चैत १ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
रामपुर । पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ । घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिक रुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ । चैत १२ गतेदेखि बिहान ७ः०० देखि ९ः०० बजेसम्म, दिउँसो १२ः०० देखि ३ः०० बजेसम्म र राति ८ः०० देखि ११ः०० बजेसम्म सडक बन्द हुनेछ । दैनिक तीन समयमा सडक बन्द हुने भएको हुँदा सो समयमा काम हुने ठाउँको नजिक बढी भिडभाड नगरी ट्राफिक नियमको पालना गरी सहयोग गरिदिनुहुन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले अनुरोध गरेका छन् । सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्जा, पोखरा, बाग्लुङ, पर्वत, गुल्मीलगायतका धेरै जिल्लामा दैनिक सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत गर्छन् । यस सडकखण्डमा घुम्ती र पहिराका कारण धेरैले ज्यान गुमाउनुपरेको छ । रासस
८३ वन क्षेत्र डढेलाेकाे उच्च जोखिममाः शुरु भयाे शून्य डढेलो अभियान
लमही । डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरुभएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो अभियान सञ्चालन गरेको जनाएको छ । अभियानको शुरुआती चरणमा कार्यालयअन्तर्गतका कमिरेचौर, सुनपुर, घोराही, नाराणपुर, बिजौरी, तुलसीपुर, बिजौरी, दङ्गीशरण, पुरन्धारा र हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्साङ्कन कार्यक्रम सम्पन्न भएका छन् । ती कार्यक्रममा वन कर्मचारी, सामुदायिक वन समूह र सञ्जालका प्रमुख र लामो समयदेखि वन संरक्षणमा काम गर्दै वन हेरालुको सहभागिता रहेको थियो । ८३ वन समूह डढेलोको उच्च जोखिममा रहेका जनाइएको छ । जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । उच्च जोखिममा ८३ , मध्यम ४६ र ४४ वटा सामान्य रहेका डिभिजन वन कार्यालयका कार्यालय प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । उनका अनुसार ती वन समूहमध्ये ९२ वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका छन् । ८१ वन समूह निष्कृय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ । बङ्गलाचुली र दङ्गीशरणका गाउँपालिकाअन्तर्गतका वन क्षेत्र मध्यम जोखिम, तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन । लुकिछिपी धूमपान गरी फाल्नु यहाँ डढेलोको प्रमुख कारक रहेको जनाइएको छ । गलत सोचले समेत डढेलो लगाउने गरेको अध्ययनले देखाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । अभियानलाई सफल बनाउन दीर्घकालीन र अल्पकालीन रणनीति तयार गरेको कार्यालयले जनाएको छ । रासस
तनहुँमा ४० करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै
दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ । ४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । “उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ”, उनले भने, “निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ ।” उक्त भवनको बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको उनले जानकारी दिए । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले उद्योगले स्थानीयवासीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । रासस