डडेलधुरा पुल: ५ वर्षमा तीन प्रतिशतमात्रै काम

सांकेतिक तस्विर डडेलधुरा । डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ । दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग विसं २०७२ मा सम्झौता भएको थियो तर सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ । पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भएको छ तर खोलाका दुवैपट्टि अपुरा पिलर राखेर पुल अलपत्र अवस्थामा छ । बर्सातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहरदोहर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए । उनले भने, “निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा जोखिमपूर्णरूपमा खोला वारपार गर्नुपरेको छ ।” समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको र पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए । काम सम्पन्न गर्नका लागि छ महिनाको म्याद थप भएकाले यो अवधि सकिँदा पनि काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कारवाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । यता पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले स्टिमेट रिभाइज भएकाले काममा ढिलाइ भएको स्वीकार गरेका छन् । निर्माण व्यवसायी गुरुङले तत्काल काम शुरु गरी सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा काम सम्पन्न हुने बताए । रासस

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो । प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य शुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । सो कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । “प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेका छाैं, अब कामलाई तीव्रता दिन्छौँ”, घिमिरेले भने । उनका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनको काम केही अगाडि नै शुरु गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको घिमिरेले जानकारी दिए । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरु भारतीय सिमानामा आइसकेको छ । हिउँदको समय शुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिए । प्रसारण लाइन निर्माणका लागि तनहुँतर्फको भागमा सात हजार ९२३ वटा रूख काट्नुपर्ने र चितवनतर्फको भागको पनि अध्ययन भइरहेको घिमिरेले जानकारी दिए । आयोजनाको प्याकेज दुईअन्तर्गतको विद्युत् गृहको पनि काम भइरहेको छ । उनका अनुसार ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै पावर हाउसको काम शुरु गरिएको छ । विद्युत् गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एन्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र बर्खायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । कूल १४० मेगावाट क्षमताको आयोजनाको लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ । रासस

दामनमा बन्यो नेपालकै अग्लो फलामे भर्याङ

काठमाडाैं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रूपैयाँ आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्याङसहित पार्क निर्माण गरिएको हो । थाहा नगरपालिका-४ का वडाध्यक्ष दिपकसिंह लामाले प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्याङ नेपालकै अग्लो फलामे भर्याङ भएको दाबी गरे । भर्यारङबाट माथि समुद्री सतहबाट करिब दुई हजार ४०० मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुङ्गा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताए । दामनमा ७० मिटर लामो भर्याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको भनाइ छ । हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमश्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । रासस