सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपालीको सङ्ख्या बढ्यो

काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिको उल्येख्य वृद्धि भएको बताएका छन् । सडक कालोपत्र गर्ने काममा भारतीय तथा तेस्रो देशका मजदूरले मात्रै काम गर्ने गरेको बताउँदै मन्त्री फुयाँलले पछिल्ला दिनमा नेपाली सडकमा नेपाली मजदूर अझ महिलाको समेत सङ्ख्या बढ्दै गएको उल्लेख गरे। मन्त्री फुयाँलले अन्यत्र गएर विभिन्न प्रकारका मजदुरी गर्ने नेपाली कोरोना कहरका कारण थन्किएको अवस्थामा पूर्वाधार निर्माणका क्षेत्रमा थुप्रै जनशक्ति खपत गरिएको जानकारी दिए । मन्त्री फुयाँलले केही दिन पहिले मात्रै शिलान्यास गरिएको काभ्रेका सडकमा महिला मजदूरले काम गरिरहेका देखिएको हेटौंडा-काठमाडौंका सडकमा समेत महिला-पुरुषले संयुक्त रूपमा काम गरिरहेका बताए । नेपालमा हुने विभिन्न काममा नेपाली जनशक्ति प्रयोग गर्न सकियो भने पनि बेरोजगारी समस्या समाधान हुने तथा विदेशिएका जनशक्तिलाई स्वदेशमै स्थापित गराउन सकिने उनको भनाइ थियो । उनले अटोमोबाइलको क्षेत्रमा भने अझै पनि नेपाली मिस्त्री तथा मजदूरको अभाव रहेकाले सरकारले त्यो पूर्ति गर्नका लागि विशेष योजना बनाएको बताए । मन्त्रालयले अटोभिलेजको निर्माण गर्ने र इच्छुक महिला-पुरुषलाई संयुक्त रुपमा अटो मेकानिक्सको तालीम दिने तयारी थालेको जानकारी दिए । तालीममा दम्पतीलाई सहभागी गराइने उनको भनाइ थियो । मन्त्री फुयाँलले प्रदेश सरकार स्वदेशी श्रमिकलाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रयासरत रहेको बताए । “हामीले गर्ने हरेक निर्माणमा बेरोजगारहरुलाई बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन के गर्न सकिन्छ भन्ने हाम्रो ध्याउन्न हुन्छ, प्रदेशका हरेक मन्त्रालयका गतिविधि कहीँ कतै बेरोजगारी समस्या समाधानका लागि हुने गर्छन्”, उनले भने । रासस

विकास निर्माणका काममा अनेकन झन्झट, बैंक ग्यारेन्टी र बीमाको म्याद थपको लविङ

काठमाडौं । सधैँझै सुस्त अवस्थामा हुने विकास निर्माणका आयोजनाहरुकोे ढिलासुस्तीको बाहना यो वर्ष कारोना भाइरस बनेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण यो वर्ष विकास निर्माणका काममा ठूलो असर परेको छ । कोरोना भाइरसले साना तिना आयोजनादेखि ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा निकै असर परेको छ । जसको कारण ती आयोजनाहरुको निर्माण कार्य समयमै सम्पन्न नहुने र त्यसको लागत पनि बढ्ने देखिएको छ । चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिएका अधिकांश आयोजनाहरु अब थप एक दुई वर्ष लाग्ने भएको छ भने तिनीहरको लागत पनि बढ्ने देखिएको छ । कोरोना भाइरसकै कारण ५ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञामा ठप्प बनेको विकास निर्माणका काम अहिले लकडाउन खुलेको भएपनि ठप्प नै छन् । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्नुअघि विभिन्न विकास निर्माणका आयोजनाहरु निर्धारित मितिमा सक्ने गरी काम भएको थिएन । ती आयोजनाहरुमा विभिन्न समयमा कतै ठेकेदारका कारण समस्या आएको त कतै निर्माण सामग्री उपलब्ध नभएको बहानाबाजी थियो । भुक्तानीमा समस्या त सधैंको बहानाबाजी नै हाे । तर, अहिलेको बाहना निर्माण व्यवसायीहरुका लागि कोरोना भाइरस बनेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि विकास निर्माणका काममा पनि असर पर्दै गएको छ । नेपाल निर्माण व्यवसायी महासंका अनुसार अहिले कोरोना भाइरसको कारण विकास निर्माणको काम १० प्रतिशत मात्र भइरहेको छ । बाँकी सबै काम ठप्प अवस्थामा नै छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर विकास निर्माण सम्बन्धि काम गर्न अुनमति दिएपनि विभिन्न कारणले विकास निर्माणका काम हुन नसकेको महासंका अध्यक्ष रवि सिँहले बताए । सिँहले यतिबेला विकास निर्माणको काममा धेरै समस्या रहेकाले काम हुन नसकेको बताए । उनले कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, बैंक ग्यारेण्टी तथा बिमा, क्रेडिटलाइन कमिशनलगायतका विषयमा समस्या रहेको बताए । उनले भौतिक पूर्वाधर तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङलाई भेटी निर्माण व्यवसाय क्षेत्रमा कोभिड– १९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा समेत जानकारी गराइसकेको बताए । उनले आफू नेतृत्वको प्रतिनिधि मण्डलले मन्त्री नेम्वाङलाई धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, बैंक ग्यारेण्टी तथा बिमा, क्रेडिटलाइन कमिशनलगायतका विषयमा जानकारी गराएको बताए । लकडाउनको अवधिसम्म विकास निर्माणका कार्य हुन नसकेको समयावधिलाई सार्वजनिक खरिद ऐनले महामारीलाई विषम परिस्थिति परिभाषित गरेको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काहरुको म्याद स्वतः थप गर्न अनुराेध गरेकाे उनकाे भनाई छ । यस्तै अहिले विकास निर्माणका काममा कामदारहरुको पनि अभाव भएकोले कामदार आपूर्तिको लागि सहज वातावरण सिर्जना गरिदिन मन्त्रीसमक्ष अनुरोध गरेको उनले बताए । बैंक ग्यारेण्टीहरु तथा बिमाको म्याद थप सम्बन्धमा मन्त्रिपरिषद्को पटक–पटकको निर्णयअनुसार र बजेट वक्तव्यमा व्यवस्था भएअनुसार कार्यान्वयनका लागि उक्त बैंक ग्यारेन्टीहरु तथा बिमाको म्याद स्वतः एकमुष्ट १ वर्षको लागि थप गरिनुपर्ने पनि महासंघको माग छ। सार्वजनिक खरिद नियमावली बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयले क्रेडिट लाइनको ढाँचा तोक्ने व्यवस्था भएअनुसार हालको व्यवस्था बमोजिम निर्माण व्यवसायीहरुले निर्माण कार्यको सम्झौताको समयमा पेश गर्नुपर्ने बैंक क्रेडिटलाइनको लागि ऋण सरह चाहिने धितो लामो समयसम्म होल्डमा बस्ने र सो राखेतापनि उक्त क्रेडिटलाइनकै आधारमा ऋण नदिने बैंकहरुलाई मात्र फाइदा हुने भएकोले क्रेडिट लाइनको व्यवस्था खारेज गरिनुपर्ने महासंघको माग छ।

सात महिनासम्म ठप्प रहेकाे कालीगण्डकी करिडोरको काम शुरु, साढे एक वर्षपछि सकिने

नवलपुर । कोभिड-१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम शुरु गरिएको निर्माण पक्षले जनाएको छ । “कोरोनाको सङ्क्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो”, निर्माण कम्पनी आशिष निर्माण सेवाका साइड इन्चार्ज कपिल गौलीले भने, “कोरोना महामारीका कारण सबै कामदार घर जाँदा काम ठप्प भएको थियो, अहिले केही कामदार ल्याएर निर्माणको काम पुनः थालेका छौँ ।” कोरोना जोखिमका कारण काम गर्न असहज परिस्थिति सिर्जना भएको भए पनि अब दशैँलगत्तै करिडोर निर्माणको कामले तीव्रता पाउने गौलीले बताए । उत्तर-दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर)अन्तर्गत अर्गली-रामपुर (पाल्प)-गैँडाकोट १३२ किमी, रिडी-गुल्मी-बाग्लुङ ८८ किमी, बाग्लुङ-बेनी-जोमसोम ८७ किमी, जोमसोम-कोरला १०५ किमी पर्छ । रु ५ अर्ब ४७ करोडको लागतमा निर्माण शुरु भएको कालीगण्डकी करिडोरको गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम अगाडि बढेको गौलीले बताए । निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिटेडले नेपालको गौली ग्रुप र आशिष निर्माण सेवालाई सडक निर्माणको लागि पेटी ठेक्का दिएको थियो । पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटस्थित कालीगण्डकी चोकदेखि पाल्पा पिपलडाँडा राम्दीसम्मको १३२ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ । निर्माण पक्षका साइट इन्चार्ज गौलीका अनुसार सो सडकमा सात मिटर कालोपत्र, एक/एक मिटरको किनार तथा एक/एक मिटरको नाला रहनेछ । ट्रयाक निर्माण सकिएको करिडोरको कालोपत्रको काम गत वैशाखबाट शुरु गर्ने तयारी गरिएको भए पनि कोभिड त्रासका कारण काम रोकिँदा एक वर्षपछि धकेलिएको आयोजनाले जनाएको छ । “आगामी २०७८ सालको वैशाखबाट हामीले उक्त सडकखण्डमा कालोपत्रको काम शुरु गर्ने गरी अन्य कामलाई तीव्रता दिँदैछौँ”, गौलीले भने, “अहिले पाल्पाबाट काम गर्दै गैँडाकोटतर्फ आएका छौँ, सो सडकको ८५ किलोमिटर सडक फराकिलो पार्ने काम सकिएको छ ।” कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा-गैँडाकोट सडकखण्डलाई चारवटा खण्ड बनाएर निर्माणको काम भइरहेको छ । गैँडाकोटबाहेकको अन्य खण्डमा पहाड काट्ने तथा भर्ने काम भइरहेको गौलीले जानकारी दिए । कालीगण्डकी करिडोरको पाल्पा-गैँडाकोट खण्डलाई गैँडाकोटको कालीगण्डकी चोकबाट बुलिङटारको थामबेँसी, थामबेँसीबाट भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारबाट पाल्पा रामपुरको पिपलडाँडा गरी चार खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ । विसं २०७५ मङ्सिर १७ गतेबाट शुरु गरिएको गैँडाकोट पाल्पा खण्डको निर्माणकार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यद्यपि कोभिड सङ्क्रमणका कारण काम ठप्प भएपछि आयोजनाको काम साढे एक वर्ष पछाडि धकेलिने आयोजनाले जनाएको छ । यस करिडोरको गैँडाकोट-पाल्पा सडकखण्डमा ३२ वटा पुल निर्माणकार्य अन्तिम चरणमा पुगेका कालीगण्डकी करिडोर निर्माण आयोजनाका सबइञ्जीनियर पदम अधिकारीले बताए । काम शुरु भएको करिब दुई वर्ष बित्नै लाग्दा सो सडकको प्रगति ३० प्रतिशत मात्रै देखिएको अधिकारीले बताए । सडक निर्माण समयमा नै सक्नका लागि आयोजनाको तर्फबाट निर्माण पक्षलाई निरन्तर सचेत गराइएको अधिकारीको भनाइ छ । रासस