सिप्रदीको कपन वर्कसप अब सौर्य ऊर्जाबाट चल्ने, ८६.४ किलोवाटको प्लान्ट सञ्चालन

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट क्षमताको रूफटप सोलार पीभी प्लान्ट सञ्चालनमा आएको छ । उक्त सोलार प्लान्टको उद्घाटन सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन कार्यक्रममा सिप्रदीका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री तथा वितरणमा मात्र सीमित नभई यसको सम्पूर्ण प्रयोग र सर्भिसिङ प्रक्रियालाई वातावरणमैत्री र दिगो बनाउने कम्पनीको प्रतिबद्धता रहेको बताए । उनका अनुसार कपन ईभी वर्कसपमा सौर्य ऊर्जा प्लान्ट स्थापना हुनु सोही प्रतिबद्धताको महत्वपूर्ण कदम हो । अब ईभी चार्जिङदेखि मर्मत तथा सर्भिसिङसम्मका काममा स्वच्छ ऊर्जाको प्रयोग गर्न सकिने उनले बताए । प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले विद्युतीय सवारीसाधनलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि स्वच्छ हुनुपर्ने बताए । उनले सौर्य ऊर्जामार्फत ईभी इकोसिस्टमलाई थप दिगो र कार्बन उत्सर्जनमुक्त बनाउने उद्देश्य रहेको बताए । सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्ससँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोगको सम्भावना प्रस्तुत गरेको उनको भनाइ छ । उनका अनुसार परियोजनाले विद्युत् खर्च घटाउन सहयोग गर्नुका साथै अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रको कार्बन उत्सर्जन घटाउन पनि योगदान पुर्‍याउनेछ । सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न गरी प्लान्ट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ । यसबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित स्वच्छ ऊर्जाले कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्‍याउने कम्पनीको दाबी छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला ईभीसँगै त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङमा समेत स्वच्छ ऊर्जाको प्रयोग आवश्यक रहेको कम्पनीहरूले बताएका छन् । सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्यले नेपालको कर्पोरेट क्षेत्रमा व्यावसायिक सौर्य ऊर्जाको एकीकरणका लागि नयाँ उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ । स्वच्छ ऊर्जा उत्पादन र अटोमोबाइल सर्भिसिङलाई एकै ठाउँमा जोडिएको यस परियोजनाले नेपाललाई शून्य उत्सर्जनतर्फ लैजाने लक्ष्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

भदौ ९ देखि नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल रहने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ । नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा प्रतीक्षित मेलाका रूपमा लिइने नाडा अटो शोमा यसपटक २०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा २२ वटा ब्रान्डका प्यासेन्जर कार, १६ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् । त्यस्तै, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् । नाडाका अनुसार देशभरका अटो व्यवसायीमा मेलालाई लिएर उत्साह देखिएको छ। स्टलका लागि अझै पनि उच्च माग भइरहेको आयोजकले जनाएको छ । तर प्रदर्शनीस्थलमा पर्याप्त ठाउँ नभएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको नाडाले जनाएको छ । अटो शोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहनेछ । सुस्ताएको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्ने नाडाको अपेक्षा छ । नाडाले स्वर्ण जयन्तीको अवसरमा आयोजना गर्न लागेको अटो शोले अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीलाई व्यापार प्रवर्द्धन र नयाँ उत्पादन सार्वजनिक गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने जनाएको छ । 

अनलाइन ठगीको सञ्जाल : विवाहको प्रलोभनमा एक महिलाले गुमाइन् ३१ लाख

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार ती महिलाको ठगीको कथा फेसबुकबाट शुरु भएको थियो । बेलायत (युके) को कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए । कुराकानीकै क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिएका थिए ।  महिलालाई विश्वस्त तुल्याउन ती व्यक्तिले विमानस्थलका भिडियोहरू पठाउने र भिडियो कल गर्ने समेत गरेका थिए । केही समयपछि उनले आफू भारतको बाटो हुँदै नेपाल आउन लागेको जानकारी दिए । लगत्तै, भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर (डीपी) भएको ह्वाट्सएप नम्बरबाट ती महिलालाई फोन आयो ।  फोनमा भनिएको थियो, ‘तपाईँको साथी ठूलो परिमाणको नगद र सम्पत्तिसहित समातिएका छन्, उनलाई छुटाउन भन्सार र जरिवाना बापत रकम तिर्नुपर्छ ।’  आफ्नो भावी श्रीमान् ठानिएका व्यक्ति समस्यामा परेको ठानेर ती महिलाले सुरुमा पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन् । यति रकम पठाएपछि आफू ठगिएको आशङ्कामा उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन् । प्रहरीले अनुसन्धान गरी यो स्पष्ट रूपमा ठगी भएको र अब थप एक रुपैयाँ पनि नपठाउन उनलाई सचेत गरायो । तर ठगको मनोवैज्ञानिक प्रभाव यति बलियो थियो कि प्रहरीको चेतावनीका बाबजुद ती महिलाले पुनः २२ लाख रुपैयाँ पठाइन् । प्रहरीकाअनुसार ती व्यक्तिले ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भनी भावनात्मक ब्ल्याकमेल गरेका थिए । अन्ततः ३१ लाख रुपैयाँ गुमाएपछि र भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति अपराधी भएको पुष्टि भएपछि मात्र ती महिलाले आफू ठगिएको यथार्थ स्वीकार गरिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानकाअनुसार यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । अहिले बजारमा ठगीका अनेकौँ शैलीहरू सक्रिय छन् ।  फेसबुक र टिकटकमा सस्तो सामानको विज्ञापन राख्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपीमार्फत बैंक खाताबाट पैसा उडाउने गरिएको छ । नजिकका साथी वा आफन्तको फेसबुक र ह्वाट्सएप ह्याक गरी ‘म संकटमा छु, तुरुन्तै पैसा पठाइदेऊ’ भन्दै म्यासेज गरेर पैसा असुल्ने गरिएको छ । आकर्षक देशहरूको लोभ देखाएर नक्कली कागजात बनाउने र प्रोसेसिङका नाममा मोटो रकम ठग्ने गिरोह उत्तिकै सक्रिय छ । बैंक वा ई–सेवा, खल्ती जस्ता संस्थाको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ओटीपी माग्ने र खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्ति पनि बढेको छ । सुरुमा सानो रकमको दोब्बर फिर्ता दिएर विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन हुने ‘अनलाइन बेटिङ’ र नक्कली लगानीका स्किमहरू पनि सक्रिय छन् । सूचना अधिकारी पासवानले अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । ‘कुनै पनि अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा दिएको प्रलोभनमा नपर्नुस् । थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो’, उनले भने । प्रहरीले आफ्नो बैंक खाताको विवरण, पिन नम्बर र ओटीपी कसैलाई नदिन, शंकास्पद लिंकहरू नखोल्न, अनधिकृत एपहरू डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबार गर्नुअघि आधिकारिकता बुझ्न सर्वसाधारणलाई अपिल गरेको छ । यदि ठगी भएको शंका लागेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।