रानीपोखरीकाे उद्घाटन ५ गते राष्ट्रपति भण्डारीले गर्ने

काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबारको दिन दिउसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने मन्त्री श्रेष्ठले बताए । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । समग्रतामा रानीपोखरीलाई जस्ताको तस्तै पुननिर्माण भई उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुननिर्माण प्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुनेपनि मन्त्री श्रेष्ठले बताए । यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरी रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।

स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैसाथ शिलान्यास गर्ने

काठमाडाैं । सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समुपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबिच भएको बैठकमा यस्तो सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए । सरकारले मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकाक्षी योजना अगाडि सारेको छ । एकीकृत योजना अन्तरगत प्रादेशीक र संघीय अस्पतालहरु समेत रहेका छन् । मन्त्रालयले १ हजार २ सय थान भेन्टिलेटर, ३ हजार ५ सय थान हाई डिफेडेन्सी यूनिट र ३ हजार थान आइसियूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आइसियु, एचडियु, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति पनि भएको छ । यस्तै कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ । यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को विरुद्ध विकास हुने खोप लगायतका आपतकालिन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्ने प्रकृया अगाडि बढाउने सहमति समेत दुई मन्त्रालयबिच भएको छ ।

एकैपटक २७ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो । आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए । आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युत्गृहको काम बाँकी छ । हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ । आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौतानुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म थियो । निर्माण लम्बिँदा लागत रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ । शुरुमा तीन अर्ब ९६ करोड रुपैयाँ लगानीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ । आयोजनामा १२ दशमलव ५ का दुई वटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदमा रु ८ र पैसा ४० तथा वर्षायाममा रु चार र पैसा ८ हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ । रासस