हेटौंडा कपडा उद्योग ब्यूँताउँदै सरकार, बुटवल धागो र कपास खेती पनि पुनः सञ्चालन गर्ने
काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन । यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए । ‘कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो,’ सूचना अधिकारी भण्डारीले भने, ‘हेटौंडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द भएका थिए ।’ त्यसयता समय-समयमा यसको पुनः सञ्चालनको प्रयास भने भइरहेको उनले जानकारी दिए । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको बताए । हेटौंडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उनले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेको बताए । त्यस्तै उद्योगको हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिएको उनको भनाइ छ । मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताइन् । रूग्ण उद्योगहरूमध्ये हेटौंडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै उनले कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराइन् । कपडा उद्योग बन्द भएसँगै उक्त उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । सशस्त्र प्रहरी बस्नुअघि त्यहाँको सुरक्षाका लागि दुई कर्मचारीमात्र थिए । सशस्त्र बस्नुअघि लागूऔषध प्रयोग गर्ने दुर्व्यसनको अखडा बनेकामा अहिले भने उद्योग पूर्ण सुरक्षित रहेको छ । सरकारी चासोसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ गरिएको छ ।
राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालियो, १५ दिनभित्र परीक्षण उत्पादनको तयारी
काठमाडौं । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परिक्षण गर्नेक्रम जारी रहेको जनाउँदै छ किलोमिटर दुई सय ७० मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताए । ‘पहिलो दिन एक हजार ६०० मिटर सुरुङमा पानी भरेका छौं । करिब चार दिनमा सबै सुरुङमा पानी भरेर १५ दिनपछि सञ्चालन योग्य बनाउने कार्यतालिका छ’, उनले भने, ‘सात वर्षको प्रयासपछि यो आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छौं ।’ यसअघि बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र स्वीचयार्डको सफल परीक्षण भइसकेको आयोजनाले करिब १५ दिन सुरुङमा पानी भरेपछि कुनै समस्या नआएमा त्यसलगत्तै विद्युत्गृहमा रहेका २०/२० मेगावाट क्षमताका दुईमध्ये एक वटा युनिटबाट परीक्षणका लागि विद्युत् उत्पादनको तयारी गरिएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध र दुई वटा पानी थिग्र्याउने पोखरीको परिक्षण भइसकेको छ । भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने उनले बताए । तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्बमा ठेक्का सम्झौता गरेको थियो। पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौँथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए । कोरोना महामारी, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार मूल्यमा व्यापक गिरावट आउँदा सुनको भाउ २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको थियो । यसअघि बिहीबार सुनको भाउ तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । तोलाको ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ६ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो। गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । जुन नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो ।