सोलु करिडोरको चौथोपटक म्याद थप, ४ वर्षमा पनि काम भएन

साेलुखुम्बु । निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण गरिएको भएपनि विभिन्न कारणले समयमानै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ११ तिङ्लामा सवस्टेशन निर्माण भइसकेपनि करिडोरको काम अझै सक्ने छाँटकाट छैन । सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको भएपनि कोरोनाका कारण समस्या भएको भन्दै आगामी डिसेम्बर ३१ अर्थात पुस १६ गतेसम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमले बताए । आयोजनाको काम गर्न समस्या नभएपनि कामदार ल्याउन समस्या भएको उनको भनाइ थियो । भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा म्याद थपिएको समयमासमेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ । सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ टावर बनाउनुपर्ने भएपनि अहिलेसम्म २८१ वटाको फाउण्डेशनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नुपर्ने छ तर पाँच वटाको सुस्तगतिमा काम भइरहेको छ । यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारणलाइनमार्फत रुम्जाटार सव स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिएपनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ । यस्तै सोलुखोलामानै निर्माणाधीन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ । रासस

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको बताए । उनका अनुसार अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटकपटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आएका छन् । पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिएकाे थियो । गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालनयोग्य भएको छ महिनाअघि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना लाग्नेछ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । विमानस्थलको धावनमार्ग, ट्याक्सी वे एवं पप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भई विद्युत्को काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माण सम्पन्न भई उपकरण जडान भइरहेको छ । विमानस्थलको भित्री तारबार र नाला बनाउने काम पनि अन्तिम चरणमा छ । आइसिबी जिरोटू अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना तयार भइरहेको छ । बन्दाबन्दीको अवधिमा विमानस्थलको काम निरन्तर भयो । धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिङ्क टयाक्सी वे निर्माण सकियो । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, रङरोगन, अग्नि नियन्त्रण तथा उपकरण नियन्त्रणका लागि संरचना निर्माण गरियो । चीनमा तयार भएको कन्भेर बेल्ट, धावनमार्ग एवं ट्याक्सी वेको विद्युतीय सामग्री बत्तीलगायत सामग्री आइसकेको छ । हाल उपकरण जडानका लागि ३५ चिनियाँ दक्ष प्राविधिक÷इन्जिनीयर जनशक्ति ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको छ । हार्डवेयरजन्य सामग्री सिमेन्ट, डण्डी, मार्वल, टायल्स, आलुमिनियम आपूर्ति भइसकेको छ । बन्दाबन्दीको अवधिमा २९ चिनियाँसहित करिब २७५ जना कामदारले दैनिक कार्य गरेका थिए । विमानस्थलले उक्त अवधिमा करिब ४.५ प्रतिशत प्रगति हासिल गरेको थियो । रासस

बाढीले क्षति भएकाे सालझण्डी–ढोरपाटन सडक फेरी बनाउन ६० करोड खर्च लाग्ने

गलकोट । जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ । बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ । जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पु¥याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ । ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँ–ठाउँमा बगाएको छ । सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्गसमेत छैन । सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम तीव्ररुपमा भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए । “धेरै ठाउँमा बाढीले सडक बगाएको छ, भूजीखोलाको तिरैतिर सडक भएका कारण खोलाले अधिकांश सडक कटान गरेको हो”, नगर प्रमुख नेपालीले भने “तत्कालै बाढीग्रस्त क्षेत्रमा सडक पु¥याउन असम्भव रहे पनि सडक सञ्चालन प्रयास जारी छ, तीन वटा डोजरले काम गरिरहेको छ ।” तीन दिनदेखि निरन्तरको प्रयासमा बोबाङको ढोकड गाउँमा यातायात पुग्नेगरी सडक सञ्चालन गरिएको छ । अबरुद्ध सडक खुलाउन सालझण्डी ढोरपाटन सडक आयोजनाले पनि अग्रसरता लिएको छ । आयोजनाले २१ गते स्थलगत अनुगमन गरी सडक मर्मतका लागि स्थानीय तह र जनप्रतिनिधिको रोहबरमा निर्माण कम्पनीलाई जिम्मा दिएको छ । बोबाङ गाउँदेखि माथी भूजीखोलाले पहाडको कुना सम्मै करिब १० किलोमिटर सडक बगाएका कारण ट्रयाक खोल्नै समस्या हुने देखिएको सडकको स्थलगत अनुगमनका लागि ढोरपाटन पुगेका सालझण्डी ढोरपाटन सडक आयोजनाका इञ्जिनियर सुरेश चौधरीले जानकारी दिए । सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक जतिसक्दो छिटो खुलाउनका लागि स्थलगत अनुगमनबाट लागत स्टिमेट तयार गरि काम थालिएको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका आयोजना प्रमुख जयलाल मरासिनीले बताए । “आयोजनाले सडक बगाएको खबर पाउँदा साथ आयोजनाका प्राविधिकलाई स्थलगत निरीक्षण गरी लागत अनुमान निकाल्न पठाएको थिए” मरासिनीले भने “विस्तृत लागत अनुमान बन्दैछ, हामीले सडक विभाग हुँदै अर्थ मन्त्रालयमा सडकमा पु¥याएको क्षतिको जानकारी गराएका छौं ।” मरासिनीका अनुसार, तत्कालै साना सवारी ढोरपाटनको देउराली पु¥याउनका लागि रु पाँच करोड लागत अनुमान गरेको भए पनि पुरानै अवस्थामा सडक फर्काउनका लागि झण्डै रु ६० करोड खर्च लाग्ने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण सर्वप्रथम नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गर्न आवश्यक रहेको छ । बाढीले ठूला–ठूला ढुङ्गा बगाएर सडकमा ल्याएको र कुनै स्थानमा चट्टान कटान गर्नुपर्ने भएकाले सडक सञ्चालन कठिन भएको हो । सामान्य ट्रयाक खोलेर राहत सामाग्री लैजाने गरी सोमबारदेखी काम थालिएको हो । सडक सञ्चालन गर्न नगरपालिकाले समेत आफ्नो डोजर खटाएको छ । सडक आयोजनाले थप डोजर परिचालन समेत गर्ने तयारीमा छ । आयोजनाले २० देखि २५ दिन भित्रमा ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने बताएको छ । रासस