एक करोड लागतमा तीनकोठे वडा कार्यालय भवन निर्माण

ढोरपाटन । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको  जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ । एक करोड लागतमा तीनकोठे भवन निर्माण भएको हो । लामो समयेखि सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको आफ्नै भवन सर्ने तयारी गरेको छ । स्थानीय कृष्णबहादुर छन्त्याल, चन्द्रबहादुर पाण्डे, इन्द्रकली पुन र मोहन पुनको परिवारले रु १० लाख मूल्य बराबरको १० रोपनी जमिन निःशुल्क रूपमा उपलब्ध गराएपछि भवन निर्माण गरिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । “अहिलेसम्म आफ्नै भवन नहुँदा सामुदायिक वनको भवनबाट सेवा प्रवाह गर्दै आएका छौँ, यहाँबाट सेवा प्रवाह गर्दा निकै समस्या भोग्नु प¥यो, अब आफ्नै भवनमा  यही वैशाख २३ गते सर्ने गरी तयारी छ”, उनले भने ।  जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सबै वडा कार्यालयलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए । अधिकांश वडाका भवन निर्माणाधीन छन् । 

अकबरे खुर्सानी खेती प्रवर्द्धनमा स्थानीय सरकार

काठमाडौं । दक्षिण पर्वतको पैयूं गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पैयूं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाको कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए ।  गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि चारवटा कृषि फार्म छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ । छनोटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बिउविजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए । उनका अनुसार पहिलोपटक वडा नं ६ को हाडिकखर्क कृषि तथा पशुपन्छी फार्म, वडा नं ३ को बेउलवास कृषि तथा पशुपन्छी फार्म, वडा नं ४ को बेँसीथोक कृषि तथा पशुपन्छी फार्म र वडा नं ३ मै रहेको कानुङ कृषि तथा पशुपन्छी फार्मलाई अनुदान दिएर ठूलो क्षेत्रफलमा अकबरे विस्तार गरिने भएको छ । हरेक फार्मले कम्तीमा दुई रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने प्रावधान राखिएको छ । अकबरे खुर्सानी नेपालका पहाडी जिल्लामा पाइने अत्यन्तै महत्त्वपूर्ण नगदे बाली हो । यसको तिखोपन, सुगन्ध र स्वादका कारण यो देशभित्र मात्र नभई बाह्य बजारमा पनि उच्च माग रहेको छ । गाउँपालिका भित्र र बाहिर पनि अकबरे खुर्सानीको माग अत्यधिक आउने र मूल्यसमेत पर्याप्त पर्ने भएकाले किसानको जीवनस्तर सुधार्न सहयोग मिल्ने देखेर अकबरे खुर्सानी खेतीमा किसानलाई आकर्षित गर्न खोजिएको पैयूं गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । अन्य सामान्य खुर्सानीको तुलनामा यसको मूल्य धेरै हुने भएकाले किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्ने उनको भनाइ छ ।  सानो क्षेत्रफलमा समेत राम्रो आम्दानी दिन सक्ने भएकाले साना किसानलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न पालिकाले आग्रह गरेको छ । पछिल्लो समय बजारमा अकबरे खुर्सानीको मूल्य स्थिर र उच्च रहने गरेको देखिएकाले यसको उत्पादन विस्तारलाई दिगो आयआर्जनको आधारका रूपमा हेरिएको अध्यक्ष ठकुरीले बताए । पोषणका हिसाबले पनि अकबरे खुर्सानी निकै महत्त्वपूर्ण मानिन्छ । यसमा भिटामिन ‘सी’, ‘ए’ र ‘ई’जस्ता आवश्यक पोषकतत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने हाडिकखर्क कृषि तथा पशुपन्छी फार्मका सञ्चालक याम बहादुर क्षेत्रीले बताए । यसमा पाइने क्याप्साइसिन तत्वले पाचन प्रणाली सुधार गर्ने, रक्तसञ्चार सन्तुलित राख्ने तथा केही दीर्घ रोगको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ । त्यसैले यो केवल मसलामात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी बालीका रूपमा रहेको क्षेत्री बताउँछन् ।  तरकारी, अचार विभिन्न परिकारमा यसको प्रयोगले नेपाली स्वादलाई अझ विशेष बनाउने गरेको छ । अकबरे खुर्सानी खेतीमा रोग, कीरा तथा मौसमी जोखिमजस्ता चुनौती पनि कम हुने बताइएको छ । पैयूं गाउँपालिकाले कृषि आधुनिकीकरण, नगदे बाली प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ । 

धवलागिरी गाउँपालिकाको पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी । यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ । म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको छ । यो स्थान समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको छ ।  यहाँ ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माणस्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवतजावत र ढुवानीमा सहज भएको व्यवसायी सोम पुनले बताए ।  'यसअघि बगरदेखि दोभान पुग्न पूरै दिन भीर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्ने थियो', उनले भने, 'हाल यहाँ जिप, मोटरसाइकल, ट्याक्टर र ट्रक चल्न थालेपछि ढुवानी र आवतजावतमा सहज भएको छ ।'  सडकको मार्ग खोलेपछि अब बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । विदेशी पर्यटकले पछिल्ला दिनमा मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि दोभानमा चहलपहल घटेको थियो । यातायात सुविधा पुगेपछि यहाँ आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको व्यवसायी लक्ष्मण घर्तीले बताए ।  धौलागिरि पहिलो र चौथो हिमालको फेदीमा रहेको समथर फाँटमा अवस्थित दोभान शान्त वातावरण र वनजङ्गलका साथै कुनाबन तालको अवलोकन, च्याउ र टुसालगायत परिकारका लागि प्रसिद्ध छ ।  ‘हाइड्रो भिलेज’ प्रवर्द्धक रहेको म्याग्दी खोला जलविद्युत् आयोजनाले गत पुस महिनादेखि बगरबाट डोजर र विस्फोटक पदार्थ प्रयोग गरेर बाँधसम्म पहुँचमार्ग निर्माण थालेको थियो । आयोजना प्रमुख उत्तम पौडेलले बगर–तातोपानी खण्डको भीरमा मार्ग खुलाउने काम भइरहेको र म्याग्दी नदीको किनारै किनार ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताए । यहाँ बर्खाअघि नै करिब एक किलोमिटर दूरीमा रहेको भीर छिचोलेर सडकमार्ग खुलाउन काम सुरु भएको उनले जानकारी दिए । रासस