मतदान केन्द्रभित्र फोटो खिच्न निषेध, अर्काेको नाममा मतदान गरे २५ हजार जरिवाना
काठमाडौं । देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । बिहान ७ बजे देशभर एकसाथ सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । आयोगले मतदान केन्द्रमा क्यामरा बोक्न कडाईदेखि अर्काेको नाममा मतदान गर्नेलाई कारवाहीको अधिकार निर्वाचन अधिकृतलाई दिएको छ । कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आएमा उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ । छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार निर्वाचन आयोगले मतदान अधिकृतलाई दिएको छ । मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन् । यस्तै, मतदान केन्द्रमा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु लैजान पूर्ण रुपमा निषेध गरिएको छ ।
स्थानीय तह निर्वाचन : सार्वजनिक यातायातदेखि आन्तरिक उडानसम्म बन्द
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । मुलुक संघीयतामा गइसकेपछि शुक्रबार दोस्रो पटक स्थानीय तह निर्वाचन हुँदैछ । बिहान ७ बजे देशभर एकसाथ सुरु हुन लागेको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांक अनुसार स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन् । जसमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । सार्वाजनिक यातायादेखि आन्तरिक उडान बन्द स्थानीय तह निर्वाचनका लागि सरकारले सार्वजनिक यातायातदेखि आन्तरिक उडान बन्द गरेको छ । निर्वाचनका दिन सम्पूर्ण आन्तरिक उडान बन्द भएका छन् । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघको निर्णय अनुसार आज नियमित उडान बन्द भएका हुन । आन्तरिक उडान बन्द भएता पनि अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने नियमित रुपमा हुने नेपाल नागरिक उडडयन प्राधिकरणले जनानएको छ । निर्वाचनका दिन अत्यावश्यक सवारीका साधन भने सञ्चालनका लागि छुट दिएको छ । आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो । प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् । पर्यटकका लागि सटल बस नेपाल पर्यटन बोर्डले निर्वाचनका दिन पर्यटकहरूको सहजताका लागि काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्न लागेको हो । नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतको लागि विभिन्न रुटहरूमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था गरेको बोर्डले जनाएको छ । यसका लागि ३ वटा रुट छुट्याएको छ । सटल बस सेवावापत प्रति व्यक्ति तीन सय रूपैयाँ शुल्क लाग्ने पर्यटन बोर्डले जनाएको छ । बोर्डले एअरपोर्ट–एनएसी–होटलअन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल –एम्बासडर होटल –एअरपोर्टलाई पहिलो रुट, एअरपोर्ट–होटल र्याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टलाई दोस्रो रुट र एअरपोर्ट– तीनकुने चोक–होटल एभरेष्ट–माइतिघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्म तेस्रो रुट तोकेको छ ।
कुन नेताको मतदानस्थल कता ?
काठमाडौं । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् । मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडाैंको मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन् । यस्तै कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गर्नेछन् । माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यामिकवि र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नेछन् । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्र, नेकपा (एमाले) उम्मेदवार केशव स्थापितले बागबाजारस्थित पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् । देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ । ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । जसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् । उपराष्ट्रपतिले मतदान नगर्ने उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् । उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । रासस