सूर्यविनायक-धुलिखेल सडकले यात्रु सास्ती, जनप्रतिनिधि आक्रोशित
काठमाडौं । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे यहाँका जनप्रतिनिधिले चासो राखेका छन् । आइतबार बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायीसँग सो विषयमा छलफल भएको थियो । छलफलमा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनुपर्नेमा जोड दिइएको थियो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको छलफलमा सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नगर उपप्रमुख विमला दाहाल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, आयोजना प्रमुख, ठेकेदार कम्पनी लगायतको उपस्थिति थियो । छलफलमा धुलिखेल-सूर्यविनायक सडक आयोजनाअन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सडकहरू बिनाअवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सडक आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । त्यसैगरी बनेपास्थित पुण्यमाता खोला पुल तथा भैँसीपाटी खोला पुल निर्माणका क्रममा अवरुद्ध सर्भिस लेन र सहायक मार्ग पुनः सञ्चालन हुनेगरी आवश्यक निर्माण तत्काल गरिनेछ । पुल बजार क्षेत्रमा पुण्यमाता खोलाबाट हुने डुबान रोक्न खोला गहिर्याउने, खोला सफा गर्ने तथा संरक्षणसम्बन्धी कार्य तुरुन्त अघि बढाइनेछ । त्यस्तै पुण्यमाता खोलामा रहेको पुलको सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पूर्ण कार्य सम्पन्न गरिने जनाइएको छ । ‘कुनै पनि हालतमा यात्रुलाई असहजता हुनुभएन, तत्काल सबै क्षेत्रमा मेन–लेनमा पक्की बनाउने नसक्ने भए सर्भिस ट्रयाकमा कुनै अवरोध हुनुभएन,’ मन्त्री वादेले भने । उनले चरणबद्ध रूपमा गरिने निर्माणबारे विभिन्न बहाना देखाएर निर्माण व्यवसायी पन्छिन खोजेकामा भने रोष प्रकट गरे । सडक अव्यवस्थित हुँदा भएका दुर्घटनामा दुई जनाको ज्यान जाँदा पनि आयोजना गम्भीर नभएको प्रति उहाँले असन्तोष व्यक्त गरे । आयोजनाप्रमुख विजय महतोले समग्र भौतिक प्रगति ७० प्रतिशत भएको जनाउँदै आगामी असार मसान्तसम्म मुख्य लेन पक्की गरिसक्ने बताए । उनका अनुसार ‘कालोपत्र गर्ने तयारी गरिए पनि बिटुमिनको अभाव’ले केही महिना ढिला भएको छ, तर पनि बिटुमिन ल्याउन विभिन्न तहमा पहल भइरहेको छ । भक्तपुर–धुलिखेल सडकखण्डअन्तर्गत निर्माण हुने तीनवटा पुल निर्माणका लागि निर्माण कम्पनीसँग थप पहल भइरहेको महतोले बताए । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१५.०८ किलोमिटर)को हाल विस्तार २ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् । उक्त आयोजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत काम सक्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको जनाइएको छ । ठेक्काको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दै आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको बताए । उनका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ । यस्तै भक्तपुरको सूर्यविनायक काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । ८ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको जनाइएको छ । सूर्यविनायक-धुलिखेल सडक बिस्तारकार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७.५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि एक बर्ष म्याद थपिएको हो । हाल साँगामा ‘अन्डरपास’ निर्माण अन्तिम चरण पुगेको छ ।
तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो
खलङ्गा । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याइएको हो । दुम्लिङ गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीय उत्साहित भएका छन् । सडक सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको ओसारपसार तथा शिक्षा र अन्य सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ । नेपाली सेनाका अनुसार तुसारपानीदेखि तिङ्करसम्म निर्माणाधीन कूल ७९ किलोमिटर सडकअन्तर्गत हालसम्म २२ दशमलव १५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । त्यसमध्ये दुम्लिङसम्मको १२ किलोमिटर सडकमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो । बाँकी क्षेत्रमा सडक स्तरोन्नति तथा ट्रयाक खोल्ने काम निरन्तर जारी रहेको सेनाले जनाएको छ । नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएको व्यास क्षेत्र भौगोलिक रूपमा अत्यन्त विकट मानिन्छ । वर्षौँदेखि यहाँका नागरिकले पैदलमार्गको भरमा यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए । सडक विस्तारसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ । नेपाली सेनाले आर्थिक वर्ष २०७७/७८ देखि उक्त सडक निर्माण अघि बढाउँदै आएको हो । हिमाली तथा चट्टानी भूभागमा कठिन परिस्थितिका बीच सडक निर्माण भइरहेको सेनाले जनाएको छ । रणनीतिक तथा विकासका दृष्टिले महत्व बोकेको यस सडकले सीमा क्षेत्रका बासिन्दालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले दुम्लिङसम्म सडक र गाडी पुगेपछि वर्षौँदेखिको यातायात समस्यामा राहत मिल्ने बताएका छन् । सडक सञ्चालन भएपछि खाद्यान्न, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तुको ढुवानी खर्चसमेत घट्ने उनीहरूको विश्वास छ । तिङ्कर नाका जोड्ने लक्ष्यसहित सडक निर्माण कार्यलाई तीव्र बनाइएको नेपाली सेनाले जनाएको छ । सडक निर्माण सम्पन्न भएपछि व्यास क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
२० करोड पुँजी पलायन रोक्ने, २० अर्ब आम्दानी गर्ने
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्व-रोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको बिरुवा नि:शुल्क वितरण गर्दै प्राविधिक सहयोगसमेत उपलब्ध गराउने गरिएको छ । हरेक वडाका किसानलाई आफ्नै ठाउँमा स्व-रोजगार बनाउँदै प्रति वर्ष १० लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो । महाभियानअन्तर्गत यो वर्ष नगरपालिकाभित्र कम्तीमा पनि ८ हेक्टर क्षेत्रफल जमिनमा २८ लाख कफीका बिरुवा रोप्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताए । ‘हाम्रो मुख्य लक्ष्य भनेकै युवा शक्तिलाई गाउँमै रोजगारी दिनु हो । यो महाअभियानले बाँझो जमिनको सदुपयोगसमेत गर्नेछ । स्थानीयको आयआर्जनमा पनि वृद्धि गर्छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै स्वरोजगारीको अवसर सिर्जना गर्नु छ,’ उनले भने, ‘कफी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएर नगरलाई भविष्यमा ‘कफी हब’को रूपमा विकास गर्ने योजना बनाइएको छ । नगरपालिकाले सुरु गरेको अभियानका कारण परम्परागत रूपमा वर्षौंदेखि कोदो, मकै र धान खेती गर्दै आएका किसानलाई व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् ।’ नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाअभियानले आफूहरूलाई आत्मनिर्भर बनाउन र आर्थिक अवस्था सुधार्न कोशेढुंगा साबित हुने कृषकहरूले विश्वास व्यक्त गरेका छन् । नगरपालिकाले कफीको बिरुवा वितरण गर्नुअघि नै किसानलाई व्यावसायिक कफी खेतीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिसकेको छ । नगरपालिकाको अभियानअनुसार अहिले कफी रोप्नका लागि किसानहरूले गाउँगाउँमा खाल्डा खन्ने काम धमाधम गरिरहेको नगरपालिकाले जनाएको छ । कफी रोप्नका लागि नगरपालिकाभित्रका किसानहरूले देखाएको सक्रियताले उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सफल हुने संकेत देखाएको छ । नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाभियानअन्तर्गत कफीको बिरुवा उत्पादन गर्ने नर्सरीमा रोजगारीसमेत पाएका छन् । गत वर्षदेखि सुरु गरिएको कफी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीको नर्सरी उत्पादन गरिएको छ । रोजगारीका लागि सहर वा विदेश जानुपर्ने बाध्यता रहेको अवस्थामा नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाअभियानले आफ्नै गाउँमा रोजगारी पाएको नेर्पाकी अञ्जना रिजालले बताइन्। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत वर्षबाट कफी प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रमले बाँझो जमिनलाई हराभरा बनाउने मात्र नभई स्थानीय अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्याउने नगर प्रमुख राईले बताए । ‘जब पाखाहरूमा कफी फल्न थाल्नेछ, तब नगरपालिकाको पहिचान केवल एउटा पहाडी सहरमा मात्र सीमित रहने छैन । यो नगरपालिकालाई कफी हबको रूपमा चिनिनेछ,’ उनले भने, ‘जिल्लामा कफीको माग अधिक मात्रामा बढेर गएको छ । कफीमा अहिले वार्षिक २० करोड रूपैयाँभन्दा बढी पुँजी बाहिर पलायन हुन्छ । अबको केही वर्षभित्रै जिल्लाभरि कफीको मागलाई पूर्ति गर्ने नगरपालिकाको लक्ष्य छ ।’ व्यावसायिक कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर गत वर्ष ८२ हजार बिरुवा किसानलाई निस्शुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ । यो वर्ष २२ लाख कफीको बिरुवा निस्शुल्क वितरण गर्ने योजनासहित करिब ३ लाख बिरुवा किसानलाई वितरण गरिसकिएको जनाइएको छ । १५ वडा रहेको यो नगरपालिकामा २८ हजार ७०३ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १ करोड ४० लाख कफीका बिरुवा रोप्ने लक्ष्य राखिएको उपप्रमुख राईले जानकारी दिए । वार्षिक २० अर्ब रुपैयाँसम्म आम्दानी गर्ने उद्देश्यले यो वर्ष ५० लाख बेर्ना उत्पादन गर्ने तयारी गरिएको जनाइएको छ । कफीखेती प्रवर्द्धन कार्यक्रमका लागि नगरपालिकाभित्र ४४ वटा समूह बनाएर उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सञ्चालन गरिएको छ । समुद्री सतहबाट ८०० मिटरदेखि १ हजार ६०० मिटरसम्म जुनसुकै ठाउँमा पनि कफी उत्पादन हुने प्रमाणित भएपछि व्यावसायिक कफीखेती गर्नका लागि खाल्डो खन्न २० वटा ड्रिलिङ मेसिन उपयोगमा ल्याइएको छ । उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रममा दैनिक ७०÷८० जना स्थानीयले रोजगारीसमेत पाएका छन् । किसानले उत्पादन गरेका कफी यही प्रशोधन गर्नेगरी कफीखेती प्रवर्द्धन कार्यक्रम लागू गरिएको उपप्रमुख राईले जानकारी दिए । १० स्थानीय तह रहेको यो जिल्लाका सबैजसो स्थानीय तहले कफी तथा चिया प्रवर्द्धन कार्यक्रम लागू गरेका छन् । स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रमा उत्पादनमा आधारित कार्यक्रम लागू गरेपछि किसानसमेत उत्साहित बनेका छन् ।