लालबन्दीमा साढे १७ करोड लागतमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने
फाइल फाेटाे सर्लाही । जिल्लाको लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ । लालबन्दीका पाँच वटा वडामा ५०० घर निर्माण गरिने भएको वडा नम्बर ५ का अध्यक्ष मोहन भण्डारीले जानकारी दिए । जनता आवास कार्यक्रमअन्तर्गत नगरका पाँच वटा वडामा प्रतिवडा १०० घर बनाइने भएको हो । ट्रस मोडलमा बनाइने ५०० घर अतिविपन्न दलित समुदायलाई निर्माण गरेर हस्तान्तरण गरिने जनता आवास कार्यक्रमका कार्यक्रम संयोजक तथा प्रदेशसभा सदस्य नीरा साहले बताए । प्रतिघर निर्माण गर्न तीन लाख ५० हजार रुपैयाँका दरले १७ करोड ५० लाख रुपैयाँ लाग्ने उनले बताए । शौचालयसहित प्रत्येक घर निर्माणको लागत तीन लाख ५० हजार रुपैयाँ लाग्ने र त्यसबाहेक १० प्रतिशत श्रमदान गर्नुपर्ने छ भने आफूहरूले काममा खटिएबापतको रकम पनि पाउने कार्यक्रम संयोजक साहले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ भित्र नै सक्ने गरी प्रदेश सरकारले १७ करोड ५० लाख रूपैयाँ रकम उपलब्ध गराएको प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले जानकारी दिए । अतिविपन्न दलित समुदायले आफ्नो घरसमेत बनाउन नसक्ने भएका कारण सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत ५०० अतिविपन्न दलित समुदायको घर बनाई दिने भएको हो भने अहिले करिब २५० घर निर्माणको क्रममा रहेको आयोजकले बताएको छ । रासस
कहिले सुधार होला सातदोवाटो-गोदावरी सडक ?
ललितपुर । गोदावरीका राजु विष्ट दैनिक घर कार्यालय आवतजावत गर्छन् । उनले दैनिक यसरी आवतजावत गर्दा पानी गर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे र खाल्डाखुल्डी सडकको निकै सामना गर्नुपरिरहेको छ । कोरोनाको जोखिम बढ्दो छ । सडकको अवस्थाले उनलाई घरबाट बाहिर निस्कन दिक्क लाग्छ । यसैगरी गोदावरी वडा नं ४ बडिखेलका पुरुषोतम आचार्य पनि दैनिक घर र कार्यालय गर्छन् । उनले पनि सोही सडक खण्ड भएर यात्रा गर्नुपर्ने हुन्छ । अर्काे मार्ग अपनाएर हिड्दा लामो दूरी पार गर्नुपर्ने भएकाले उनी सधै यसै सडकको प्रयोग गर्न बाध्य भएका छन् । आफ्नै साधन प्रयोग गरेर हिड्दा समेत सडकमा खाल्डाखुल्डी भएका कारण धैरै पटक आफू चिप्लिएर लडेको उनले बताए । “कति पटक हिलाम्मे सडकमा लडिसके । कुनै दिन यस्तै गरी चिप्लिएर अन्य सवारीसाधनसँग ठोकिएर ठुलो दुर्घटनामा परिएला भन्ने डर लागिरहन्छ ।” उनले सातदोवाटोदेखि बडिखेल आउन लगभग ११ किलोमिटर सडक पार गर्नुपर्छ । सो सडक अस्तव्यस्तताका कारण यती दूरीको यात्रा छिचोलेर हिड्न पनि उहाँलाई समस्या भइरहेको छ । लामो सयम सडक जाममा परेका बेला सुस्केरा हाल्दै उनले प्रश्न गरे,“खोइ, कहिले बन्ला यो सडक ? ।” त्यसैगरी वडा नं १४ बाडेगाउँका गोविन्द महर्जन पनि यस सडक पार गरेर दैनिक आफ्नो व्यवसाय सम्हाल्न हिड्छन् । पाका उमेरका उनलाई समय समयमा औषधिउपचार लगायत काममा खटिरहनुपर्ने कारण दुई पाङ्ग्रे सवारी चढ्दा धुलोले श्वास फेर्न ग्राहो हुने त चार पाङ्ग्रे सवारी चढ्दा खाल्डाखुल्डीका कारण सडकमा उफ्रिएर पेटको लाम्टानै चुड्डेला जस्तो भएर कयौँ दिन ओच्छान पर्ने गरेको दुःखेसो गरे । उनीहरु त यस सडक खण्ड यात्रा गर्ने एक प्रतिनिधि पात्र मात्रै हुन । उहाँहरु जस्तै अन्य मानिसले हरेक दिन यस सडक भएर खाल्डाखुल्डी, हिलो र जामको सामना गर्दै हिड्न बाध्य भइरहेका छन् । ती सङ्ख्याका यात्रीमा केहीमा दीर्घ रोग त कोही गर्भवती अनि केही सुत्केरी समेत हुने हुँदा यस्तो अवस्थामा यस्तो सडकमा कसरी उफ्रिएर हिड्न बाध्य भएका होलान ? यो कुरा कल्पना समेत पनि गर्न सकिँदैन । सातदोवाटोदेखि हात्तिवनसम्मको सडक यात्रा गर्न खासै छैन । हात्तिवन माथि हरिसिद्धिदेखि गोदावरीसम्मकै सडक पार गर्न कठीन रहेको छ । गत असोज १५ गतेदेखि यथाअवस्थामा सडक कालोपत्र गर्ने भनिएर हरिसिद्धिको मुल सडक निर्माणको काम भइरहेको छ । सो सडकमा ढल निकास र नाली व्यवस्थापनको काम भइरहँदा यसले समेत यात्रीलाई हिलो र धुलोको समस्या बढाइरहेको छ । सो क्षेत्रमा ढल खनेर पाइप विच्छाउने र मंगाल बनाउने काय जारी रहँदा यो कहिले सकिन्छ भन्ने यकिन गर्न नसकिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको बताए । उनले भने, “हामीले एकतर्फ यी काम अघि बढाइरहेका छाैँ भने अर्काेतर्फ दिनभरी यात्रा गर्ने सवारी साधनले आउने र जाने क्रम काम ढिलाइ भइरहेको छ । ” सडकमा ढल खनेर पाइप राख्ने र मंगाल हाल्ने काम भइरहदा हिलोको कारण कयौँ यात्री लड्नुका साथै सवारीसाधन पनि हिलोमा फसेर निकाल्नु परिरहेको उनको भनाई छ । मंगाल बनाउन खनिएको प्वालमा आज बिहानमात्रै एक सवारीसाधन फसेर झिकेको बताइएको छ । हाल निमाणाधीन सो सडकको काम समाप्त गर्न अझै एक महिना समय लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन सडकमा रोडा हाल्दा हिलो माथी माथी आएर साना गाडीको तुलनामा ठुलालाई यात्रा गर्न कठिन भइरहेको छ । ढल निकासको काम बेलुका गर्न नमिल्ने र उज्यालोमा नै गर्नुपर्ने सम्बन्धित व्यक्तिको भनाइ छ । यसका साथै ठैव, बाडेगाउँ, टौखेल हुँदै गोदावरीसम्म पुग्न चार वर्ष अघिदेखि यहाँका यात्रीलाई कठिनाइ भइरहेको छ । सातदोवाटो गोदावरी क्षेत्र चल्ने सावरीसाधनका साथै यस भेगमा रहेका घरहरु पनि आजभोेली सडकका कारण हिलो र धुलोले हेर्न नहुने भइरहेका देखिन्छन् । सो क्षेत्रको सडक कहिले मर्मत, सुधार र कालोपत्र हुन्छ भन्ने कुराको जानकारी कसैलाई पनि छैन । रासस
जलविद्युत्को ‘हव’ बन्दै बागलुङकाे ताराखोला, थपिँदै चार ठूला आयोजना
गलकाेट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ । मध्यताराखोला जलविद्युत् आयोजना निर्माण शुरु भइसकेको छ भने अन्य तीन जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । पछिल्लो समय ताराखोला जलविद्युत्को ‘हव’ बन्दै गइरहेको छ । साना लघु जलविद्युत्को भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रिय विद्युत् नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । केन्द्रिय प्रसारण लाइनमा जोड्ने गरी मध्यताराखोला जलविद्युत् आयोजना २.२ मेगावाटको निर्माण कार्य चलिरहेको आयोजनाका प्रबन्ध निर्देशक अनिल खड्काले बताए । ताराखोला गाउँपालिका–५ करिमेलामा ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यतारा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको हो । गत वर्षको माघदेखि शुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो । अहिले दशैँ तिहारको बीचमा समेत आयोजनमा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ । आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताए । विसं २०६९ मा लाइसेन्स प्राप्त गरेको आयोजानाले हाल आएर धमामध काम थालेको हो । उक्त आयोजनाले ताराखोला, छेल्लर र नागबेली खोलालाई एउटै बाँधमा मिसाएर उक्त पानीलाई १२६ मिटर तल खसालेर विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाको कुल लागत २६ करोड रहेको छ । आयोजनामा प्रभु बैंकसहित अन्य १० जनाले लगानी गरिरहेका छन् । “मध्यताराखोला जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ”, खड्काले भने, “हामी एउटै बाँधमा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौँ ।” स्थानीय पायोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् खपत नभएपछि केन्द्रिय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ । अहिले मध्यतारा जलविद्युत् आयोजनाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले जानकारी दिए । एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत्गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधिअन्तर्गत चारै आयोजना निर्माण गरिनेछ । आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ । आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रिय प्रसारण लाइनअन्र्तगत हरिचौर सवस्टेशनमा जोडिनेछ । मध्यतारा जलविद्युत् आयोजनामा विद्युत् उत्पादन भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत् आयोजना ३.५ मेगावाट निर्माण गर्नका लागि प्रक्रिया शुरु भएको छ । यस्तै यही आयोजनाका लगानीकर्ताले मध्यदरमखोला ‘ए’ जलविद्युत आयोजना र मध्यदरमखोला जलविद्युत आयोजना ‘बी’ समेत निर्माण गर्नेछ । मध्यदरमखोला समेत एउटै बाँधबाट दुई आयोजना निर्माण हुनेछन् । मध्यदरम ‘ए’ तीन मेगावाट र मध्यदरम ‘बी’ ४.५ मेगावाट क्षमताको हुनेछ । ताराखोलामा जलविद्युत् आयोजना निर्माणले गति लिएपछि स्थानीयवासीहरुको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । रासस