नाइमा मोबिलिटी एक्स्पोः पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले गरे अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भृकुटीमण्डपमा सुरु भएको छ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । छ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुने यस मेलामा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक भित्रिएका नयाँ ब्रान्डका साथै विभिन्न मोडलका विद्युतीय कार, ई-स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । सवारी खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले अवलोकनकर्ताका लागि विशेष अफर र सहुलियतपूर्ण कर्जा सुविधा समेत उपलब्ध गराइरहेका छन् । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन् । उनले पटक-पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताइन् । उनले निजी क्षेत्र र सरोकारवालाहरूसँग छलफल गरेरमात्रै नीतिहरू परिवर्तन गर्न सरकारलाई सुझाव दिइन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गरेरमात्रै नहुने र सुरक्षाको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीहरूलाई सुझाव दिए । उनले ब्रान्डहरूले बिक्रीपछिको सेवामा ध्यान दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैँ राजस्वको स्रोतको रूपमा मात्रै हेरेको गुनासो गरे । उनले अटोमोबाइल क्षेत्रलाई विलासी नभई आवश्यकताको क्षेत्रको रूपमा लिन सुझाव दिए । नेपालमा अटोमोबाइल क्षेत्रमा संसारकै सबैभन्दा उच्च भन्सारदर लागु गरिएको उनले बताए । सबै व्यवसायको लागि स्थिर नीति आवश्यक पर्ने भएकाले विद्युतीय सवारीका लागि पनि स्थिर नीति लिन उनले सुझाव दिए । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताए । त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे । उनले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषय मात्रै नभएर देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक उनले पेस गरे । ‘यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित छ । त्यसैले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ,’ उनले भने । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोको पहिलो दिन मंगलबार इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ विषयमा छलफल भएको छ । पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्यले प्यानलिस्टका रूपमा सहभागिता जनाएका छन् । मंगलबारको लर्निङ सेसनमा मात्रै तीन सयभन्दा बढीले सहभागिता जनाएका छन् । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा लर्निङ सेसन्स, पोलिसी डाइलग र इन्डस्ट्री इन्टर्याक्सन्सजस्ता कार्यक्रमहरु सञ्चालन हुनेछन् । कार्यक्रममा बेसिक लाइफ सपोर्ट एन्ड इमिडिएट केयर आफ्टर रोड ट्राफिक एक्सिडेन्ट्स विषयमा ग्रान्डी इन्टरनेसलन हस्पिटलका तर्फबाट जानकारीमूलक विशेष प्रस्तुति दिइएको थियो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रूपमा रहेको छ । त्यस्तै, बैंकिङ पार्टनरका रूपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् । नाइमा मोबिलिटी एक्स्पोको को टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।
एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवा सहितका सुविधा उपलब्ध गराउने
काठमाडौं । एनसेलले नेपाली व्यवसायहरूलाई लक्षित गर्दै डोमेन दर्ता र वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका नेपालका स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनहरूका लागि भरपर्दो र देशभित्रै सहज पहुँच भएको वेब पूर्वाधार प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो । यो एकीकृत प्लेटफर्ममार्फत ग्राहकहरूले डोमेन दर्ता, नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसन जस्ता सुविधाहरू सजिलै उपभोग गर्न सक्नेछन् । विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ खरिद गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै एनसेलले ग्राहकहरूलाई नेपाली मुद्रामै भुक्तानी गर्ने सुविधा मिलाएको छ । व्यवसायको आकार र आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दुई प्रकारका प्याकेजहरू प्रस्तुत गरेको छ । मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र सुरक्षा सुविधाहरू समावेश छन् । त्यसैगरी, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायका लागि मासिक २ हजार रुपैयाँमा प्रो प्याकेज उपलब्ध गराइएको छ, जसमा बढी स्टोरेज, २० वटासम्म व्यावसायिक इमेल, १० वटा डेटाबेस र ५ वटासम्म सबडोमेन लगायतका सुविधाहरू समेटिएका छन् । नेपालभित्रै डेटा होस्टिङ हुने भएकाले ग्राहकहरूले आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्ति देशभित्रै सुरक्षित राख्न सक्नेछन् । यसले व्यवसायहरूलाई डेटामाथि पूर्ण नियन्त्रण कायम गर्न र नियामक मापदण्डहरू पूरा गर्न सहज बनाउनेछ । एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओका अनुसार स्थानीय पूर्वाधार र नेपाली रुपैयाँमा भुक्तानीको व्यवस्थाले नेपाली व्यवसायहरूलाई आत्मविश्वासका साथ डिजिटल यात्रा सुरु गर्न ठूलो मद्दत पुग्नेछ ।
नाइमा मोबिलिटी एक्स्पो : सुरुको दिनमै व्यवसायी उत्साहित
काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला सवारीसाधनका सौखिन र आवश्यकता भएका ग्राहकहरूले भरिभराउ छ । नाइमाले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणले छुट्टै रौनक ल्याएको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । जसलाई अवलोकनकर्ताहरूले सवारी साधनको कुम्भमेलाको संज्ञा दिएका छन् । एक्स्पोको प्रवेशद्वारमै भेटिएका केएमसी कलेजका विद्यार्थी मिसन भट्टराई निकै उत्साहित देखिन्थे । हातमा मोबाइल समात्दै खल्ती एपमार्फत टिकट काटिरहेका उनले ५० प्रतिशत क्यासब्याक पाएकोमा खुसी व्यक्त गरे । ‘हाम्रो लागि यो एउटा ठुलो अवसर हो,’ उनले भने, ‘डिजिटल पेमेन्टबाट सहुलियत पनि पाइने र नयाँ फिचर्सका गाडीहरूका बारेमा बुझ्न पनि पाइने ।’ मिसनजस्तै सयौं विद्यार्थीहरू गाडीका नयाँ प्रविधि, इन्जिनका क्षमता र भित्री बनावट (इन्टेरियर) बुझ्न लाइनमा बसेका देखिन्छन् । उनीहरूका लागि यो मेला केवल प्रदर्शनी मात्र नभएर अटोमोबाइल इन्जिनियरिङ र ट्रेण्ड बुझ्ने एउटा खुल्ला पाठशाला पनि बनेको छ । प्रदर्शनीमा भेटिएका मुकुन्द खड्काका अनुसार अचेल गाडी विलासिता मात्र नभएर मध्यम वर्गीय नेपालीका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । सानोठिमीबाट आएका मुकुन्द एउटा उपयुक्त गाडीको खोजीमा छन् । उनी भन्छन्, ‘पहिले गाडी सोखका लागि हुन्थ्यो, अहिले काम र सहजताका लागि अनिवार्य भइसकेको छ ।’ पेट्रोलको बढ्दो मूल्यले आजित भएका ग्राहकहरूका लागि यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण बनेको छ । रामकोटबाट आएका रामेश्वर भट्टले प्रदर्शनीको अधिकांश समय ईभी स्टलहरूमा बिताए । ‘पेट्रोल दिनप्रतिदिन महँगो हुँदैछ । त्यसैले अबको विकल्प भनेकै ईभी हो,’ उनले आफ्नो अनुभव सुनाए । विभिन्न ब्राण्डका गाडीहरूलाई एकै ठाउँमा तुलना गर्न पाउनु यो मेलाको सबैभन्दा सबल पक्ष रहेको उनको ठम्याइ छ । स्कुटर खोज्दै महिला ग्राहक महिला अवलोकनकर्ताहरूको रुचि विशेषगरी दुई पाङ्ग्रे सवारीसाधनमा देखियो । सरिता भट्ट नयाँ स्कुटर किन्ने योजनाका साथ एक्स्पो पुगेकी थिइन् । उनले प्रदर्शनीको सजावट र छुट अफरको प्रशंसा गरिन् । यद्यपि, भृकुटीमण्डप भित्रको अत्यधिक गर्मीले गर्दा केही असजिलो महसुस भएको उनले बताइन् । ‘माहोल एकदम एक्साइटिङ छ, तर भित्र अलि गर्मी छ । आउने साथीहरूले पानीको बोतल र फ्यान बोकेर आउनुभयो भने राम्रो हुन्छ,’ उनले भनिन् । अहिलेको डिजिटल युगमा सबै जानकारी इन्टरनेटमा पाइन्छ भन्ने सोच धेरैमा छ । तर, एक्स्पोमा भेटिएकी आज्ञा भण्डारीको विचार फरक छ । ‘कतिपय कम्पनीका वेबसाइटहरू अपडेट हुँदैनन् । अनलाइनमा सबै फिचर्स बुझ्न गाह्रो हुन्छ,’ उनले भनिन् । उनी आफै विद्यार्थी र कर्मचारी भए पनि गाडीको वास्तविक अवस्था बुझ्न मेलामै आउनु उपयुक्त हुने बताउँछिन् । ‘यहाँ आएर गाडी छाम्न पाइन्छ । भित्र बसेर अनुभव गर्न पाइन्छ र प्रत्यक्ष जानकारी लिन पाइन्छ । त्यसैले वर्षमा एक पटक हुने यस्तो मेला छुटाउनु हुँदैन,’ उनले भनिन् । पहिलो दिन यी ब्राण्ड भए लन्च एक्सपोमा नयाँ गाडीहरू पनि लन्च भएका छन् । जसमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले एकैपटक तीन नयाँ मोडलका गाडीहरू बजारमा ल्याएको छ । कम्पनीले एटो १ को फेसलिफ्ट, एटो २ को ४५ किलोवाट आवर ब्याट्री क्षमता भएको बेस भेरियन्ट र एटो ३ को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो । मूल्यको हिसाबले बीवाईडी एटो १ फेसलिफ्टको डाइनामिक भेरियन्टको ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, एटो २ को इसेन्सियल भेरियन्ट ४५ लाख १५ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । बीवाईडी एटो ३ को एडभान्स भेरियन्टको मूल्य ६२ लाख १० हजार रुपैयाँ र सुपेरियरको ७८ लाख रुपैयाँ राखिएको छ । अर्कोतर्फ चिनियाँ कम्पनी चेरीले आफ्नो नयाँ क्युब्याक ब्रान्डअन्तर्गत क्यु ३ मोडल नेपाली बजारमा भित्र्याएको छ । आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो नयाँ पुस्ताको इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट क्षमताको ब्याट्री रहेको छ । जसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । एक्सपोमा क्यु ३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख १९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३२ लाख १९ हजार रुपैयाँ राखिएको छ भने यसको सामान्य एमआरपी ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार निर्धारण गरिएको छ । यसैबीच, जापानी अटोमोबाइल ब्रान्ड निसानले पनि मोबिलिटी एक्सपोमा आफ्नो नयाँ पुस्ताको एसयूभी टेकटन सार्वजनिक गरेको छ । नेपालका लागि निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बजारमा ल्याएको ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज र आधुनिक इन्टेरियरसहितको यो टेकटन एसयूभीको मूल्य ५१ लाख २९ हजार तोकिएको छ । यस्तै, नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी फेसलिफ्ट बिक्र सुरू गरेको छ । कम्पनीले पन्च ईभीको ३ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । योसँगै बजेटपछि आएको पन्च ईभीको मूल्य ४ लाखसम्मले घटेको छ । यसअघि पन्च ईभी ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो । यसैगरी हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै उत्पादन गरिएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एक्स्पोले नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई झल्काएको छ । विशेष गरी मध्यम वर्गीय परिवारको सवारी सपना र इन्धनको विकल्पमा विद्युतीय ऊर्जाप्रतिको आकर्षण यस पटकको मुख्य सार देखिन्छ । एकातिर नयाँ मोडेलका लक्जरियस कारहरूको चमकधमक छ भने अर्कोतिर सर्वसाधारणका लागि उपयुक्त बजेट र सुविधायुक्त स्कुटर तथा बाइकहरूको लर्को । गर्मी र भीडभाडका बाबजुद भृकुटीमण्डपमा देखिएको यो मोबिलिटीको लहरले नेपालीहरूको क्रयशक्ति र नयाँ प्रविधिप्रतिको मोहलाई प्रस्ट पारेको छ । प्रदर्शनी आजसहित ६ दिन चल्ने जनाइएकाे छ । के भन्छ आयोजक ? एक्स्पोका संयोजक गौरव शारडाले यसलाई नेपालको मोबिलिटी क्षेत्रकै महाकुम्भको संज्ञा दिएका छन् । उनका अनुसार यो प्रदर्शनी हालसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पो हो । ६ दिनसम्म चल्ने यस मेलामा ४० भन्दा बढी नयाँ सवारी साधनहरू लन्च हुने क्रम जारी रहेकाे शारडाकाे भनाइ छ । जसमा आजमात्रै २० वटा ब्राण्ड लन्च भएका छन् । प्रदर्शनीमा परम्परागत इन्धन, विद्युतीय साधन र हाइब्रिड प्रविधिका दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यावसायिक सवारी साधनहरू राखिएका छन् । मनसुनको समयलाई ध्यानमा राखेर प्रदर्शनी स्थललाई पूर्ण रूपमा रेन रेजिस्टेन्स (पानी नछिर्ने) बनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि एक्सेसिबल फ्रेन्डली पूर्वाधार र स्वयंसेवकको सहयोगमा ‘गाइडेड भिजिट’ को व्यवस्था गरिएको छ । प्रदर्शनी केवल गाडीको प्रदर्शनीमा मात्र सीमित नभएको शारडाले जानकारी दिए । उनले मेलाको अवधिभर हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म ‘नेपाल मोबिलिटी संवाद’ सञ्चालन हुने बताए । यसमा नीति निर्माता, उद्योगी र विज्ञहरूले सडक सुरक्षा, फाइनान्स र दिगो मोबिलिटीका बारेमा छलफल गर्नेछन् । यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई ग्रान्डी हस्पिटलको प्राविधिक सहयोगमा दुर्घटनापछिको प्राथमिक उपचार र सीपीआरसम्बन्धी तालिमका साथै ईभी दुर्घटना व्यवस्थापन सम्बन्धी विशेष प्रस्तुतिसमेत दिइने उनको भनाइ छ । प्रदर्शनी मंगलबार दिउँसो १ बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बुधबारदेखि १६ तारिखसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनकर्ताहरूले मेला भ्रमण गर्न सक्नेछन् । पार्किङको सहजताका लागि नेपाल प्रहरीको ब्लु प्याभिलियन मुनिको क्षेत्रलाई थप पार्किङ स्थलका रूपमा व्यवस्थापन गरिएको छ । ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको यस एक्स्पोलाई रेडबुल, एनएमबी बैंक, सिद्धार्थ बैंक लगायतका दर्जनौं व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन् । नाइमाले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएको छ ।