काठमाडौं-ढल्केवर बिजुलीको प्रसारण लुप जोडियो, प्रत्यक्ष फाइदा जाडो याममा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केवार–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केवरसम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोड्न सफल भएको छ । नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै समालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो । ‘ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका छन्, पटक–पटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पथ्र्याे,’ शाक्यले भने । उनले अब उक्त समस्या समाधान भई शनिबार दिउँसोबाट सो लुप चालु रहेको जानकारी दिए । ‘सुरुका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानको कदमहरु चाल्न आग्रह गरेको थिएँ, खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए तर, सैद्धान्तिक छलफलपछि उहाँहरु पनि आश्वस्त हुनुभयो, सबैको प्रयासबाट हामी सफल भयौँ,’ शाक्यले थपे । दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको उनले बताए । यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उनको भनाइ छ । ‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो । अर्काे खिम्तीबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो, त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगेन भने हेटौंडातिरको लाइनबाट विजुली ल्याएर जोड्नुपथ्र्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्र्याे, कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन,’ उनले भने । अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ । ‘यो सामान्य समस्या हो, दुई–चार जना इन्जिनियर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो, यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो । यो समाधान भयो,’ उनले भने । शाक्यले स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) को कन्ट्रोलरुममा पुगी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिकहरुसँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताए । ‘केही इन्जिनियर साथीहरु सुरुमा यो काम गर्नु हुदैंन भनी पछि हटेका थिए, ‘उहाँहरुले केही समय मागेपछि हामी यो कार्य आइतबार सम्पन्न गर्न सफल भएका छौँ, रक्सौलमा पनि कहिले भारत, केहिले नेपाल गर्दा त्यस्तो समस्या छ । अब त्यो पनि तत्काल समाधान गर्ने गरी टिम परिचालन भएको छ,’ उनले भने । शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नु पर्ने बाध्यता पनि अब हट्ने दाबी गरे । उनले आफ्नै दक्ष इन्जिनियरहरुको हौसला बढाएर र उनीहरुरुसँग छलफल गरी अघि बढ्ने हो भने विश्वसनीय सेवा दिन सकिन्छ भन्ने सन्देश पनि यो कामले दिएको बताए । आगामी दिनमा क्लालिटी, सर्भिस र प्राइससँगै आयोजनाहरुमा स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दिएर अघि बढ्नुको विकल्प नभएको भन्दै उनले सधैँभरी विदेशी परामर्शदाताको मात्रै भर पर्ने हो भने ठाउँ–ठाउँमा धोका पाइने बताए । ढल्केबर सबस्टेशनले नेपालकै इन्जिनियरिङ प्रयोग नभएको भए यति छिटो प्रगति गर्ने थिएन भन्ने उनको विश्वास छ । स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दियो भने जस्तासुकै समस्या पनि हल गर्न सकिन्छ भन्ने त्यो एउटा गतिलो उदाहरण प्राप्त भएको उनले अथ्र्याए । उनले आफ्नो कार्यकालभरी स्वदेशी प्रविधि र प्राविधिकलाई नै प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘चिलिमे मोडेल अर्थात स्वदेशी प्रविधि, स्वदेशी सिप र स्वदेशी लगानीमा अघि बढ्नुपर्छ, ठूला–ठूला आयोजनामा पनि अब स्वदेशी परामर्शदाता नै प्रयोग गर्नुपर्छ, म त्यसैमा लाग्छु,, आजको दिनमा विद्युतको चुनौति भनेको लोडसेडिङ होइन, अब त्यसलाई इतिहास बनाएर विश्वसनियता, राम्रो सेवा र उपयुक्त मुल्यमा जोड दिनुपर्छ,’ शाक्यले भने । त्यसका लागि विद्युत प्रणालीलाई प्राविधिक हिसावले स्तरीय र बलियो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । प्रसारण लाइनहरु निर्माण गर्ने र सबस्टेशनको क्षमता थप गरी आधुनिकिकरण गर्दै लैजाने र वितरण प्रणाली सुदृढ गर्नु आवश्यक रहेको उनको भनाइ छ । आगामी दिनमा काठमाडौं उपत्यकामा बढ्न सक्ने लोड समेतको विचार गरी प्राविधिक उपायहरु अप्टिमाइजेशनमा आधारित भई सम्भव भएसम्म सस्तो र स्वदेशी बुद्धिले जानेको र मानेको जुक्तिहरु लगाई कार्य गरिने पनि उनले बताए । प्राधिकरणका अनुसार यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृत दिएको छ । २ सय ५० मेगावाटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । ‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो, त्यो समयसम्म नेपालको आफ्नै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भैरहेको छ । गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभिमा चार्ज भइ भारतबाट ४०० केभिमा पहिलो पटक बिजुली प्रवाह भएको हो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी वर्षातमा ५०० देखि ६०० मेगावाटसम्म निर्यातको संभावना बनेको छ,’ प्राधिकरण स्रोतले भन्यो ।

बाजुरामा राष्ट्रिय प्रसारण लाइन विस्तार

मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै सञ्चालनमा ल्याएको छ । सोही नगरपालिका–३ साविकको ब्रह्मतोला गाउँ विकास समिति–७ बाहुनबाडा, सेरालाबाडा र बसालीमा विद्युत् लाइन विस्तार गरिएको हो । जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलोपटक बूढीगङ्गाको बाहुनबाडा गाउँबाट विद्युत् सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा बाजुराका कार्यालय प्रमुख महेशचन्द्र भट्टले बताएका छन् । लाइन विस्तारसँगै बूढीगङ्गा नगरपालिका–३ का ५२ परिवारले विद्युत् सेवा उपयोग गर्न पाएको वडाध्यक्ष खडक अधिकारीले बताएका छन् । साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नं वडामा बिजुली विस्तार गर्ने योजनासहित प्रसारण लाइन जडान गरिएको हो । बसालीका स्थानीयवासी पहिलोपटक विद्युत् सेवा उपयोग गर्न पाउँदा खुशी भएका छन् । वर्षौँदेखिको सपना पूरा भएको र अँध्यारोबाट उज्यालो युग शुरु भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । वडामा पर्ने अझै १४ बस्तीमध्ये दुई बस्तीमा मात्र विद्युत् विस्तार भएकाले तत्काल अरु बस्तीमा पनि लाइन विस्तार हुनुपर्ने वडासदस्य कल्लाने दमाइको माग थियो । लाइन जडान गरिए पनि ट्रान्सफर्मर आएलगत्तै अन्य बस्तीमा पनि विद्युत् विस्तार हुने प्राधिकरणले वितरण शाखा बाजुराका सूचना अधिकारी शङ्कर स्वारले बताएका छन् । स्थानीय लघुजलविद्युत् उत्पादन गरेर बिजुली सेवा सञ्चालनमा रहे पनि विद्युत् प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार शुरु गरेको हो । दुई वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिए पनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताइएको छ । जिल्लामा अझै आधाभन्दा बढी जनसङ्ख्या विद्युत्को उज्यालोबाट वञ्चित छ । रासस

धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौं । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए । पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उनको भनाई छ । कोरिडोरको फुटपातको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । कोरिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले छिटो काम तोकिएकै समयमा सक्न पनि उनले निर्देशन दिए । उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले ठेक्का भएअनुसारको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने राखिएको बताए । आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उनले १६ किलोमिटर सडक कालोपत्रे भइसकेको पनि बताए । मुआब्जा वितरण समेत गरेर ३ अर्ब ६० करोडमा कोरिडोर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । शुक्रबार कोरिडोर निर्माणको प्रगतिका विषयमा मन्त्री समेत टोलीले स्थलगत अनुगमन गरेको थियो । लामो समय अलपत्र परेको कोरिडोर निर्माणको कामले अब गति लिने विश्वास प्राधिकरणले गरेको छ । विगतमा फरक फरक निर्माण कम्पनीहरुले ढल विच्छ्याउने र सडक कालोपत्र गर्ने ठेक्का पाउँदा समन्वय हुन सकेको थिएन् । फलस्वरुप निर्माणको कामले गति लिन सकेन् । अहिले एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम पाएपछि निर्माणमा सहजता आउने विश्वास प्राधिरकणको छ ।