अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग

काठमाडौं । सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । भारतीय निर्माण कम्पनी सतलजले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई दुई थान भेन्टीलेटर, तीन थान आईसीयू बेड, एक थान प्यासेन्ट मनिटर तीन थान, सेनिटाइजर, मास्क, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । भेन्टिलेटर सुविधा भएको जडान हुने सङ्खुवासभा पहिलो पहाडी जिल्ला भएको छ । मङ्गलबार एक कार्यक्रमका बीच एक करोड पाँच लाख रुपैयाँको स्वास्थ्य सामग्री सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरुन भिमानले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्त्रण गरेका हुन् । सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य बिरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले जानकारी दिए । जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुँदा सामान्य श्वासप्रश्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको थियो । अब जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराई सेवा सञ्चालन तत्कालै गरिने अस्पतालले जनाएको छ । आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनपछि जटिल रोग भएका बिरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ । रासस

आज ‘मार्च ३१’ खोई रेल आएको ?

आज मार्च ३१ अर्थात चैत १८ गते । रेल विभागले जसरी पनि भारतमा निर्माण भएको रेल नेपाल ल्याइसक्ने भनेको ‘डेट लाइन’ । यो भन्दा अगाडि रेल विभागले भारतमा बनिरहेको रेल नेपाल ल्याउने धेरै भाकाहरु राख्यो । तर, कुनै बेला केही र कूनै बेला केही प्राविधिक समस्या देखाएर पन्छिदैँ आएको थियो । यो भन्दा अगाडि अर्थात पछिल्लो भाका फागुनको पहिलो साता थियो । त्यतिखेर, तपाइँले विभिन्न समयमा भाकाहरु राख्नु भयो, अहिले सम्म नेपाल रेल किन आइपुगेन भन्ने विकासन्यूजको प्रश्नमा विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘विभिन्न समयमा गरेका भाका तपाईहरुलाई नै थाहा होला, हामीलाई थाहा छैन, हामीले यसको डेटलाइन मार्च ३१ राखेका छौं, हामी जसरी पनि रेल त्यति सम्म ल्याएरै छोड्छौं,’ महानिर्देशक मिश्रको त्यो बोलीको साहस पुनः तुहिएको छ । अहिले विभागले विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण देखाउँदै पुनः पन्छिएको छ । नेपालमा आउने भनिएका दुई रेल भारतमा निर्माण भइसकेकाे विभागले बताएको छ । विश्वभर कोरोना भाइरस ( कोभिड–१९)को कारण धेरै कामहरु अलपत्र परेका छन् । र अलपत्र परेको छ रेल ल्याउने सपना पनि । हालसम्म नेपालमा रेल ल्याउनका लागि भौतिक संरचनाहरु तयार नभइसकेको बताउँदै आएपनि अब भने कारण देखाउन कोरोना भाइरस भएको छ । भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने भनिएको रेल सेवा सञ्चालन गर्न तोकेकोभन्दा धेरै ढिलो भइसकेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले अब चैत १८ अर्थात मार्च ३१ मा रेल नेपाल आइपुग्ने बताएका थिए । उनले आजसम्म नेपालमा भौतिक संरचना निर्माण भइनसकेकोले ल्याउन ढिलाई भएको बताउँदै आएका थिए । बरु उनी यस अघि पटक–पटक रेल ल्याउने समय नतोकेको जिकिर गर्छन् । ‘यसअघि हामीले संरचनाहरु निर्माण गरिसकेको थिएनौं, भत्केका रेलका लिकहरु निर्माण गरिरहेका थियौं, हामीले अहिले त्यो पनि निर्माण गरिसकेका छौं,’ उनले भने । अब भने कारण काेराेना भाइरस बनेकाे छ । उनले एउटा एसी, २ वटा जनरल बोगी र एउटा इन्जिनको आधा भागको बोगी गरेर ५ वटा बोगी सहितको रेल भारतमा बनेर तयारी अवस्थामा रहेको बताए । ‘भारतमा बनिसकेको रेल ल्याएर नेपालमा थन्क्याउने कूरा भएन, हामीसँग रेल चलाउने जनशक्ति पनि छैन, न कुनै कार्यविधि छ, त्यसकारण पनि ढिलाई भएको हो, रेल निर्माणमा कुनै समस्या छैन, भारतमा रेल निर्माण भइसकेको छ,’ मिश्रले भने । विभागका इञ्जिनियर नवराज भट्टले भारत र नेपाल दुवै देशमा लक डाउन घोषणा गरेको कारण रेल ल्याउन नसकिएको बताए । तर, यो भन्दा अगाडि जुनसुकै हालतमा पनि मार्च ३१ भित्र नेपालमा रेल ल्याएरै छोड्नै मिश्रको बोली पुनः असफल भएकाे छ । सम्बन्धित समाचार ः अझैँ आइपुगेन रेल, अबकाे भाका चैत १८

लकडाउनमा अलपत्र ६ सय मजदूरको उद्धार

कास्की । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’का कारणले अलपत्र ६०० को हाराहारीमा मजदूरको उद्धार गरिएको छ । अस्थायी बसोबास भएको स्थानमा खाद्यान्न सकिएपछि मजदूर भोकभोकै बस्नुपर्ने अवस्था आएको र आफूहरुलाई घरसम्म पुग्ने व्यवस्था मिलाउन मजदूरबाट आग्रह गरिएको थियो । दाङ, तुलसीपुर, रोल्पा, सल्यान, चितवन, पर्सालगायतका जिल्लाका मजदूरलाई पहिलो चरणमा आज जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सार्वजनिक बसको व्यवस्था गरी आ–आफ्नो घरमा पुग्ने व्यवस्था मिलाइएको नेपाल निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले बताए । “प्रशासनले अनुमति दिएपछि दिउँसो र साँझ गरी ६ सयको सङ्ख्यामा मजदूरलाई उनीहरुको घरमा पुग्ने व्यवस्था गरियो”, अध्यक्ष श्रेष्ठले भने । जिल्लामा अझै ठूलो सङ्ख्यामा मजदूर अलपत्र परेको बताइन्छ । मजदूर रहेको स्थानबाट पोखरासम्म आउनसमेत कठिनाइ रहेकाले गाडी पठाएर ल्याउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । पूर्वाधार विकास कार्यालयका प्रमुख एवं डिभिजनल ईन्जिनियर शोभियत खड्काले देशका विभिन्न भागबाट जिल्लामा आफ्नो कार्यालय मातहतका निर्माण योजनामा सङ्लग्न भएका र हाल अलपत्र परेका कामदारलाई जिल्ला प्रशासनको सहयोगमा ‘रेस्कुय’ गरी सम्वन्धित ठाउँमा पुर्याइएको जानकारी दिए । आफ्नो कार्यालयअन्तर्गतका ठूला योजनामा कार्यरत ६ सय ६१ मजदूर प्रभावित भएको उनको भनाइ छ । तीनै तहका सरकारअन्तर्गतका जिल्लामा सडक, खानेपानी, नदी तटबन्ध, सिँचाई, भवनलगायतका पूर्वाधार योजनामा १० हजारको सङ्ख्यामा मजदूर कार्यरत रहेका र त्यसमा दुई हजार ५ सय विदेशी रहेका बताइन्छ । रासस