्षपछि धकेलिएको हो । धेरै समयको प्रयासमा पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले प्रसारण लाइन र सबस्टेशनसँगै सञ्चालन गर्ने तयारीमा छ । प्रसारण लाइन र सबस्टेशन बनेपछि अनुमति लिएर बसेका अन्य आयोजनाले पनि गति लिने अध्यक्ष पुनले बताए । रासस
झापामा एक अर्ब ५६ करोडमा बन्दैछ नेपालकै अग्लो भ्यूटावर, जग्गाको भाउ तेब्बरले बढ्याे
झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ । वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्यका साथ सघन शहरी तथा भवन निर्माण आयोजनाले दमक नगरपालिका वडा नं ३ दापगाँछीमा स्थानीयवासीबाट निःशुल्क प्राप्त ५ बिगाहा जग्गामा भ्यूटावर निर्माण गरिरहेको छ । चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले भ्याटसहित एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा भ्यूटावर निर्माणको ठेक्का लिएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भुपेन्द्रकुमार यादवका अनुसार २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्का सम्झौता विसं २०७६ असार २७ गते भएको थियो । यस्तो बन्नेछ स्तम्भ अठार तलाको भ्यूटावर एक सय मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए । बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । दमक चोकबाट छ किलोमिटर पश्चिमोत्तर दापगाँछी भन्ने गाउँमा यसको निर्माण भइरहेको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा सावरी साधन पार्किङस्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ । टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्य चौकी बनाइने प्रोजेक्ट मेनेजर बिडारीले जानकारी दिए । पश्चिमतिर ‘ओपन एयर थिएटर’ र उत्तरतिर फाउन्टेन पार्क, बाल उद्यान आदि लगायतका संरचना बनाइने भएको छ । राष्ट्रियसभाका सांसद् देबेन्द्र दाहालले भ्यूटावरको निर्माणले दमक मात्र नभएर झापाको पर्यटकीय विकासमा नयाँ उचाई थप्ने बताए । ‘‘कसै कसैले भ्यूटावरको साटो हस्पिटल बनाएको भए हुन्थ्यो, रतुवाको तटबन्ध गरेको भए हुन्थ्यो जस्ता तर्क पनि गरेको सुनियो,’’ झापाबाट प्रतिनिधित्व गर्नुहुने सांसद् दाहालले भने- ‘‘पर्यटकीय विकासका लागि अभूतपूर्व आधार खडा गर्ने कार्यलाई हलुका रुपमा लिइनु हुँदैन । स्वास्थ्य, शिक्षा, नदी नियन्त्रणका आयोजनाहरु समेत सञ्चालन भइरहेकै छन् ।’’ उनले २८ करोड रुपैयाँको लागतमा दमकमा आधुनिक हस्पिटल निर्माण भइरहेको र सम्बन्धित निकायहरुबाट तटबन्ध र अरु विकास निर्माणका कामहरु भइरहेको जनाउँदै भ्यूटावरको निर्माणले जीवनस्तरमा सकारात्मक परिवर्तन आउने आशाले स्थानीयबासी उत्साहित बनेको बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भ्यूटावरले वर्षेनी पचासौँ हजार पर्यटक आकर्षित गर्ने सम्भावना व्यक्त गर्नुभयो । ‘‘भित्रका कर्मचारी सीमित सङ्ख्यामा होलान्, तर बाहिर धेरै सङ्ख्यामा रोजगारीको अवसर सिर्जना हुने निश्चित छ’’ नगरप्रमुख ओलीले भने– ‘‘मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन नै मुख्य आधार भएको हुँदा यस क्षेत्रका बासिन्दाको आर्थिकस्तरमा भ्यूटावरको निर्माणपछि कायापलट हुने अपेक्षा छ ।’’ यस टावरबाट मधेशको फराकिलो फाँट र धनकुटा, इलाम र पाँचथरका पहाडी रमणीय भूगोलको दृश्यावलोकन गर्न सकिने उनले बताए । भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्वपूर्ण हुने ‘सपिङ कम्प्लेक्स’को अवधारणबाट डिजाइन गरिएको छ । टावरका तलाहरुमा रेस्टुरेन्ट, होटल, बैङ्क, बुटिकलगायतका व्यावसायिक स्थलहरु रहने भएका छन् । तोकिएको समयमै बन्ने निर्माणको ठेक्का लिएको कम्पनीले सम्झौतामा तोकिएको ३० महिनाको अवधिमै कार्यसम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मङ्सिरको पहिलो साता भ्यूटावर निर्माणको अनुगमनमा सहरी विकास मन्त्री कृृष्णगोपाल श्रेष्ठसहितको उच्चस्तरीय टोली दमक आएको थियो । जसमा प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायतको उपस्थिति थियो । मन्त्री श्रेष्ठले निर्माणस्थलको निरीक्षण गरिसकेपछि सम्झौतामा तोकिएको अवधिभित्रै भ्यूटावरको निर्माण सक्न निर्देशन दिएका थिए । राष्ट्रिय गौरवको आयोजना भएको हुँदा तोकिएकै अवधिमा गुणस्तरीय रुपमा कार्य सम्पन्न गर्न मन्त्री श्रेष्ठले सघन शहरी तथा भवन निर्माण आयोजना र ठेक्का लिने निर्माण कम्पनीलाई निर्देशन दिए । सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण कार्यको नियमित रेखदेखका लागि इन्जिनियर यादवलाई कार्यस्थलमा खटाएको छ । इन्जिनियर यादवले भ्यूटावरको निर्माण कार्य कोभिड १९ को विश्वव्यापी महामारीले प्रभावित गरे तापनि प्रगति सन्तोषजनक रहेको बताए । उनले बेसमेन्ट ढलानको काम यसै साताभित्र सम्पन्न हुने र त्यसपछि धमाधम तलाहरुको काम अघि बढ्ने जानकारी दिए । भ्यूटावर निर्माणस्थलमा हाल डेढ सय कामदार रातदिन काम गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीको गृहनगरमा रहेको राष्ट्रिय गौरवको आयोजना भएका कारण समेत आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने दवाव निर्माणको ठेक्का लिने पक्षलाई परेको छ । टावरको बेसमेन्ट बलियो बनाउन ८१ ओटा ठूला पिलर ठड्याइएका छन् भने पुसदेखि हरेक महिना दुईओटा तलाको निर्माण कार्य पूरा गर्ने आयोजनाको लक्ष्य रहेको प्रोजेक्ट मेनेजर बिडारीले बताए । प्रधानमन्त्री ओलीको परिकल्पनामा भ्यूटावर प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री नियुक्त हुनु अघि नै दमकमा भ्यूटावरको परिकल्पना गरेको दमक-३ दापगाँछीका ५० वर्षीय पुजन दाहालले बताए । ‘‘विदेशमा घुम्दा उहाँ (प्रधानमन्त्री ओली) ले पर्यटक आकर्षित गर्ने अग्ला टावर देख्नु भएको रहेछ’’, स्थानीयबासी दाहालले टावरको पृष्ठभूमि सुनाउँदै भने- ‘‘दमकबासीसँग भेट्दा जहिल्यै पनि विदेशमा यस्तो हुन्छ, हाम्रातिर पनि एउटा टावर बनाउन सके पर्यटक आकर्षित हुन्थे भन्नुहुन्थ्यो ।’ प्रधानमन्त्री ओलीले नै दमकबासीले जग्गा जुटाउन सके लगानीकर्ता खोज्न आफूले सहयोग गर्ने बताएको दाहालको भनाई छ । दमक शहरको बीच भागतिर महँगा जग्गा कसैले दिन नचाहेपछि गाउँतिर आउँदा प्रधानमन्त्री ओलीले जग्गा खोज्न प्रेरित गरेका उनले बताए । दमक नगरपालिका वडा नं ३ दापगाँछी विकासको दृष्टिमा साह्रै पछाडि परेको र आदिवासी धिमाल वस्तीले भरिएको छ । यहाँका बासिन्दा २७ जनाले १० धुरदेखि छ कठ्ठासम्म निजी जग्गा निःशुल्क प्रदान गरेर एकमुष्ठ पाँच बिगाहा पुर्याएपछि भ्यूटावर त्यही बन्ने निश्चित भएको थियो । स्थानीयबासीले जग्गा दिने भएपछि प्रधानमन्त्री ओली दापगाँछी आएका र भ्यूटावर बन्दा तपाईँहरु खुशी हुनुहुन्छ भनेर गाउँलेहरुलाई सोध्नुभएको दाहालको भनाई छ । ‘‘विकासको कुनै रुपरेखा नकोरिएको हाम्रो दापगाँछी गाउँमा मुलुककै ठूलो भ्यूटावर ल्याइदिनुभयो’’, स्थानीयबासीले प्रधानमन्त्री ओली गाउँमा आउँदाको स्मरण गर्दै भने- ‘‘हामीले एकस्वरले प्रधानमन्त्रीलाई धन्यवाद दियौँ ।’’ दापगाँछीमा भ्यूटावर बन्नुमा प्रधानमन्त्रीपछि दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय स्व। युवराज दाहाल र पशुपति खतिवडाको योगदान रहेको दाहालले बताए । एउटै व्यक्तिले जग्गा दान गर्न सम्भव नभएको हुँदा भ्यूटावरका लागि जग्गा खोज्न दमक-३ का वडा अध्यक्ष नविन बरालको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति नै गठन गरिएको थियो । जग्गाको भाउ बढ्यो, व्यापार बढ्ने आशा भ्यूटावर निर्माण शुरु भए लगत्तै दापगाँछी गाउँमा जग्गाको भाउ बढेर तेब्बर भएको स्थानीयबासी बताउँछन् । निर्माणस्थल वरपर भविष्यमा व्यापार व्यवसाय फस्टाउने भएकाले अहिले नै जग्गा ओगट्न चाहने बढेकाले जग्गाको भाउमा तेजी आएको हो । छ वर्ष अघि दुइतले पक्की घरसहितको छ कठ्ठा जग्गा २६ लाख रुर्पयाँमा किनेको बताउने दमक-३ की गीता भण्डारीले अहिले एक कठ्ठा जग्गा नै ६० लाख रुपैयाँमा किनबेच भएको बताए । ‘‘भ्यूटावर बनेपछि यहाँ पर्यटकको ओइरो लाग्ने र होटल, रेस्टुरेन्टलगायतका व्यवसाय फस्टाउने हामी सबैले अपेक्षा गरेका छौँ’’, भ्यूटावरको सय मिटर नजिकै घर भएकी भण्डारी भन्छन्, ‘‘बाहिरतिर भ्यूटावर बन्न लागेकोमा विरोध भएको सुन्दा दुःख लाग्छ । उहाँहरु यहाँ आएर हेर्दा हुन्छ, भ्यूटावरभन्दा अघि यस क्षेत्रमा कुनै विकास नै आएको थिएन ।’’ टावर वरिपरि सय परिवार धिमाल समुदायको बसोबास भएको र भ्यूटावर बनेपछि त्यहाँ घरबास (होमस्टे) व्यवसाय समेत विस्तार हुने स्थानीयवासीको आशा छ । भ्यूटावरले यस क्षेत्रका बासिन्दामा खुशीयाली ल्याएको भण्डारीले बताए । रासस